तिज नजिक आइसकेको छ । माइतीघरको कुरा उठ्दा यो तिजकै बारेमा होला भन्ने ठान्नु होला । त्यसो होइन ।
यो कुरो हो – बबरमहल बस बिसौनीदेखि पश्चिम पर्ने माइतीघर बस बिसौनीको ।
तपाईँले भोग्नु भएको छ कि छैन त थाहा भएन, तर मैले धेरैचोटि माइतीघरको दुःख बेहोरेको छु । सार्वजनिक यातायातमा यात्रा गर्ने मजस्ता धेरैजसोले त्यो दुःख भोगेका होलान् । भोगेकै छन् ।
अधिकांशको दैनिकी हुन्छ, घरदेखि कार्यालय भ्याउनु । बिहान ८÷९ बजेतिरको बस चढ्नु र कार्यालय पुग्नु धेरैको नित्य कर्म नै हो ।
तिनैमा पर्छन् मजस्ता अनगिन्ती यात्रु, जसले प्रायः माइतीघरको दुःख भोग्दै आएका छन् । गाडीले छोला कि ? मोटरसाइकलले छोला कि ? भन्ने त्रास बोकेर गाडीबाट ओर्लिँदै तीन–चार मिनेट पैदल हिँड्नु नियति नै भइसकेको छ ।
काठमाडौं जिल्ला अदालतको पारितिर रोकिएको बस बबरमहलमा रोकिन्छ । त्यहाँदेखि अलिकति अगाडि गुडेर रोकिएको बसबाट यात्रुहरू भटाभट ओर्लिएर माइतीघरतिर लम्किन्छन् ।
त्यसरी लम्किनेमा युवा हुन्छन्, प्रौढ हुन्छन्, अनि वृद्ध पनि हुन्छन् ।
माइतीघर बस बिसौनीमा गाडी रोक्न पाइन्छ । बिसौनी भएकाले त्यहाँ यात्रुहरू ओर्लिनु पनि स्वाभाविकै हो । तथापि, बिहान कार्यालय समयमा माइतीघरमा ओर्लिने यात्रुले निकै उतै ओर्लिनुपर्छ र पेटी नै नभएको सडकको किनारकिनार ज्यान धरापमा राखेर हिँड्नुपर्छ ।
पहिलेपहिले माइतीघरमै बस रोकिन्थ्यो । बसबाट ओर्लिएर जता लाग्नुपर्ने हो, त्यतै लागिन्थ्यो । अहिले माइतीघरमा ओर्लिने यात्रुले त्यो सुविधा पाउन सकिरहेका छैनन् । ती झन् असुविधामा परेका छन् ।
एकपटक होइन, दुईपटक होइन, दिनहुँजसो यो पङ्तिकार घरी सडकमा अनि घरी सानो नालामा टेक्दै बाटो छिचोलेर माइतीघर पुग्छ ।
एक दिन परै ओर्लिन मन लागेन । त्यसैले ‘माइतीघर चोकमा रोक्दैन ?’ भनेर सोधेको खलासी महोदयले तत्कालै खरो जवाफ फर्काए— जाममै ओर्लिनुस् । नभए पारि सिंहदरबार पुग्नु होला ! बीचमा रोक्दैन ।’
उता चालक महोदय कुर्लिए— ‘झार्दे... झार्दे । जाममा बस्नुभन्दा हिँडेरै छिटो पुगिन्छ ।’
थापाथली पुग्नुपर्ने म सर्वोच्च अगाडि किन पुग्ने ? नओर्ली धरै पाइएन । अरू पनि ओर्लिन थाले ।
बसबाट ओर्लिएर सबै एक लहरमा देब्रे कुना च्यापेर हिँड्न थाले । देब्रे च्याप्दा पनि सकस थियो । सडकको पहेँलो धर्को लगत्तै पानी बग्ने सानो नाला छ । त्यहाँ पैदल यात्रु हिँड्नका लागि पेटी बनाइएको छैन ।
भनेपछि, त्यहाँ यात्रु रोक्न पाइँदैन भन्ने नै हो । नियम त यात्रुलाई चोकमै ओराल्नु पर्ने होला !
तर, चोकमा ओर्लिन कोही पाउँदैनन् । चोक नपुग्दै यात्रुलाई बसबाट ओराल्न बसका ड्राइभर खलासी उद्यत रहन्छन् । तिनका खरा खप्की खानुभन्दा परै ओर्लेर गोडा तन्काउनु बेस लाग्छ हामीजस्ता यात्रुलाई ।
माइतीघरमा सधैँ एउटा न एउटा वा कहिले एकभन्दा धेरै रडाको भइरहन्छ । कहिले कुन समूहको त कहिले कुन । त्यो भिडभाड र त्यसले गर्ने जाम र चालकदलको खप्कीले गर्दा माइतीघरको साँघुरो सडकमा पैदल हिँड्न बाध्य छन् सर्वसाधारण पैदल यात्रु ।
त्यो बाटोमा कतिको खुट्टो मर्किएको होला, कतिका जुत्ता चिप्लिए होलान् ?
गएको साता मेरो पनि खुट्टो झन्डै मर्किएको ! सम्हालिएँ र देब्रेतिरको भित्तो समाएँ । अनि बिस्तारैबिस्तारै अगाडि बढेँ । ड्राइभर खलासीलाई मनमनै गाली बक्नुबाहेक अरू के नै गर्न सक्थेँ र मैले !
केही दिनअघि म चढेको गाडीले बबरमहलबाट सोझै नलगी दाहिनेतिरको सडक लेन समायो । अर्थात् गाडी मूल सडकमै हुइँकियो ।
बसले माइतीघर चोक नजिकै पुर्याउला भन्ने सोचेँ । तर त्यसो भएन । बस त अलिकति अगाडि पुगेर रोकियो । रोकिनासाथ खलासीले ढोका खोले र यात्रु ओराल्न थाले ।
रोकिएका अरू गाडी र आफूसँगै अरू यात्रु पनि ओर्लिएको देखेपछि ओर्लिनै पर्यो । यहाँ झन् गाह्रो भयो हिँड्न ।
पैदल यात्रुले जहिल्यै सडक पेटीबाट हिँड्नु पर्छ भन्ने सुनेका, जानेबुझेका हामी आफैँ सडकमै हिँडिरहेका थियौँ । माइतीघर पुग्न अर्को विकल्प पनि त थिएन ।
हामी हिँडिरहँदा छेउमा रोकिएका गाडी चालकहरूले हामीलाई गाली गरे होलान् । त्यसैले कतै नहेरी हिँड्नुबाहेक अरू उपाय थिएन ।
अर्थात्, हरेक दिन माइतीघर आइपुग्नलाग्दा ज्यानमा सकस सुरु हुन्छ । ‘बाटो कसरी छिचोल्ने होला ?’ यही पिरलोले रिँगाइरहन्छ ।
हामी पैदल हिँड्ने त्यो कुनोतिर त नीला बर्दीधारी ट्राफिक प्रहरी पनि देखिन्नन् । तिनलाई देखे कम्तीमा सडकमै ओर्लिनुपर्ने थिएन कि ? बाटो हिँड्दा यही सोचिन्छ । हामीले सोच्ने मात्रै त हो !
सरोकारवालाको ध्यान यता किन नगएको होला ? यतातिर पनि ध्यान जानु पर्ने होइन र ? माइतीघरले पैदल यात्रुलाई यस्तै दुःख दिइरहने हो भने त्यसको विकल्प खोजिनु पर्दैन ?
मलाई छोएको यस विषयले अरूलाई के छोला र ?