site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ, अब बिलौना गाएर केही हुँदैन : भट्टराई
SkywellSkywell

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले लामो राजनीतिक चरित्र बोकेर हिँडेको भए राजीनामा गरेर सरकार बनाउने मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । उनले ठूला राजनीतिक दलले आसन र राजनीतिक निर्णय बदलिसिकेको अवस्थामा असार २८ गतेसम्म समय केका निम्ति लिन खोजेको भन्दै प्रश्न गरे ।

“किन आवश्यक भयो ? विश्वास गुमाइसक्नुभएको छ । समर्थन गुमाउनुभएको छ । लामो राजनीतिक व्यक्तित्व बोकेको भए भोलि पनि राजनीतिक गर्ने बाटो खुला छ । राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ,” उनले भने ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भन्दै माओवादीले असार १८ गते प्रस्ताव पठाएको खुलासा पनि गरे । त्यति बेला प्रचण्डले आफूले पद छाड्ने र ओलीलाई प्रधानमन्त्री बन्न अनुरोध गरेको उनले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

“संविधानको पुनरवलोकन गर्नका लागि ऐतिहासिक निर्णय गरेका छौँ । आक्रोश पोखेर, बिलौना गाएर केही हुँदैन । तपाईं अल्पमतमा मात्र होइन, धैरै अल्पमतमा पर्नुभएको छ,” भट्टराईले भने ।

प्रचण्डले पहिलोपटक विश्वासको मत लिँदा २६८ र पछिल्लोपल्ट घटेर १५७ मत पुगेको उनले उल्लेख गरे । अब विश्वासको मत लिँदा कति हुन्छ भन्दै उनले प्रश्न गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – जो अरूलाई प्रश्न उठाउँछ, ऊ पनि किन सत्तामा टाँसिएर बसेको भन्दै प्रश्न गरे । “रास्वपाको इच्छा हो, प्रमले प्वाल पारेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ ? अरूलाई जुन ढंगले पद र गरिमाको प्रश्नको कुरा उठाउनुभएको छ, तपाईंहरू कता जानुहुन्छ ?,” उनले भने ।

एमालेले प्रचण्ड नेतृत्वको सरकारको निरन्तरता चाहे पनि प्रधानमन्त्रीले नै अविश्वास पैदा गर्ने काम गरेको उनको भनाइ थियो ।

एमालेले प्रमुख मन्त्रालय छोडेर राम्रो मनसायले सरकार चलोस् भनेर ‘लो प्रोफाइल’मा बसे पनि माओवादीको चरित्र त्यसानुरूप नपाएको उनले बताए । “दिन बित्दै जाँदा प्रमको जादुमय अंकले नेकपा (एमाले)प्रति अविश्वास गर्न थाल्नुभयो । कांग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाऊँ भन्नुभयो । आजको दिनमा राष्ट्रिय सरकारको नेतृत्व उहाँले गर्दा उचित हुन्छ ? यो तमाम समस्याको बीचमा उहाँको नेतृत्वमा सरकार बन्न सक्दैन,” उनले भने ।

उनले प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाए पनि एमालेलाई बाहिर राख्ने मनसाय रहेको भन्दै थपे, “एमाले बाहिर बस्ने, कांग्रेस जाने, कांग्रेस बाहिर बस्ने, एमाले भित्र जाने, यो रोटेपिङले देशलाई कहीँ पुुर्‍याउँदैन, पुष्पकमल दाहालको नेतृत्व लम्बिन्छ, देश कहीँ कतै पुग्दैन भनेर हामी नयाँ गठबन्धनमा लागेका हौँ ।”

सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डको स्वभाव नै क्षणिक रूपमा सहमति गर्ने खालको भएको टिप्पणी गरे । क्षणिक सहमति गरेर सरकार बनाउने र तत्कालै अर्को राजनीतिक समीकरणतर्फ लाग्ने प्रचण्डको स्वभाव रहेको उनले जिकिर गरे ।

“कस्तो स्वभाव हो ? एमालेसँग हुँदा कांग्रेससँग समीकरण बनाउन खोज्ने र कांग्रेससँग हुँदा एमालेसँग समीकरण खोज्नुहुन्छ,” उनले भने, “यो अवस्थाले हामीलाई कहाँ लग्यो भन्दा मुलुकको आत्मविश्वास दिन प्रतिदिन गुम्दै गयो । अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गयो । केही समयअघिको लगानी सम्मेलनमा ठूलो कमिटमेन्ट आएन ।”

उनले देशमा कर्मचारीतन्त्र तहसनहन भएको, आत्मविश्वास गुमेको, सुुरक्षा निकाय तथा राज्यका अंग ठिक ढंगबाट चल्न नसकेको बताए । जनतामा निराशा, आक्रोश बढ्दै गएको र मुलुकको जनशक्ति, पुँजी पलायन भएकाले देश संकटग्रस्त अवस्थामा पुगेको उनले उल्लेख गरे ।

“प्रत्येक १० वर्षमा संविधानको पुनरवलोकन गर्ने भन्ने छ, ठिक यो समय आएको छ । संविधानको सीमावलोकन गर्नुपर्ने अवस्था आएको छ । तीनै तहको सरकार, संवैधानिक निकायलगायत पुनरवलोकन गर्ने अवस्था आएको छ,” उनले भने ।

उनले संसदीय अभ्यासमा प्रमुख दुई ठूला दल मिल्नु स्वाभाविक नभए पनि ऐतिहासिक क्षण बेलाबखत आउने गरेको बताए । यस्ता सहमति पटक–पटक नहुने उनको भनाइ थियो ।

उनले इतिहासमा पनि कांग्रेस–एमाले सहकार्य भएको स्मरण गराए । ०४६ सालको जनआन्दोलनमा कांग्रेस–एमाले एक भएर नलडेको भए बहुदलीय व्यवस्था र लोकतन्त्र आउन ढिला हुने भन्दै उनले ०४७ को संविधान पनि सहमतिका साथ बनाइएको स्मरण गरे ।

“५२ देखि माओवादीले चलाएको सशस्त्र विद्रोहले मानिसहरू उकुसमुकुस थिए, देश असफल राष्ट्र बन्दै थियो । त्यस्तो अवस्थामा माओवादीलाई शान्तिमा फर्काउनु चुनौतीपूर्ण थियो । दुनियाँले हामीलाई हेरेको थियो । हामी मिलेर काम गर्‍यौँ,” उनले थपे, “७२ को संविधान बन्ने/नबन्ने चुनौतीपूर्ण अवस्था थियो । मुलुकको ऐतिहासिक संविधान नबनाएको भए देश डरलाग्दो अवस्थामा जान सक्थ्यो । त्यो एमाले–कांग्रेसले अग्रसरता लिए ।”

उनले अल्पमतको सरकारले महत्त्वपूर्ण निर्णय नगर्न चेतावनी पनि दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro