site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरण : १० प्रतिवादीको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिट आइतबार पनि सर्वोच्च अदालतको ‘हेर्दाहेर्दै’मा परेको छ । अभियुक्त आङ्टावा शेर्पाले गत माघ १४ मा बन्दिप्रत्यक्षीकरण रिट दायर गरेपछि बाँकी नौजना अभियुक्तले क्रमशः बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए । 

गत फागुन ९ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको मुद्दा त्यसपछि लगातार तीनपटक हेर्न नमिल्नेमा परेका थियो । पाँचौँ पेसीमा न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कागजात झिकाउने आदेश गरेको थियो । १३औँ पेसी चैत २५ पछि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखेको छ । आइतबार १०औँपटक हेर्दाहेर्दैमा राखिएको हो । कुनै पनि मुद्दा त्यही इजलासले टुंग्याउने भएपछि हेर्दाहेर्दैमा राख्ने न्यायिक अभ्यास छ । 

तत्कालीन गृहसचिव टेक नारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशसमेतका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार,  महान्यायाधिवक्ता, महान्याधिवक्ताको कार्यालय, काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्