site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दाबी पेस गरिएको जानकारी दिए । “म्याग्दीको अन्नपूर्ण–४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्कीको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ”, उनले भने, “यहाँको गाउँपालिकाले आफ्नै भूगोलमा भएको हिमालको रोयल्टीबाट वञ्चित भएकाले तथ्यसहित दाबी पेस गरिएको हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत वर्षको वसन्त याममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँच समूहका ५४ जनाले एक करोड चार लाख २६ हजार ४१० रुपैयाँ शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरद यामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका थिएनन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमाल लगायत प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीलाई तीन तहको सरकारलाई बाँडफाँट गर्दै आएको छ ।

तेह्र वर्षअघि अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा पर्ने तथ्य पहिचान भएपछि तत्कालीन जिल्ला विकास समितिको सभाले रोयल्टी माग गरे पनि सम्बोधन भएको थिएन । पछिल्लोपटक अन्नपूर्ण गाउँपालिकाले रोयल्टीको दाबी गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीको टोलीले स्थलगत अध्ययन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्