site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसका डंगोलको योजना– कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउने, फोहोरको शुल्क नलिने
फाइल तस्बिर ।

काडमाढौं । नेपाली कांग्रेसबाट कीर्तिपुर नगरपालिकामा मेयरका उमेदवार कृष्णमान डंगोलले मतदातासँग कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउने वाचा गरेका छन् । उनले यसअघिका मेयर स्वर्गीय राजकुमार नकर्मीले थालेका राम्रा काम सम्पन्न गर्ने र नयाँ काममार्फत नगरवासीको सेवा गर्ने आश्वासन दिएका छन् ।

डंगोलले स्थानीय तहको बजेटलाई अधिकतम उपयोग गरेर विकासमा लगाउने र अपुग बजेटका लागि संघ र प्रदेशसँग समन्वय गर्ने बताएका छन् ।

“मेयरको काम नै जनतासँगै रहेर सेवा गर्ने हो । शिक्षा, स्वास्थ्य रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्य राखेको छु,” डंगोलले भने, “कीर्तिपुर आफैँमा सांस्कृतिक सहर हो । यसलाई सांस्कृतिक सहरकै रूपमा विकास गर्ने मेरो धोको छ । यसमा नगरवासीले साथ दिनुहुने छ भन्ने विश्वास लिएको छु ।”

कीर्तिपुरका दशमध्ये नौ वडामा नेपाली कांग्रेसले जितेको बताउँदै डंगोलले नगर र वडाबीचको समन्वयमा काम गर्न आफूले जित्दा नै सहज हुने बताए । उनले संघीय संसद्‌मा कांग्रेसका राजन केसी र प्रदेशमा पनि कांग्रेसकै जनप्रतिनिधि रहेकाले विकास र बजेटको समन्वयमा पनि अरूको तुलनामा आफूलाई सहज हुने बताए ।

“राजकुमार नकर्मीलाई पनि पर्यटकीय नगरी, सांस्कृतिक सहर बनाउन वडासहित जिताएर पठाउनुभयो । उहाँले आफ्नो स्वास्थ्य प्रतिकूलताका बाबजुद काम गरी नै रहनुभएको थियो । तर, पूरा गर्न भ्याउनुभएन,” डंगोलले भने, “त्यसैले ती अपूरा कामलाई यो कार्यकालमा मैले पूरा गर्ने लक्ष्य लिएको छु ।”

उनले कीर्तिपुरमा तीर्थमान डंगोलको समयमा अस्पताल स्वीकृत भएको र कांग्रेसका जनप्रतिनिधि हुँदा विकासका दीर्घकालीन महत्त्वका काम गरेको दाबी गरे । आफूले त्यसलाई रिन्तरता दिने उनको भनाइ छ । डंगोलले संघीय सरकारले छुट्याएको ठूला बजेट स्थानीय सरकार कांग्रेसको नभएका बखत खेर गएको पनि जिकिर गरे । तर, तीन तहकै जनप्रतिनिधि कांगेसको भएको समयमा त्यस्ता कमजोरी नहुने उनको भनाइ छ ।

“संघीय बजेट राजन केसीदले ल्याउनुहुन्छ । प्रदेशको बजेट ल्याउने जनप्रतिनिधि पुकार महर्जन पनि हुनुहुन्छ,” डंगोलले भने, “नगरपालिकामा कांग्रेसको जनप्रतिनिधि भएन भने त्यो काम अधुरो नै रहन सक्छ ।”

'कांग्रेस जे बोल्छ, त्यो गर्छ' भन्ने मान्यता कीर्तिपुरमा स्थापित भइरहेको उनको दाबी छ । उनले पहिले अधिकांशको लालपूर्जा नभएको अवस्थामा अहिले पाँच/सात प्रतिशतबाहेक सबैले पाइसकेका बताए । एउटा प्राविधिक शिक्षालय बनाउने घोषणाअनुसार काम गरिरहेको भन्दै उनले आफ्नो कार्यकालमा पूरा गर्ने बताए ।

“खानेपानीको ठूलो समस्या थियो । कृष्णप्रसाद भट्टराईले देखेको सपना साकार पार्दै कीर्तिपुरमा मेलम्चीको पानी आएपछि खानेपानीको समस्या हटे पनि व्यवस्थापनका कारण नियमित हुन सकेको छैन,” डंगोलले भने, “यहाँका स्रोतको पानी पनि व्यवस्थित गरी वितरण गर्ने मेरो योजना छ ।”

उनले व्यावसायिक खेलाडी उत्पादन गरी युवालाई रोजगारी दिँदै कीर्तिपुरको नाम चम्काउनमा आफ्नो लक्ष्य रहने बताएका छन् ।

“खेल क्षेत्रमा युवा सहभागिता बढाउने हाम्रो योजना छ । युवालाई आयआर्जनसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी कीर्तिपुरको नाम रोशन गर्ने पनि लक्ष्य लिएका छौँ,” डंगोलले भने, “फोहोरमैला व्यवस्थापनका लागि नगरवासीलाई नि:शुल्क सेवा दिने र नगरपालिकाले फोहोरलाई मोहर बनाउँछ । उपभोक्ताले फोहोरबापत कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।” 

झन्डै चार दशकदेखि राजनीतिमा रहेका डंगोल सांस्कृतिक संघको संस्थापक हुँदै नेविसंघको क्याम्पस एकाइ, जिल्ला उपाध्यक्ष हुँदै राजनीतिमा निरन्तर छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro