
“यो सबै देउताको रिस हो,” गंगाराम बाजेले भावविह्वल हुँदै भने ।
“हामीले पूजापाठ गर्न छोड्यौँ, देउता रिसाउनुभयो । त्यसैले यस्तो विपत्ति आयो ।”
रातभर परेको अविरल वर्षाले गाउँमा ठूलो बाढी ल्याएको थियो । खोलानजिकैको घरखेत बाढीले बगाइसकेको खबरले सबै त्रसित थिए । स्थानीय चौतारीमा गाउँलेहरूको जमघटमा गंगारामले बर्बराउँदै भने ।
त्यसै बेला गाउँका पढेलेखेका युवा गर्जनले बाजेको कुरा सुनेर खित्का छोडे ।
“बाजे, तपाईंको यो कुरा सुनेर लाग्यो, बाढीको कारण थाहा नपाईकन देउताको दोष लगाएर उम्कन खोज्नु के यो हाम्रो बुद्धिमानी हो ? के यस्ता विपत्ति देउताले रोक्न सक्छन् ?,” गर्जनले आश्चर्यचकित हुँदै सोधे ।
गंगाराम झस्किए । “के भन्न खोजेको त, तिमीले त देउता नै मान्दैनौ कि कसो ! हेर, हामीले धर्म मानेकै कारण यो गाउँ बाँचिरहेको छ । नत्र यो बाढीले सबै तहसनहस गरिसक्थ्यो ।”
गर्जन मुस्कुराउँदै बाजेको नजिकै बसे ।
“बाजे, बाढी किन आउँछ थाहा छ ?,” उनले नदीतिर इसारा गर्दै भने, “यो नदी किनारको भीर भासिएर हो । अविरल वर्षाले जमिन कमजोर पार्छ, पानीको बहाव तीव्र बनाउँछ । यो प्रकृतिको नियम हो, देउताको कोप होइन ।”
बाजे झनै झस्किए । “तिमी विज्ञानको कुरा मात्रै गर ! देउता रिसाए भने त बाढी अझै बलियो हुन्छ, होइन ?”
गर्जनले गहिरो सास ताने र भने, “हुन त यस्तो सोच पुरानो मानसिकताले बनेको हो । तर, हाम्रो पनि ठूलो गल्ती छ । हामीले नदी किनारको रुख ढाल्यौँ, पहाडहरू खनेर बाटो बनायौँ । डोजर चलाएर मन्दिरको घडेरी सम्यायौँ, जसले गर्दा भीरपाखा कमजोर भयो । देउताले हैन, हाम्रै अज्ञानताले यो विपत्ति निम्त्याएको हो बाजे ।”
बाजे केही बेर अडिए, “तर, पूजाले शान्ति दिन्छ । के तिमी यो पनि मान्दैनौ ?”
“हो, शान्ति दिन्छ, तर समाधान दिँदैन । विपत्ति रोक्न समाधान चाहिन्छ, अन्धविश्वास हैन । बाढी रोक्न विज्ञानको प्रयोग गरौँ । तटबन्ध बनाऊँ, रुख रोपौँ र जनतालाई चेतनशील बनाऊँ,” गर्जनले थपे ।
बाजे चुप थिए । उनले गर्जनको कुरा सुनेपछि भने, “साँच्चै, हामीले बाढीलाई रोक्न के गर्नुपर्छ भनेर सोच्नुपर्ने बेला भइसकेछ । तिम्रो कुरा सुन्दा लाग्छ, हाम्रो सोचले नै हामीलाई कमजोर बनाएको हुनुपर्छ ।”
गर्जनले बाजेको हात समाउँदै भने, “बाजे, देउता रिसाउनुभन्दा पनि हामीले प्रकृतिको नियम नबुझेको कारण यो विपत्ति आएको हो । अब जागौँ, नत्र यो अन्धकार चेतनाले पूरै गाउँलाई बगाएर लैजान्छ ।”
गंगाराम बाजेले गहिरो सास फेरे । भने, “ल ठिक छ, अब तिम्रो कुरा मान्छौँ । तिमीले अनुत्तरित प्रश्नको समाधान निकाल्यौ । तर, तिमीले भनेजस्तो काम गर्न अरूलाई पनि सिकाउनुपर्छ ।”
(ललितपुर)