site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ढाकाकुमारको खुलासा– मन्त्री बनाउन 'कोर टिम'का मोहनजंग थापाले तीन करोड मागे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलाएका छन् । 

समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो । सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

श्रेष्ठले आफू मन्त्री लागेको तर त्यसका लागि 'कोर टिम'का लागि दुई करोड चाहिने बताउँदै श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको अडियो संवादमा खुलेको थियो । सोही 'कोर टिम'का सदस्यमध्येका एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपियाँ मागेको श्रेष्ठको दाबी छ । 

स्पेस फोर के टेलिभिजनसँगको संवादमा बोल्दै श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको खुलाएका छन् ।

प्रसाईंसँगको अडियोबारे उनले भनेका छन्, “अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि ।”

प्रसाईंसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको बताएका छन् । प्रसाईंले नै सुनियोजितरूपमा अडियो सार्वजनिक गरेको आरोप उनको छ ।

“एकपटक कुरा भएको थियो, दुर्गाजी केही परे सहयोग गर्नुपर्छ है, मेडिकल फिल्डको मान्छे भनेर केही समयअगाडि कुरा गरेको थिएँ । तर, उहाँले सुनियोजित तरिकाले उपचुनावको बेलामा ल्याएर मलाई वाट्सएपमा फोन गर्नुभयो र सहयोगको कुरा गर्नुभयो । मन्त्री बन्दै हुनुहुँदोरहेछ, तपाईंलाई मैले सहयोग गर्नुपर्‍यो के भन्नुहोस्,” श्रेष्ठले भने ।

उनका अनुसार प्रसाईं आफैँले सहयोगको कुरा अगाडि बढाएका हुन् । मन्त्री बन्ने कन्फर्म भइसकेको भन्दै मोहनजंग थापालगायतको टिमले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको र सोही क्रममा फिर्ता दिने गरी प्रसाईंसँग कुरा भएको उनको प्रष्टोक्ति छ ।

तर, सुनियोजित तरिकाले पूरै संवाद बाहिर नल्याइएको दाबी उनले गरेका छन् । “पैसाको कुरा चल्यो, त्यतिखेर मलाई पैसा चाहिएको पनि थियो । तर, २–२ करोड माग्ने हो भने त फर्काउनु पनि पर्‍यो नि त,” श्रेष्ठले भने, “दुर्गा प्रसाईं मेरो दाइ होइन, बा होइन, त्यसै मलाई पैसा त दिनुहुन्न । फर्काउने सर्तमा कुरा भएको थियो, अडियोमा त्यो फर्काउने सर्त छैन ।”

मन्त्री बाँडफाँटको बेलादेखि नै थापाले आफूलाई 'तपाईं मन्त्री बन्दै हुनुहुन्छ' भनेको र रकम पनि त्यही उपक्रममा मागिएको उनले खुलाएका छन् । 

“किन माग्नुभयो, थाहा भएन । मलाई चाहिँ तपाईं दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ । तपाईं रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो । तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयोग चाहिन्छ भनेर उहाँले माग्नुभयो,” श्रेष्ठले भने ।

मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे दुई करोडमा डिल भएको उनको भनाइ छ ।

मोहनजंग थापाले पैसा मागिसकेपछि नै आफू पैसा जुटाउनतिर लागेको उनले स्वीकार गरेका छन् ।

उनले भने, “त्यसपछि म त एक किसिमले मन्त्री बन्ने भएँ भन्ने सोच भयो । ४०–५० लाख मसँग थियो र अरू थप मलाई चाहियो ।”

रवि लामिछानेको 'कोर टिम' भनेर सार्वजनिक गरिएको अडियोमध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए ।

"घण्टाघण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो, खै चेक ल्याइदेको, नभए तपाईंको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो भने," श्रेष्ठको भनाइ छ । 

सामाखुसीभित्रको कफी सपमा थापासँग भेट भएको उनले खुलाएका छन् । उनका अनुसार त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै श्रेष्ठले रकमको 'डिल' गरेका थिए । 

आफूलाई मात्र कारबाही भएकाले अरूको प्रमाण पनि सार्वजनिक गरिदिने उनले चेतावनी दिएका छन् । 

“म सँग प्रमाण छ, केही समयमा निकाल्छु,” उनले भने ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro