site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अख्तियारलाई ‘श्री ६’ बनाउने गरी कानुन बनाउन सकिँदैन : सभापति खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘श्री ६’ बनाउने गरी कानुन बनाउन नसकिने बताएका छन् ।

मंगलबार समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकबारे जानकारी दिँदै उनले अख्तियारसम्बन्धी विधेयक व्यापक छलफल गरेरमात्र समितिले अघि बढाउने बताए । उनले अख्तियारलाई निजी क्षेत्रमा पस्न दिने कि नदिने, नीतिगत निर्णयमा पस्न दिने कि नदिने जस्ता विषय जटिल भएको बताए ।

“अख्तियार प्राइभेट सेक्टरमा पनि जान खोजेको छ । यसको अर्थ बैंक, हस्पिटल, बिमालगायत क्षेत्रमा गएर काम गर्न खोजेको छ,” उनले भने, “राजाको पालामा श्री ५ हुँदा सबै ठाउँमा हात हाल्ने पद्धति थियो । अख्तियारलाई श्री ६ बनाउन थालियो भने प्रधानमन्त्रीले गरेको काम पनि अख्तियारले हेरेर कहिले २२ त कहिले २४ बुँदे जारी हुन थाल्छ।”

उनले अख्तियारको कार्यशैली पनि चित्तबुझ्दो नभएको बताए । अख्तियारमा बेनामे उजुरी आउँदा समस्या पर्ने गरेको, मुद्दा दर्ता कम भएको र सफलता दर पनि निराशाजनक रहेको उनको भनाइ छ ।

सभपाति खतिवडाले अख्तियारलाई कमजोर बनाउन नभएर आफ्नो बाटोमा ठिक ठाउँमा हिँडाउने गरी कानुन बनाइने बताए । यसका लागि सरोकारवाला सबैसँग छलफल गरिने उनको भनाइ छ ।

समितिको मंगलबार बसेको बैठकले अनुगमन विधेयक प्रतिवेदनसहित पारित गरेको छ । यो विधेयकपछि समितिले संवैधानिक परिषद्‌सम्बन्धी विधेयक, भ्रष्टाचार निवारणसम्बन्धी विधेयकलगायतलाई अघि बढाउने जानकारी दिए ।

खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पनि अन्तिम चरणमा पुर्‍याएको भन्दै अध्यक्ष र बहुमत सदस्य कि अध्यक्षबाहेकको बहुमत सदस्य भन्ने कुरा मिलाउन शीर्ष नेतासँग संवाद भइरहेको बताए । यो विषय प्रमुख प्रतिपक्षी दल एमालेले अड्काएर राखिरहे आफूहरू लोकतान्त्रिक प्रक्रियामा गएर बहुमतबाट निर्णय गर्ने र विधेयक फुल हाउसमा लग्ने तयारीमा रहेको भनाइ खतिवडाको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro