site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
समुद्रबाट खोजिएको सिपी र शंख
Sarbottam CementSarbottam Cement

गुल्मी पुर्ख्यौली मूलथलो भएका कृष्णप्रसाद ज्ञवालीका सुपुत्र सलील विश्वसाहित्यमै एक उदीयमान स्रष्टा हुन् । ज्ञवाली हाल भारतको सिलोङमा रहँदै आउनुभएको छ । दर्शन तथा चिन्तनसम्बन्धी विचारहरू प्रस्तुत गर्दै ज्ञवाली ८० को दशकदेखि लेखनमा अगाडि बढिरहनुभएको छ ।

इन्टरनेसनल अर्गनाइजेसन अफ जर्नालिस्टका सदस्य समेत रहनुभएका उहाँले लगभग डेढ दर्जनजति विद्यालयस्तरीय कृतिहरू तयार गर्नुभएको छ । विश्वभरिकै महान् चिन्तक, स्रष्टा तथा वैज्ञानिकहरूको पूर्वीय जगत्सम्बन्धी उक्ति, चिन्तन, संकथन, तथ्य र सत्यको संग्रह ‘द ग्रेट माइन्ड्स अन इन्डिया’ नामक कृति भारत सरकारको पहलमा प्रकाशन भएको थियो ।

यो पुस्तकलाई जर्मन, बंगाली, उर्दू, संस्कृत, हिन्दीलगायत अहिलेसम्म १४ भाषामा अनुवाद गरिएको छ । केही वर्षअघि नेपालीमा समेत अनुवाद गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईद्वारा अनूदित यो पुस्तक (पूर्वीय सभ्यता : विश्वविख्यात विद्वानहरूका दृष्टिमा) पढिसक्दा विश्वभरिको चिन्तनले मभित्र एउटा हलचल पैदा गरेको छ ।

८४ जना विश्वविख्यात विद्वान्हरूको पूर्वीय सभ्यतामाथिको दृष्टिकोण, टिप्पणी, वेद, उपनिषद्, गीतामाथिको उनीहरूको विश्वास र आफ्नो जीवनमा यसले ल्याएको रूपान्तरणको चर्चासँगसँगै संस्कृत भाषाका केही गुण उद्धरणहरू समेत उल्लिखित १६३ पृष्ठको यो सँगालो वास्तवमै समुद्रबाट खोजिएका सिपी र शंखहरू हुन् । यस्तो खोजी गर्नु अनि यसरी उन्नु ठट्टाको कुरा होइन ।

Global Ime bank

अनुवादको क्रममा जतिजति अगाडि बढ्दै गयो उतिउति पूर्वीय जगत्को सारतत्त्वमाथि आफू उदाउँदै गएको मान्नुहुन्छ, डाक्टर भट्टराई । र, आफूलाई एक विशाल भूमिमा छु भन्दा अत्यन्तै गहिरो आनन्दको महसुस पनि गर्नुहुन्छ ।

पश्चिमी साहित्य, लेख अनि भौतिक जगत्को आविष्कारमा पूर्वको प्रभाव कहाँकहाँ कसरी छ भन्ने खोजीको क्रममा जर्ज बनार्ड सा, एच जी वेल्स, लिङ युताङ, लिन्डा जोनसेन, हु सि, सर विलियम जोन्स, जवाहरलाल नेहरूजस्ता रत्नको पहिचान अनि यस्ता अमरवाणीहरू टिप्ने सलीलको जीवनलाई धन्य ठान्नुहुन्छ, डा. भट्टराई ।

‘ग्रेट माइन्ड्स अन इन्डिया’बारे ज्ञवाली भन्नुहुन्छ, “म विचारहरूको सागरमा डुबेँ, अनेकौँ वर्ष त्यसरी व्यतीत भएपछि एक दिन म ओपेन्हाइमरको विस्फोटक उद्गारमा पुगेँ... आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौँ यो कुरा सबै प्राचीन हिन्दू विद्वत्ताको प्रतिपादन समर्थन र परिष्करण मात्र हो ।” (पृष्ठ–१२)

एक महान् जर्मन दार्शनिक फ्रेड्रिक हिगेल (१७७०–१८३१) जसको एक मात्र अध्ययनले सम्पूर्ण युरोपेली दर्शनलाई परिक्रमित गराइदियो, उहाँको भनाइ, “भारतवर्ष (आर्यावर्त) एउटा स्वप्नभूमि हो । यसले सधैँ मानिसको स्वप्न सुख अर्थात् परमानन्दभन्दा परको सपना देख्यो, त्यो नै मानवको अन्तिम लक्ष्य हो । भारतवर्षले आफूलाई ज्ञानका निमित्त खोजी गरिनुपर्ने देशका रूपमा विश्व इतिहासमा एउटा विशेष संवेग उत्पन्न गरेको छ ।” (पृष्ठ–५२)

अर्का स्रष्टा नोबेल पुरस्कार विजेता, क्वान्टम फिजिक्सका पिताका रूपमा चिनिने अस्ट्रियन भौतिकशास्त्री आर्विन स्रोडिंगर (१८८७–१९६१) को अनुभूति यस्तो छ, “पाश्चात्य विज्ञानलाई आध्यात्मिक रक्तअल्पताबाट बचाउन पूर्वबाट पश्चिमतिर केही रक्ताधान आवश्यक भएको छ ।” (पृष्ठ–९६)

यो उक्तिले मलाई झस्याङ्ङ आफ्नी एक विदेशी मित्र क्यालिफोर्निया निवासी जेनिफरको त्यो गुलाबी अनुहार सम्झायो जो केही वर्षअघि पाँचौँपटक नेपाल आउँदा मसँगै रहेकी थिइन् । हिन्दूहरूको महान् चाड दीपावलीमा पूजाकोठाभित्र आफूसँगै रहेर लक्ष्मीपूजामा सरिक भइरहँदा उनका आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेका थिए । उनले आफूलाई केही नभएको बताए पनि आज म महसुस गर्दै छु, उनी आध्यात्मिक रक्तअल्पताले ग्रसित थिइन् त्यति बेला सायद ।

अर्का जर्मन लेखक, दार्शनिक, भाषाशास्त्री एवं जर्मन स्वच्छन्दतावादका संस्थापकमध्ये एक फ्रेड्रिक भोन स्लेगल (१७७२–१८२९) भन्छन्, “यो विश्वमा संस्कृत भाषाको जस्तो नियमनिष्ठता र दार्शनिक सुस्पष्टताले युक्त अन्य कुनै भाषा छैन, ग्रिसेली पनि छैन ।” (पृष्ठ–५५)

जर्मन विद्वान्ले यस्तो धारणा प्रस्तुत गरेका थिए । नेपालमा भने विद्यालय पाठ्यक्रमबाट संस्कृत भाषा हटाइसकिएको छ ।

फ्रान्सका महान् इतिहासकार जुलेस मिसेलेट (१७९८–१८७४) रामायणको गाथा यसरी सुनाउँछन्, “पश्चिमी जगत्मा हरेक कुरा संकीर्ण छ– ग्रीस सानो छ र म निस्सासिन्छु, साथै जुडिया सुक्खा छ र म धडकिन्छु पनि । मलाई त्यो महान् एसियातिर र त्यो गहन पूर्व जगत्तिर एकछिन दृष्टि लाउन दिनोस्, त्यहाँ मेरो महान् काव्य छ– रामायण ।” (पृष्ठ–६०)

०००

पुस्तक अध्ययनका क्रममा मुखपृष्ठबाट नै एउटा कौतूहल जाग्छ, जहाँ विख्यात साहित्यकार, दार्शनिक, वैज्ञानिकहरूका बीचमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिर भेटिन्छ । फ्रेडरिक सिलर, अल्बर्ट आइन्स्टाइनजस्ता महान् दार्शनिक, वैज्ञानिक एवं चिन्तकको पूर्वीय सभ्यताप्रतिको कृतज्ञता देख्न अनि पढ्न सकिन्छ ।

त्यसैले त अनुवादका क्रममा डाक्टर भट्टराईसँग सर्वप्रथम आइन्स्टाइन नै बोल्छन्, “हामी पूर्वीय जगत्प्रति चिरऋणी छौँ । उनीहरूले हामीलाई गणित सिकाए, त्यसविना कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार सम्भव हुने थिएन ।” (पृष्ठ–२३)

पश्चिमाहरू आफ्ना महान् उपलब्धिमा पूर्वीयहरूप्रति आभारी छन् । पूर्वीयहरूले भने पश्चिमी शैली अनुशरण गरेको देख्दा डाक्टर भट्टराई तिक्तता पोख्नुहुन्छ, “हामी यतिखेर आफ्ना गोठका लैना गाईभैँसी परदेशीलाई बिक्री गरेर त्यसको पैसाले हल्यान्डदेखि मगाएको स्किम्ड मिल्क किन्दै छौँ ।” (पृष्ठ–१९)

यसले थुप्रै पाठकलाई आफ्नो अतीतमा गएर एकपटक आफैँलाई खोज्न प्रेरित गर्नेछ भन्नेमा म विश्वस्त छु । वास्तवमा भूमिका नै यस पुस्तकको सारतत्त्व हो । विषयसूचीपछिका भरिएका पानाहरू त केवल प्रमाणका लागि देखाइएका केही सन्दर्भ मात्र हुन् ।

डाक्टर भट्टराई भन्नुहुन्छ, “कस्सिएर पढ्नुहोस्, हुरुक्कै भएर पढ्नुहोस् । घाँसखोले राम्रो खुवाए मात्र गाई दुहुन सकिन्छ ।”

पश्चिमाले कसरी अध्यात्मलाई आफ्नो सिद्धान्तमा प्रयोग गरेका छन् भन्ने कुराको जानकारी मात्रले हामी आफ्नो अतीतको विशालतालाई नाप्न सक्तैनौँ ।

पश्चिमी मूलकी लेखिका केरोलिन हेगन जसले यो पुस्तकलाई जर्मन भाषामा अनुवाद गर्नुभयो, उहाँको पुस्तकप्रतिको धारणा म यहाँ उल्लेख गर्न सान्दर्भिक ठान्दछु, “पूर्वीय सभ्यताको यस्तो उज्यालो पक्षको जानकारी पाएपछि जस्ताको त्यस्तै पश्चिमी जगत्सम्म यी कुरा पुर्याउने इच्छा जागेर मैले यो पुस्तक जर्मन भाषामा अनुवाद गर्ने निर्णय गरेकी हुँ । ‘द ग्रेट माइन्ड्स अन इन्डिया’जस्तो अतुलनीय पुस्तकको जर्मन भाषामा अनुवाद गर्ने अवसर पाउनु मेरा लागि अहोभाग्यको हो । मेरो यो प्रयास वास्तवमा यस उपमहाद्वीपका प्राचीन सन्त–महात्मा, ऋषि–मुनिहरूप्रति मेरो हार्दिक श्रद्धा व्यक्त गर्ने अवसर पनि हो । मलाई आशा छ, यो पुस्तकको प्रकाशनले प्राच्य सभ्यताले दिएको ज्ञानको ज्योति पश्चिमी जगत्सम्म पुर्याउने कार्य अवश्य गर्नेछ ।”

पुस्तक पढ्दा पढ्दै एकपल्ट लैंगिक चस्मा लगाएर स्वाट्ट हेर्न पुगेछु । चौरासीजना दार्शनिकको चर्चामा महिला प्रतिनिधि केवल ६ प्रतिशत अर्थात् पाँचजना मात्र पाएँ, जबकि महिला त आमा पनि हुन्, सन्तानलाई सभ्यता सिकाउने । त्यसैले यसमा अझै खोजी गर्नुपर्ने महसुस गरेकी छु ।

सर्वाधिक प्रिय अमेरिकी कवि, पत्रकार तथा प्रखर रहस्यवादी विदुषी एला ह्विलर विल्कक्स (१८५०–१९१९) भन्छिन्, “विद्युत्, रेडियम, इलेक्ट्रोनिक्स हवाईजहाजजस्ता सारा कुरा ती स्रष्टालाई ज्ञान थियो जसले वेदको रचना गरे ।” (पृष्ठ–७१)

अर्की नारी जो भारतीय साहित्यबाट अत्यन्त प्रभावित एड्भान्स फिजिक्सकी अनुसन्धाता, विदुषी, ग्रीसकी क्विन फ्रेड्रिका (१९१७–१९८१) पनि भारतको साहित्य अनि अध्यात्मबाट अत्यन्तै प्रभावित थिइन् ।

“भौतिकवादी ज्ञान भएको उच्च अध्ययन र अनुसन्धानले मभित्र एउटा आध्यात्मिक तिर्खा उत्पन्न गरिदियो, बढ्दै गएर त्यो एउटा अद्वैतवादी चिन्तनमा अथवा शंकरको निर्विकल्प एकेश्वरवादमा टुंगियो । त्यो नै मेरो जीवनको दर्शन भयो, विज्ञानको दर्शन भयो ।” (पृष्ठ–१२२)

पुस्तकभित्र अथाह ज्ञान छ । भारतवर्षको बखान छ । संस्कृत भाषा र संस्कृतिको विशालता दर्साइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement