काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध तत्काल नहट्ने संकेत गरेका छन् ।
धुलिखेलमा संसद्–सञ्चार सम्बन्ध विषयक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले आफूले सभामुखको हैसियतमा सत्ता पक्ष र प्रतिपक्षी दलबीच छलफल र सहमतिका लागि सहजीकरण गरे पनि सफल हुन नसकिरहेको बताए ।
उनले भने, "संसद् अवरोध नहोस् भन्ने हो । मैले मात्र सक्ने अवस्था छैन । दलहरूबीच छलफल चलिरहेको छ ।"
सुन तस्करीको प्रकरणलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलको आफ्नै अडानका बीच संसद् खुल्न नसकेको संकेत गरे । भने, "सभामुखको लिमिटेसन हुन्छ । अहिलेको इश्यू सुन आउने कुरामा उच्चस्तरीय समिति बनाउने नबनाउने भन्नेमा छ ।"
सरकार र प्रतिपक्षको कारणबाट अहिले सदन रोकिएको उनले बताए । "यो बीचमा आठवटा बैठक भए । त्यसमा पाँच बैठक कार्यसूचीमा लग्न नसकेर रोकियो, तीनवटा बैठक कार्यसूचीमा नगइ कार्यव्यवस्था परामर्श समिति र सचेतकसँग छलफल गरेर बैठक सूचना टाँस गरेर रोकियो," उनले भने ।
सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बसेर संवाद भइरहेको छ । आजमात्र प्रधानमन्त्रीसँग २० मिनेट बसेर कुराकानी भएको उनले बताए ।