site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुकुम्लुङ समस्या मन्त्रीस्तरीय वार्ताबाट समाधान गर्न माग 

विराटनगर । पाथीभरा मन्दिर (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माण रोकी मन्त्रीस्तरीय वार्ता टोलीमार्फत समस्या समाधानको पहल गर्न माग गरिएको छ । आइतबार कोसी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले यस्तो माग गरेका हुन् ।

उनले भने, “आज प्रधानमन्त्रीको जन्मदिन पनि हो । तर, ताप्लेजुङको अवस्था हेर्दा रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेको छ भनेजस्तै भएको छ । सरकार के गरिरहेको छ ?”

ताप्लेजुङको आन्दोलनका विषयमा यसअघि पनि आफूहरूले सदनमार्फत संंघीय सरकारको ध्यानाकर्षण गराएको उनले उल्लेख गरे ।

आङ्बोले उक्त क्षेत्रमा केबलकार निर्माण कार्य तत्काल रोकिए स्थिति शान्त हुने बताए । “जुन ढंगले सरकारले चरम दमन गरेको छ, त्यो भर्त्सनायोग्य छ,” उनले भने, “वार्ताद्वारा समस्याको समाधान गरिनुपर्छ । ताप्लेजुङको आन्दोलनप्रति हाम्रो पनि नैतिक समर्थन छ । नगरिकले चाहिँदैन भनेको विकासप्रति सरकार किन जबर्जस्ती गरिरहेको छ ? प्राप्त गर्ने चिज के हो ?”

नेकपा (एमाले) संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले संघीय सरकारले यसअघि नै वार्ता टोली बनाए पनि समस्या समाधान नभएको बताए । शान्तिपूर्ण रूपमा समस्या समाधान गरिनुपर्ने उनले माग गरे ।

उनले भने, “मुकुम्लुङ क्षेत्रमा केबलकार बनाउनुपर्छ कि पर्दैन वा बनाउनुपर्छ भनेर मानिसहरू विभाजित भएकोले यो परिस्थितिको चाँडो अन्त्य गरिनुपर्छ । वार्ताबाट नै नेपाल सरकार र आन्दोलनरत पक्षबीच बनाउने वा नबनाउने के गर्ने वा बीचको बाटोबाट समस्या समाधान गर्ने हो निर्क्योल गरिनुपर्छ ।”

पाथीभरा (मुकुम्लुङ)मा निजी क्षेत्रबाट केबलकार बनाउने विषयले विवाद उत्पन्न भएको उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले ताप्लेजुङको समस्याबारे सरकार गम्भीर नदेखिएको आरोप लगाए । समस्या समाधानमा चाँडो निर्णय गर्न भन्दै उनले संघीय सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, “यो समस्यामा कोसी सरकार के हेरेर बसेको छ, कोसी सरकारले मध्यस्थता गर्नु पर्दैन ? किन मध्यस्थता गर्दैन ? कि केन्द्रीय नेतृत्व पालना मात्र गर्ने दायित्व मात्र त होइन होला ?” उनले स्थानीय जनतासँग समन्वय गरेर समस्या समाधान गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro