site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रारा विमानस्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा
फाइल तस्बिर ।

मुगु । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङरोगनबाहेक निर्माणको सबै काम सकिएको छ ।

भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटक–पटक गरी चारपटक म्याद थप गरिएको थियो । विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

०७६ असोज १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एरोड्रम इन्जिनियरिङ विभाग र ओम बुद्ध इन्टरनेसनल प्रालिबीच ट्रमिनल भवन निर्माणका निम्ति सम्झौता भई  सोही वर्षको कात्तिक १ गतेदेखि काम थालिएको थियो । विभिन्न बहाना बनाउँदै पहिलो सम्झौता अवधिको तीन वर्षमा काम सम्पन्न नभएपछि हालसम्म चारपटक म्याद थपिएको आयोजना प्रमुख नेपालीले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि विवेक श्रेष्ठले मौसमले साथ नदिएको अवस्थामा बाहेक करिब ३० दिनभित्र बाँकी कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी काम भइरहेको जानकारी दिए । भौगोलिक कठिनाइ, यातायातको असुविधा, विभिन्न समयमा वर्षाले बाटो अवरुद्ध हुनु, दक्ष कामदारको अभावलगायत कारणले समयमा निर्माण सम्पन्न गर्न नसकिएको उनले स्वीकार गरे ।

विमानस्थलको टर्मिनल भवन निर्माणको प्रगति र ढिलाइबारे जानकारी लिन बुधबार जिल्ला समन्वय समितिका संयोजक मञ्जनबहादुर कार्कीको संयोजकत्वमा कर्णाली प्रदेशका सांसदद्वय जितबहादुर मल्ल र मंगलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका साथै जनपथ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नागरिक अगुवासहितको टोलीले त्यहाँको निरीक्षण गरिएको थियो । 

निरीक्षणपछि भवन यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिएको जिल्ला समन्वय समितिका प्रमुख कार्कीले बताए । वर्षाले विमानास्थलको मुनितिर क्षति पुगी पहिरोको जोखिममा परेकाले उक्त समस्या समाधानका निम्ति सरोकार भएका निकायमा आवश्यक पहल र समन्वय गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।

सुविधासम्पन्न ट्रमिनल भवन, यात्री सहायता कक्ष र प्रतीक्षालय नहुँदा विमानस्थलबाट बाहिरिने र भित्रने यात्रीले चर्को घाम लाग्दा, झरी, हिउँ पर्दा तथा जाडोयाममा सास्ती भोग्दै आएका छन् । नागरिक उड्डयन कार्यालयले लामो समयदेखि काठको टहराबाट एयर ट्राफिक कन्ट्रोलको कार्य गर्दै आएको जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro