
महोत्तरी । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका निम्ति महोत्तरीको मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिएको छ । नगरमा आइतबार (फागुन १८)का निम्ति सार्वजनिक बिदा दिइएको हो ।
मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।
मिथिला माध्यमिकी परिक्रमाको डोला (श्रीराम र सीताको प्रतिमा राखिएका डोली)साथ यो यात्राका सहभागी यात्री आइतबार मटिहानी आइपुग्दै छन् । यात्राको चौथो दिन डोला मटिहानी आइपुग्ने मिथिलाको स्थापित परम्परा हो ।
मटिहानी परिक्रमा महोत्तरी प्रवेश गर्ने द्वार पनि हो । मटिहानीसँगै लगातार पाँच रात परिक्रमा यात्रीले जिल्लामा बिताउनेछन् ।
महोत्तरीमा माध्यमिकी परिक्रमा यात्राको चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ दिन क्रमशः मटिहानी, जलेश्वर, मडै (महोत्तरी गाउँपालिका), ध्रुवकुण्ड (बलवा नगरपालिका) र कञ्चनवन (भंगाहा नगरपालिका)मा रात्रिबासको परम्परा छ । श्रीराम र सीताका प्रतिमा राखिएका डोलासाथ यात्री पडावस्थल (पारम्परिक रात्रि विश्रामस्थल) पुगेपछि उक्त दिन ती ठाउँमा परिक्रमा मेलाको परम्परा रहँदै आएको छ ।
आफ्नो ठाउँमा मेला र रात्रि विश्रामका दिन जिल्लाका अरू चार स्थानीय तह जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भंगाहा नगरपालिका कार्यालयले पनि यसअघिदेखि नै सार्वजनिक बिदा दिँदै आएका छन् ।
गएको बिहीबार धनुषाको मिथिला विहारी नगरपालिका–८, कचुरीस्थित मिथिला विहारी मन्दिरबाट श्रीराम र जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सुन्दरसदन मठबाट श्री सीताजीका प्रतिमा डोलामा राखेर सुरु यात्रा १५ रात बिताएर १६औँ दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर सम्पन्न गरिने परम्परा छ । यो यात्रामा महोत्तरीका पाँच, धनुषाका ६ र भारतको मधुवनी जिल्लामा चार पडावस्थल (रात्रि विश्रामस्थल)को चलन छ ।
यात्रामा साधुसन्त र गृहस्थ जीवनका सर्वसाधारणसहित १०औँ हजारको सहभागिता छ । यो यात्राको अभिष्ठ मोक्ष कामना र कल्याण रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् । रासस