
पोखरा । अन्नपूर्ण आधारशिविरमा हेलिकोप्टर उडाउन प्रतिबन्ध छ । रेस्क्यु बाहेकका उडान भर्न नपाइने भए पनि हेलिकोप्टर उडिरहेको छ । प्रतिबन्धित क्षेत्रमा हेलिकोप्टर उडान रोक्न नसकेपछि पालिकाले उडान खुला गर्न कानुन बनाइदियो ।
कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर ल्यान्ड गर्दा कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडानमा पर्यटन शुल्क लिने गरी कार्यविधि बनाएको हो ।
२०७९ सालमा बनाइएको कार्यविधिमा पालिकाले संशोधनसहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको छ । योसँगै बेसक्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्छ । सूचीकरणको छुट्टै पाँच हजार तिर्नुपर्छ । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै वर्षैभरि उडान भर्न पाउनेछन् । तर, उद्धारका लागि गरिएको उडानमा भने पैसा लाग्दैन ।
अगाडिको कार्यविधि संशोधन गरेर पालिकाले शुल्क बढाएको हो । पालिकाका अनुसार, गत वर्ष मात्रै यो क्षेत्रमा २७० व्यावसायिक उडान भएका छन् । हेलिकोप्टर उडान भर्दा यसअघि कम्पनीले भने अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)बाट मात्रै अनुमति लिँदै आएका थिए ।
उनीहरूले एक्यापलाई प्रतिउडान तीन हजार रुपैयाँ बुझाउने गरेका थिए । त्यसबाहेक हेलिकोप्टमा जाने यात्रुहरूले पनि छुट्टै प्रवेश शुल्क बुझाउनुपर्ने एक्यापका प्रमुख डा. रविन कडरियाले जानकारी दिए ।
एक्यापमा प्रवेश गर्दा सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति एक हजार र त्यसबाहेक मुलुकका पर्यटकले प्रतिव्यक्ति तीन हजारका दरले शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
अब भने पालिकालाई पनि थप शुल्क बुझाउनुपर्ने हुन्छ । अन्नपूर्ण गाउँपालिकासँग हाल सिम्रिक एयरले मात्रै शुल्क तिरेर उडान गर्नेगरी सम्झौता गरेको छ ।
गाउँपालिकाका अध्यक्ष विष्णु केसीका अनुसार, अनुमति नलिएका कम्पनीहरूले यो क्षेत्रमा उडान भर्न पाउँदैनन् ।
गाउँपालिकासँग सम्झौता नगरेका बाहेक अन्यले उडान भर्न चाहेमा प्रतिउडान २० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । हेलिकोप्टर उडानबाट उठेको रकमबाट तीन प्रतिशत पर्यटन सूचना केन्द्र सञ्चालन कोषमा खर्च गर्ने पालिकाले जनाएको छ । पर्यटन शुल्कबाट प्राप्त आम्दानी ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा छ ।
यस्तै, अन्नपूर्ण क्षेत्रमा प्रतिदिन बढीमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था छ । उडानलाई व्यवस्थित गर्न पोखरा विमानस्थल र बेसक्याम्पमा एक–एकजना कर्मचारी पालिकाले खटाउने छ ।