site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
राजाका लागि विमान खरिद प्रक्रिया रोक्ने सुवास नेम्वाङको त्यो निर्णय...

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिमा सुवासचन्द्र नेम्वाङ निर्वाचित हुनुभएपछि उहाँसँग सँगै काम गर्ने अवसर मिल्यो । 

त्यसभन्दा पहिले उहाँ राष्ट्रिय सभा सदस्य र राज्यमन्त्री हुँदा पनि देखादेखमात्रै भएको थियो । उहाँ सभापति हुँदा म सार्वजनिक लेखा समितिमा सचिव थिएँ । संवैधानिक कानुनका ज्ञाता, कानुनका प्राध्यापक, वरिष्ठ कानुन व्यवसायी नेम्वाङ २०५६ मा समितिको सभापति हुनुभएको थियो । 

सुरुमै उहाँले मसँग भन्नुभयो - ‘मलाई सहयोग गर्नुहोस् ।’ प्रत्युत्तरमा मैले भने - ‘म इमानदारीपूर्वक सहयोग गर्छु ।’

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रिय सभाका सदस्य रहँदा सुवास नेम्वाङ र नरहरि आचार्यको प्रस्तुति र छलफलमा आफ्ना विचार राख्ने शैली उदाहरणीय थियो । वास्तवमा उहाँहरू दुवैको भूमिका अत्यन्त सराहनीय थियो । 

लेखा समितिमा काम गर्दै जाँदा उहाँसँग सम्बन्ध पनि प्रगाढ बन्दै गयो । धेरै कम बोल्ने उहाँसँग सुखदुःखका कुरा पनि हुन थाले । अर्र्को कुरा संसदीय समितिमा रहेर काम गर्दा सभापति र सचिवबीच कुनै पनि विषयवस्तुमाथि खुला छलफल हुने गर्छ । यस्तो छलफलले समितिलाई कसरी प्रभावकारी र सक्षम बनाउने भन्ने दिशा निर्देश गर्छ । उहाँको पालामा मात्रै नभएर सबै सभापतिको पालामा यो क्रम चल्नु स्वाभाविकरूपमै निरन्तर रह्यो ।

Royal Enfield Island Ad

विसं २०४८ पछि गठित सार्वजनिक लेखा समितिका सभापति राधाकृष्ण मैनालीलाई नयाँ सन्दर्भमा समितिलाई कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न जटिल थियो । त्यतिबेला सबै पार्टीका सदस्यले उहाँलाई आदर पनि गर्थे । सभापति, सदस्यहरू र समितिमा कार्यरत हामी संयुक्तरुपमा बसी छलफल गरेर समिति सञ्चालन नीति, योजना र कार्यक्रम बनाउँदै लागु गरिएको थियो ।

मैनालीकै पालामा दस वर्षदेखिका बाँकी महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न उपसमितिहरू गठन भएका थिए ।  यसका साथै सार्वजनिक लेखा वा सार्वजनिक सरोकार वा सार्वजनिक महत्त्व र उत्तरदायित्व तथा अनियमितता, भ्रष्टाचारका विषय समितिमा प्रवेश भएका थिए । 

त्यहीकालमा लेखा समितिले धमिजा प्रकरणको छानबिन गरेको थियो । समितिले प्रधानमन्त्री र मन्त्रीहरू र सचिवहरूलाई समितिमा बोलाउँदै प्रश्न सोध्ने, बयान गराउने कामको पनि सुरुवात भयो । नेकपा (एमाले)कै अल्मपतको सरकार हुँदा लेबीको चिनी प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालकै बयान लेखा समितिले लिएको थियो ।

मैनाली र हृदयेश त्रिपाठीको पालामा अनियमितता र भ्रष्टाचार तथा सार्वजनिक सरकरेकारका विषयमा छलफल गर्ने मन्त्री, प्रधानमन्त्रीलाई समितिमा आमन्त्रण गर्ने अभ्यासले सुवास नेम्वाङलगायतका पछिल्ला सभापतिहरूलाई काम गर्न सजिलो पनि भयो ।

एउटा तीतो यथार्थ के हो भने जुन सुकै पार्टीको सरकार भए पनि सार्वजनिक लेखा समितिप्रति राम्रो दृष्टिकोण राख्ने गरेको पाइँदैन । समितिका सभापतिहरूलाई सरकार र सरकारी पदाधिकारीले दुःख दिनेको रूपमा हेर्थे । 

सार्वजनिक लेखा समितिको कामै अनियमितता, बेरुजु, सार्वजनिक साधनस्रोतको हिनामिना तथा दुरुपयोग र भ्रष्टाचारलगायतका विषयमा छानबिन गर्ने हो । 

त्यसरी छानबिन र अनुसन्धान गर्ने समिति भएकाले सभापतिले निष्पक्ष, इमानदार, नैतिक, अनुशासित तथा जवाफदेही भएर निर्णय गर्नुपर्ने हुन्थ्यो । सुवासजीले पनि अरू सभापतिले झैँ यो जिम्मेवारी सफलतापपूर्वक निर्वाह गर्नुभयो । 

सुरुदेखि नै सार्वजनिक लेखा समितिमा सभापतिलाई सम्मान गर्ने र निर्विवाद नेता मान्ने अभ्यास बसिसकेका थियो । समितिका निर्णय सामूहिक छलफलबाटै हुन्थ्यो । यसले गर्दा जस्तोसुकै जटिल विषयमा पनि समितिले सर्वसम्मतरुपमा निर्णय गर्ने परम्परा बसेको थियो ।

सुवास नेम्वाङ सभापतिमा निर्वाचित भएर आएपछि पनि यही परम्परा अनुसरण नै गरिएको थियो । अरु सभापतिका पालामा झैँ उहाँको पालामा पनि महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजुमाथि छलफल गर्न उपसमितिहरू गठन गरिए भने सार्वजनिक लेखाअन्तर्गत सार्वजनिक चासो र सरोकार तथा अनियमितता र भ्रष्टाचारका विषयमा छलफल, छानबिन र अध्ययन गर्ने क्रम अगाडि बढ्यो । 

उहाँको सभापतित्वकालमा भएका महत्त्वपूर्ण निर्णयले सुवास नेम्वाङलाई स्वच्छ चरित्रको राष्ट्रिय नेताको रुपमा स्थापित गर्‍यो । 

नेपाल वायुसेवा निगमले अनावश्यक रुपमा लउडा एअरसँग जहाज भाडामा लिने सम्झौता गरेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिको निर्देशनविपरीत । लेखा समितिले छानबिन सुरु गरेपछि यो राष्ट्रिय बहसको विषय बनेको थियो । त्यस विषयमा छानबिन र अध्ययन गर्दा लउडा एअरसँगको सम्झौता नेपाल वायुसेवा निगमलाई घाटा पर्ने गरी भएको निष्कर्ष निकालिएको थियो ।

लउडा घाटा प्रकरणमा संलग्नहरूलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार मन्त्रिपरिषद्लाई निर्देशन दिइएको थियो । सर्वसम्मतिबाट समितिमा उक्त निर्णय गराउन सभापति नेम्वाङ र तत्कालीन सदस्यहरुको ठूलो भूमिका रह्यो । त्यस निर्णयले सभापति नेम्वाङको र समितिकै इज्जत र सम्मान पनि बढ्न गएको थियो ।

नेम्वाङकै पालामा भएको अर्को निर्णय चाइना साउथ वेस्ट एअरको जहाज भाडामा लिने विषयसँग सम्बन्धित  थियो । 

उक्त प्रकरणमा एमालेका नेता जोडिएका थिए । लेखा समिति सदस्य बुद्धिमान तामाङको संयोजकत्वमा अध्ययन गर्न उपसमिति गठन गरिएको थियो । उपसमितिले उक्त ‘डिल’मा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन समितिमा बुझायो । उक्त प्रतिवेदन समितिले पारित गरेको थियो ।

उक्त निर्णयसँगै एमाले पार्टीको नेतृत्व नेम्वाङ र समितिमा रहेका एमाले सदस्यहरुसँग क्रुद्ध बनेको थियो । 

एमालेले लेखा समितिकै सदस्यहरु हेरफेर गर्दै अर्कै समितिमा पठाउन खोज्यो । पार्टीको त्यस्तो रवैयाको पनि उहाँले विरोध गर्नुभएको थियो । 

समिति सभापतिले दलको इसारामा निर्णय गर्ने होइन भन्ने सवाललाई अडानकै रूपमा लिनुभएको थियो । सभापति नभएको भए सायद उहाँको पनि समिति फेरबदल हुन्थो कि भन्ने कुरा गर्नुहुन्थ्यो ।

अर्को महत्त्वपूर्ण निर्णय दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा कमैया मुक्त गर्न नेपाल सरकारलाई निर्देशन दिएको विषय थियो ।  कमैयाहरूलाई सीप तथा तालिम कार्यक्रम, साइकल खरिद गर्नेलगायतका विषयमा पाँच करोडको बजेट बर्सेनि विनियोजन हुँदोरहेछ । 

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उक्त कार्यक्रम प्रभावकारी नभएको उल्लेख थियो । तर, कमैया मुक्त गर्ने विषय त्यसमा केही परेको थिएन ।

उपसमितिको बैठक सकिएपछि भूमिसुधार मन्त्रालयका तत्कालीन सहसचिव शम्भुप्रसाद श्रेष्ठ र अन्य पदाधिकारीहरूसँग थप छलफल भयो । 

अर्थ मन्त्रालय र महालेखा परीक्षकको विभागका उच्च पदाधिकारीहरुसँग पनि छलफल गरियो । ती छलफलबाट प्राप्त निष्कर्ष मैले सबैभन्दा पहिला सभापति नेम्वाङलाई सुनाए । 

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति अव्राहम लिंकनले सन् १८६३ मा दास प्रथा उन्मूलन गरेको इतिहास पढेको थिएँ । नेपालमा पनि यस्तै काम गर्न पहल गर्नुपर्ने भनाइ उहाँसँग राखे । त्यसपछि मन्त्रालयबाट उपलब्ध कमैयासम्बन्धी सबै कागजात र विवरण देखाए ।

उहाँले यो विषय त धेरै गम्भीर भएको समितिको बैठक बोलाएर निर्णय गर्नुपर्‍यो भन्नुभयो । 

समितिको बैठक पनि बसी सर्वसम्मतरूपले कमैया मुक्ति गर्न र उनीहरुले लिएको सबै ऋण मिनाहा गर्न नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरियो । यो विषयमा मिडियाबाट समर्थनमै समाचार आयो ।

समितिको यो निर्देशन कार्यान्वयन गर्न गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले त्यति तत्परता देखाएन । त्यसपछि सभापति नेम्वाङले सबै दलका नेताहरुलाई यो निर्णय कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । कांग्रेसका सदस्यहरूलाई पनि पार्टीमा यस विषयमा छलफल गर्नुपर्‍यो भन्नुभयो । 

अन्तिममा असार महिनामा नेपाल सरकार, मन्त्रिपरिषद्ले कमैयालाई मुक्ति गर्ने र उनीहरूका गासबासको व्यवस्था गर्ने निर्णय गर्‍यो । ढिलै भए पनि कमैया मुक्ति गर्ने निर्णय गरेकामा कांग्रेसको कोइराला सरकारलाई धन्यवाद दिनैपर्छ ।

तत्कालीन भूमिसुधार मन्त्री सिद्धराज ओझाले प्रतिनिधि सभालाई उक्त विषयको जानकारी गराउनु भयो । कमैयाहरूको बसोबास, रोजगारी र पेसाको उचित व्यवस्थापन भने कांग्रेसको सरकारले पनि गर्न सकेन । पछिल्ला सरकारहरुले पनि यसतर्फ ध्यान नदिँदा उनीहरुको अवस्था अझै पनि दयनीय रहेको छ । 

अर्को विषय नेपाली सेनाले खरिद गर्न लागेको ‘आरजे–१००’ विमानसँग सम्बन्धित थियो । जहाज खरिद गर्नुको औचित्यबारे समितिमा छलफल र अध्ययन हुन थाल्यो । 

नेपाली सेनाका जहाज सञ्चालन गर्ने व्यावसायिक योजना मगाएर हेर्दा विमान पूर्णरूपमा चल्ने अवस्था देखिएन । त्यसमा समितिले विमान खरीद नगर्न मन्त्रिपरिषद्, रक्षा मन्त्रालय तथा नेपाली सेनालाई निर्देशन दिएको थियो ।
उक्त निर्णय सच्याइदिन तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूबाट पनि धेरै अनुरोध आएका थिए । तर, उहाँले समितिको निर्णय आफूले मात्रै उल्टाउन नमिल्ने जवाफ दिनुभएको थियो । मुख्यसचिव र सचिवहरूले लेखा समितिमा अनौपचारिकरूपमा भनेका थिए - ‘राजा वीरेन्द्रको विदेश भ्रमणका लागि विमान खरिद गर्न लागिएको हो ।’

समितिले त्यसो हो भने त्यहीअनुरूपमा जवाफ र पत्र पठाइदिनुस् भन्ने जवाफ दिएको थियो । तर, सरकारले त्यसरी पत्र लेखेर पठाउन सकेन । 

समितिको निर्णयपछि दरबारमा पनि छलफल भएको सूचना आयो । 

त्यो छलफलमा राजा वीरेन्द्रले निर्देशन दिएका रहेछन् - ‘सार्वजनिक लेखा समितिले नकिन्नु भनी निर्देशन दिएपछि विमान किन्ने काम नगर्नू ।’ राजा वीरेन्द्रका निर्देशनबारे अनौपचारिक तवरमै सूचित गरिएको थियो । 

जो सुकै सभापति भए पनि सार्वजनिक लेखा समितिले अत्यन्त अप्ठेरो स्थितिमा काम गर्नुपर्ने हुन्छ । सरकारका आर्थिक नीति, योजना, बजेट, कार्यक्रमका औचित्यमा प्रश्न उठाउनु, अनुचित खर्च रोक्न लगाउनु सजिलो हुँदैन । सार्वजनिक खरिद प्रक्रियामा देखिएका सरकारी बेथिति अन्त्य गर्नेगरी काम गर्नु सभापतिलाई चुनौतीकै विषय बन्छ । 

त्यस्तो जटिल अवस्थामा पनि सुवास नेम्वाङले राष्ट्रिय महत्त्वका यी विषयमा सर्वसम्मत निर्णय गराई ती निर्णय कार्यान्वयन गर्न गराउन आवश्यक भूमिका खेल्नु उहाँको नेतृत्व सीप र दक्षता हो ।  

संविधानसभाको अध्यक्ष/सभामुख भइसकेपछि एकदिन कार्यकक्षमा बोलाउनुभयो । 

उहाँले भन्नुभयो - ‘समितिको बैठक राखी सांसदहरूको पेस्की र जरिवाना मिनाहा गरिदिनुस् ।’ 

मैले भने - ‘समितिले त्यस्तो निर्णय गर्नु हुन्न ।’ तीनचोटी उहाँले त्यसरी मिनाहा गर्न समितिको बैठक बोलाइदिन आग्रह गर्नुभयो । मैले भने, ‘तपाईंले बसाउनु भएको समितिको ‘नर्म्स् र सिस्टम’ बिग्रन्छ, घरजग्गा बेचेर पेस्कीको साँबाब्याज तिर्नेलाई अन्याय हुन्छ ।’

एक दिन यही विषयमा छलफल गर्न सबै दलका प्रमुख सचेतक, महालेखा परीक्षक र मलाई पनि कार्यकक्षमा बोलाउनुभयो । महालेखा परीक्षकको जवाफ आयो - ‘लेखा समितिको निर्णय हामीलाई स्वीकार्य छ ।’

मैले बोल्ने पालोमा भने - ‘यो निर्णय गर्नै हुँदैन । सरकारी मन्त्रालयमा अर्बौँको बेरुजु छ र समितिले हर्जनासहित असुल गर्नु भनेर निर्देशन दिएको छ, समितिले सांसदहरुको पेस्की मिनाहा गर्दा मलाई सबै सचिवले समितिले ‘मत्स्य न्याय’ गर्‍यो भन्छन् ।’ 

नेपाली कांग्रेसका प्रमुख सचेतक आनन्द ढुंगाना र जनमोर्चाका सदस्य लिलामणि पोख्रेलले भने  ‘थापाजीले भनेको कुरा ठीक छ, समितिले यस्तो निर्णय गर्नु हुन्न’ भने । 

त्यसपछि एकछिन सन्नाटा व्याप्त भयो । त्यत्तिकैमा बैठक टुंगियो । त्यस्तो नैतिक, इमानदार र कानुनको ज्ञाता सभामुखज्लाई सांसदको दबाब थेग्न गाह्रो परेछ भन्नेरुपमा लिए । अनि सोचेँ दबाब थेग्नुभएको भए हुने थियो । त्यस्तो काम गर्न किन खोज्नु भएको होला ?

( सार्वजनिक लेखा समिति तथा संसद् सचिवालयका पूर्वसचिव)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro