site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय क्षेत्रमा तनावप्रति नेपालको गहिरो चासो : प्रचण्ड

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रचण्डको निवास खुमलटारमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो ।

अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । उनले नेपाल र अमेरिकाबीच लामो समयदेखि सम्बन्ध रहेको उल्लेख गरे । यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने उनको विश्वास छ ।

नेपालको आर्थिक विकासका निम्ति अमेरिकाले गरिरहेको सहयोगका निम्ति उनले धन्यवाद ज्ञापन गरे । उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए ।

नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उनले उल्लेख गरे । यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्त्वपूर्ण हुने उनले बताए ।

“हामीले कृषिलाई आधार मानेर ऊर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौँ,” उनले भने, “सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्त्वपूर्ण हुन्छ ।”

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रूपमा सम्पन्न हुन थालेको जानकारी गराए । उनले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका निम्ति धन्यवाद व्यक्त गरे ।

“हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्तापक्ष र विपक्षीको रूपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौँ । यो हाम्रा लागि मात्र होइन, शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुसीको कुरा हो,” उनले भने, “टीआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुसी बनाएको छ ।”

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उनले उल्लेख गरे । यसबाट नेपालमा पर्न सक्ने असरप्रति आफूहरू संवेदनशील रहेको उनले बताए ।

नेपाली युवा विपीन जोशी हालसम्म पनि बेपत्ता रहेको घटना नेपालका निम्ति चिन्ताको विषय रहेको पनि उनले बताए । विपीन जीवितै रहेको हालै इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको भन्दै उनले जतिसक्दो चाँडो रिहाइका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्नेमा जोड दिए ।

अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरूका निम्ति खुसीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए । उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ टुंगिन लागेकामा खुसी व्यक्त गरे । अन्तर्राष्ट्रिय समुदायका निम्ति यो सुखद खबर भएको उनले बताए ।

नेपालको आर्थिक विकासका निम्ति अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उनले उल्लेख गरे । अमेरिकी सरकारले मात्र नभई जनताले पनि नेपालको विकासका निम्ति सहयोग गर्दै आएको उनले बताएका प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro