site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
'६ लाख ऋणको २१ लाख लिए, तर मिटरब्याजीले चेक बाउन्समा फसाइदिए'
Sarbottam CementSarbottam Cement

पोखरा । पोखरा–२७ की सीता दर्जीले घरखर्च तथा सरसापटका लागि भन्दै २०७४ सालमा ६ लाख रुपैयाँ ऋण लिइन् । नगद ६ लाख लिएकी दर्जीले त्यसको तीनगुणा बढी रकम तिरिसकिन् । तर, त्यतिले पुगेन । मिटरब्याजीले उनीविरुद्ध चेक बाउन्सको अर्को मुद्दा दायर गरे । २०७४ मा घरखर्च चलाउन लिएको ऋणकै कारण दर्जी अहिले पछिल्लो डेढ महिनायता कास्की कारागारमा छिन् ।

तीनगुणा रकम तिरिसकेपछि दर्जीले आफूले ऋण लिएको तमसुक माग्न नगएकी पनि होइनन् । तर, मिटरब्याजीले ‘अहिले कता परेन, केही फरक पर्दैन, ढुक्क भएर जानुहोस्’ भनेर फिर्ता पठाइदिए ।

ढुक्क भएर फर्केकी दर्जी हिरासतमा पुगेपछि अहिले उनकी छोरी दिप्सा दर्जी आमाको न्यायको खोजीमा छिन् ।
आफ्नी आमालाई फसाइएको भन्दै उनले सबैभन्दा पहिले संयुक्त दलित संघर्ष समिति कास्कीमा निवेदन दिइन् । समितिमा निवेदन आइसकेपछि समस्या समाधानको पहल नगर्न खोजेको पनि होइन । तर, जसले सीतालाई ऋण दिएका थिए, उनी सम्पर्कमा आउनै चाहेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सीतालाई ६ वर्षअघि छ लाख ऋण दिने व्यक्ति थिए, स्याङ्जनाको गल्याङ नगरपालिका ७ घर भई पोखरा–११ फूलबारी बस्ने कमल थापा । थापा पोखरा–११ मा नै रहेको पिनाकल एकेडेमीका प्रिन्सिपलसमेत हुन् ।

“ममी डेढ महिना भइसक्यो जेलमा बसेको, त्यही भएर म सहयोग माग्न आएकी छु,” आइतबार पत्रकार सम्मेलनमा दिप्साले भनिन् ।

Global Ime bank

आइतबार संयुक्त दलित संघर्ष समितिले सीताका लागि न्याय माग्दै थापालाई कारबाही गर्न माग गरेको छ । झुटा मुद्दा लगाएर फसाएकाले थापालाई पक्राउ गर्नुपर्ने उनीहरूको माग छ ।

समितिका संयोजक दामबहादुर बिकले जारी गरेको विज्ञप्तिमा सीताले पटकपटक गरी २१ लाख १० हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा समितिले निवेदक पक्षसँग जोडिएका सीता दर्जी, गीता सापकोटा, सीताका श्रीमान् दिनेश दर्जी र घर परिवार, स्थानीय एवं निवेदकले औँल्याएका कमल थापासँग पटकपटक छलफल गर्दै घटनाको वास्तविकता र तथ्य लिन संवाद, परामर्श गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “असार ४ गतेदेखि साउन ७ गतेसम्म दुवै पक्षलाई पटकपटक बसाई सँगै प्रमाण खोजी कार्य अगाडि बढायौँ । घटना आर्थिक सरसापटी, घरखर्चीको सन्दर्भमा सीता दर्जीले कमल थापासँग २०७४ मा ६ लाख) नगदमा ऋण सापटी लिएको, त्यस रकमलाई १० लाख सीता दर्जी, केही समय पछि सोही रकमलाई गीता सापकोटा (सीता दर्जीको बहिनी स्याङ्जा निवासी) लाई १० लाख र फेरि सोही रकमलाई आधार मानी सीता दर्जीको श्रीमान् दिनेश दर्जीलाई बलपूर्वक गुन्डा र गाडी प्रयोग गरी धम्क्याउदै १७ लाखको जाली तमसुक बनाउन सफल भएको देखिन्छ ।”

उनका अनुसार थप तमसुक बनाइसकेपछि सोही बराबरको रकम थापाले लिन खोजेको र नपाएपछि चेक बाउन्सको मुद्दा लगाएका हुन् ।

बिकले भनेका छन्, “सीता दर्जीले ६ लाखको ब्याजस्वरूप २०७६ मंसिरसम्म २१ भुक्तान गरेको चेक, एटीएम कार्ड र नगद साक्षी राखेर दिएको देखिन्छ ।”

उनका अनुसार थापाले सीताबाट विभिन्न समयमा एनआईसी एसिया बैंकका दुईवटा र एसबीआई बैंकका दुईवटा चेक हात पारे । सोही चेकलाई हतियार बनाएर मुद्दा दायर गरी फसाइएको दाबी पीडित पक्षको छ ।

छोरी दिप्साका अनुसार २१ लाख १० लाख रुपैयाँ लिइसकेपछि सीताले थप रकम दिन नसक्ने बताइन् ।

“ममीले अब रकम दिन सक्दिनँ भन्नुभयो । तर उहाँ (कमल थापा) ले घरमा नै आउने, धम्की दिने, गाली बेइज्जती गर्ने, दिनभर घरमा नै आएर बस्ने गर्थे । घरमा भएको एकदुई हजार पनि लिएर जान्थे । ममी र हाम्रो परिवारमाथि मानसिक तनाव दिने काम उनले गरे,” उनले भनिन् ।

उनका अनुसार घरमा आएर टर्चर दिन थालेपछि थापालाई सीताका श्रीमान् दिनेशले तिर्नुपर्ने पैसाको जिम्मेवारी आफूले लिने बताएका थिए ।

छोरी दिप्सा भन्छिन्, “बुवाले कागज गर्छु भनेपछि थापाले चारपाँच जना केटाहरू लिएर आए र बुवालाई गाडीमा राखेर लिएर गए । पछि जबर्जस्ती १७ लाखको कागजमा हस्ताक्षर गराए छन् ।”

दिनेश अहिले भारत छन् ।

संघर्ष समितिले यस घटनामा सीतालाई प्रस्टसँग फसाइएको दाबी गरेको छ । समितिले वार्ताका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाउँदा पनि थापा नआउने र टार्ने गरेको बताएको छ । 

“पटक–पटक छलफलमा बोलाउँदा छोरा बिरामी, आफैँ बिरामी भएको र भाउजू साइनोको निधन भएको भन्दै तोकिएको म्याद गुजार्ने र छलफलमा बस्न नखोज्ने प्रवृत्तिले गलत मनसाय र कुनियत राखी आर्थिक शोषण गरेको प्रमाणित हुन्छ । आज जेलमा रहेकी सिता दर्जीका वृद्ध ससुरा सासु, दुई छोरीहरू मानसिक यातना भोग्न बाध्य छन्,” विज्ञप्तिमा भनिएको छ ।

६ लाखको ऋणलाई १० लाखको तमसुक बनाइएको, स्थानीय सकारबाट लिखत प्रमाणित नगरेको, लिएको २१ लाख १० हजारलाई स्वीकार नगरी १७ लाखको चेक बाउन्स गर्नुले नै मिटरब्याजमा फसाइएको प्रमाणित हुने समितिको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement