site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतको वायु प्रदूषण नेपालसम्मै, सोमबार अझै बढ्ने पूर्वानुमान 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकासँगै भारतसँग सीमा जोडिएका सहरहरूमा वायु प्रदूषण बढेको छ । पश्चिम नेपालका दाङ, बाँकेलगायत जिल्ला र उपत्यकाका प्रमुख स्टेसनहरूमा प्रदूषणको मात्रा उच्च हुँदै गएको वातावरण विभागको तथ्यांकले देखाएको छ । 

विभागको रेकर्डअनुसार, कात्तिक २५ गते (आइतबार) दिउँसो १ बजे पछिल्लो २४ घण्टाको वायु प्रदूषणको मापक एयर क्वालिटी इन्डेक्स (एक्यूआई) रत्नपार्कमा सबैभन्दा धेरै १४७ पुगेको छ । यस्तै, भक्तपुरको ११७, ललितपुरस्थित खुमलटारको ११५ तथा नेपालगन्जको १०३ पुगेको छ । 

वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार दाङको तुलसीपुर क्षेत्रमा आइतबार दिउँसो १ बजे एक्यूआई १४० पुगेको छ । 

पछिल्लो २४ घण्टाको औसत पीएम २.५ को मात्रा ४० देखि ५६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको तथ्यांक छ । आइतबार बिहान ९ बजेबाट काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्दै गएको छ । 

आइतबार दिउँसो १ बजे ६३.२७ रहेको पीएम २.५ को मात्रा साँझ ७ बजे ७३.८२ हुँदै ११ नोभेम्बर अर्थात् सोमबार बिहान २ बजे बढेर ७७.१७ पुग्ने विभागको पूर्वानुमान छ । 

पीएम (पर्टिकुलेट म्याटर) १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्तै, पीएम १० ले हावामा धुलोका कणहरूको मापन गर्छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दामाथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकर मानिन्छ ।

नेपालमा सुक्खायामसँगै वायु प्रदूषण बढ्ने गरेको छ । गएको अप्रिलमा पीएम २.५ को मात्रा (सन् २०२४ को हालसम्मको उच्च) ८५.८ पुगेको विभागको तथ्यांक छ । 

डढेलो तथा सहरी प्रदूषणका अलवा नेपालको वायु प्रदूषण बढाउनमा भारतको मौसम तथा खेतीबालीको सिजनको प्रभाव पनि रहने वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन् ।

विशेष गरी भारतमा गहुँ र धानबाली भित्र्याएपछि पराल वा छवाली बाल्दा त्यसको धुवाँ नेपालसम्मै आइपुग्ने उनी बताउँछन् । आईक्यू एयरका अनुसार भारतको पटना, बिहार, मोतिहारी, नयाँदिल्ली, गोरखपुरलगायत क्षेत्र यतिखेर प्रदूषित छन् । आइतबार अपराह्न ती क्षेत्रको एक्यूआई २०० भन्दामाथि छ ।  

आईक्यू एयरको रेकर्डमा आइतबार अपराह्न विश्वका १२१ सहरमध्ये सबैभन्दा प्रदूषित पाकिस्तानको लाहोर (एक्यूआई ४५७) र पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ६० गुणा बढी छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro