site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एफएनसीसीआईका अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् ।

नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको बताइएको छ ।   

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।

यो सम्मानले नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबिचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।

समारोहमा बोल्दै राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए ।

नेपाल र इन्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरूलाई भिसा फ्रि सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणहरूलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे ।  

उनले इन्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरूको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसंग उल्लेख गर्दै कोरोना महामारी अघि इन्डोनेसिया जाने नेपालीहरूलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुनः सुचारु गर्न इन्डोनेसिया सरकारसँग आग्रह गरे ।

यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो ।

ढकाल सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्