
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले यही साउन २१ गते विश्वासको मत लिने भएका छन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका निम्ति त्यससम्बन्धी प्रस्ताव यही साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिबार प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए । उनले उक्त व्यवस्थाका निम्ति कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाए ।
कुल ४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक÷एक प्रदेशसभा सदस्य छन् । रासस