site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बादशाह कुर्मी भन्छन्– आन्दोलनका नाममा मेरो चरित्र हत्या भयो

काठमाडौं । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आन्दोलन र अनशनका नाममा बारम्बार आफ्नो चरित्र हत्या गरिएको बताएका छन् ।

बाँकेको नेपालगन्ज–१७ की निर्मला कुर्मीको अपहरण गरी हत्या गरिएको र उनको सम्पत्ति हत्याएको भन्दै अधिकारकर्मीहरूले चौथोपटक काठमाडौंमा धर्ना दिइरहेका छन् । उनीहरूले यसअघि २०७८ असोज र मंसिर, २०७९ को पुसमा बादशाह कुर्मीमाथि अनुसन्धान हुनुपर्ने भन्दै धर्ना दिएका थिए ।

पछिल्लोपटक बादशाह लुम्बिनी प्रदेशको मन्त्री नियुक्त भएपछि अधिकारकर्मीले उनलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने र निर्मला कुर्मीको मुद्दा अदालतमा पुर्‍याउनुपर्ने माग राखिरहेका छन् ।

बादशाह कुर्मीले भने आफू निर्दोष रहेको दाबी गरेका छन् । उनी भन्छन्, “निर्मला कुर्मीको मृत्यु र उनको सम्पत्तिका विषयमा राज्यले ममाथि पाँचपटक अनुसन्धान गरिसकेको छ । अनुसन्धान गरेर मलाई हाजिरी जमानीमा छाडेको छ । म निर्दोष भएकै कारण त हाजिरी जमानीमा छाडेको हो ।” २०७८ भदौमा उनी हाजिरी जमानीमा छुटेका थिए ।

आन्दोलन र धर्नाका नाममा आफ्नो चरित्र हत्या गर्दै राजनीतिक प्रतिशोध साँध्ने गरिएको उनी दाबी गर्छन् । “म जतिखेर कुनै पदमा जान्छु, त्यतिखेर यो विवाद झिकेर मेरो चरित्र हत्या गर्छन् । ममाथि राजनीतिक बदला लिन्छन्,” उनले भने । 

मृतक निर्मला कुर्मी बादशाहकी छिमेकी हुन् । बादशाहलाई काकी भनेर सम्बोधन गर्थे । २०६२ मा निर्मलाका श्रीमान् र २०६६ को मंसिरमा दुई छोराको मृत्यु भएको थियो । 

दुई छोराको मृत्युमा पनि बादशाहको भूमिका रहेको अधिकारकर्मीको दाबी छ । तर, बादशाह भने आफू त्यतिखेर नेपालगन्जमा नभएको दाबी गर्छन् । “उनका दुई छोराको मृत्यु हुँदा म काठमाडौंमा थिए । मैले त छोराहरूको मृत्यु भएको कुरा गाउँ गएर थाहा पाएको हुँ,” उनले भने । 

श्रीमान् र छोरा गुमाएपछि सम्पत्तिको सुरक्षाका लागि आफूले निर्मलाको लालपुर्जा र नागरिकता राखिदिएको बादशाहले सुनाए । “अनेक मान्छेले निर्मलाको सम्पत्ति खान खोजेपछि मैले सुरक्षित राख्न भनेर लालपुर्जा लगेको हुँ । पछि ती कागजात मैले जिल्ला प्रशासन कार्यालयको रोहबरमा निर्मलालाई बुझाएको हुँ,” उनले भने । 

जिल्ला प्रशासन कार्यालयको रोहबरमा सम्पत्तिका कागजात बुझेपछि निर्मला हराएकी थिइन् । सम्पत्तिको सुरक्षा गर्न लालपुर्जा लिनु नै आफ्नो गल्ती भएको उनको भनाइ छ । “त्यही लालपुर्जा र नागरिकता राखेबापत यत्रो आरोप खेपिरहेको छु । मैले एक टुक्रा जमिन पनि लगेको छैन,” उनले भने । 

आन्दोलन गर्ने र धर्ना गर्नेहरूले नै यो मुद्दा अगाडि बढ्नबाट रोकेको बादशाहको आरोप छ । “धर्ना बस्नेले जे भन्यो त्यही त हुँदैन होला नि,” उनले भने, “आन्दोलन र धर्ना बस्नेहरूले नै यो मुद्दा अगाडि बढ्नबाट रोकिरहेका छन् ।” 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro