सहरको मात्र
के बयान गराई भो,
गाउँमा झनै
दुर्दशा छ आमाहरूको
उनीहरूसँग दम,
खोकी र गानोगोला छ
बर्सेनि सुत्केरी हुँदा
जिउको स्याहर नहुँदा
गलेको शरीरमा
अनेकअनेक बिमारी छ ।
फेरि, ‘गाउँ–डुलुवा’
बाहरूको शासन
हप्कीदप्की र खप्की छ ।
घाँस–दाउराको भारी
बिसाउन नपाउँदै
आङको पसिना नओभाउँदै
मजेत्रोले वक्षस्थल छोपी
शिशुलाई अमृतधारा
चुसाउने दायित्व
उनकै छ ।
पोल्टामा मकै–भटमास हालेर
ढाडमा शिशु बाँधेर
लेकबेँसी, मेलापात गर्नैपर्ने
थकित, लखतरान ज्यानले
भकारो र भातभान्साको
धन्दा चलाउनैपर्ने
औँलाका कापमा
हिलो जमेर कुहिँदासम्म
हिंसाले डामिएर
सतिसालझैँ उभिनैपर्ने
हिंस्रक विधिको विधान मानेर ।
आङ खसेर
उपचार नपाएका,
र पनि जिम्मेवारीको
पहाड उचालेर बाँचिरहेका
हे आमाहरू, कसरी सकिरहेछौ ?
संवेदनाहीन संस्कारको उकालो चढ्न !
तिज र तिहारमा
माइत जाँदा बाहेक
गोडाले कहिल्यै
चप्पल देख्न पाएनन् कि !
ओठमा लाली
बसाउने पाउडर,
सिलमुन्द्री र ढुङ्ग्रीले
तिमीलाई चिन्दै चिनेनन् कि !
अँगेनामा ढुङ्ग्रोले
आगो फुक्दै गर्दा
मुखभरि टाँसिएको खरानी,
कुँडेले पोतेको ध्वाँसो
तिम्रा सोह्रशृंगार
तिनै थिए कि !
पँधेरामा हाँसोको
बाजा बजेपछि,
बालापन र यौवन
ताजा बनेपछि
पत्तो हुन्थ्यो रे
बैँसको डाली
नुगेर भुइँ छोएको !
हो, त्यति बेलै
बजारकी फुपूले
ल्याएको ऐनामा
मेरी आमाले पनि
पहिलोपल्ट जवानीको
इन्द्रेणी देखेकी रे !
उमेरको क्षितिज छोडेर
माथि आएको घाम
रजस्वलाको त्यो पहिलो याम
गोडासम्म बगेका रक्तधारा
के थाहा, बिचरा आमाहरूलाई
सृष्टिको बिज फुटेर
सिर्जनाको धरा भिजेको !
आमा र कैली गाई
सँगै सुत्केरी भए रे !
आमाले ठुल्दिदी पाइन्
कैलीले पेटारे पाई
आमा अलच्छिनी भइन्
कैली दूध दिने लच्छिनकी !
यी दुवै आमाहरूबीच
किन यो विभेदको बार !
हिजो मात्र होइन,
आज पनि
कृतघ्न छ समाज
जसको काखमा लुटुपुटिएर
बालवय बितायो,
तिनैलाई चिन्दैन
जसको छाती चुसेर
पुरुषार्थी कहलायो,
उसैलाई गन्दैन ।
उसो त
सहर झरेर
जुल्फी लर्काएको छोरो
अत्तर घसेकी छोरी नै
आमा चिनाउन घिन मान्छन्
अचेल त
आमाहरूप्रति
ममता दर्शाउने
ठूलै होडबाजी
र चटारो छ ।
‘तेल भिसा’मा
पोकापन्तरा बाँधेर
विदेशिन्छन् आमाहरू
अनि, फर्किन्छन्
पिण्ड खाएर बैतर्नी तर्ने
आत्मविश्वासमा !
प्रौढताको पानी सुकेर
डाँडामाथिको जून हुँदासम्म
सन्तानप्रतिको प्रेमधारा
नसुक्ने जीवात्मा
यो लोकमा
आमाहरू मात्र होलान् ।
यी महान् सृष्टिकर्ताको
विरेचन बदलौँ
सन्तानबाट तिरष्कृत
वृद्धाश्रम पुगेका
तमाम आमाहरूको
नियति फर्काऊँ ।
बालौँ, चेतनाको ज्योति
धड्कनमा छल्किने वात्सल्यजस्तै ।
अबदेखि
आमा–औँशीमा मात्रै होइन
हरघडी, दिन र रात
जून र घाम रहँदासम्म
आमाहरू पुजीइरहून्
यो सृष्टिका तमाम
आमाहरूप्रति नमन ।