site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतसमक्ष यस्तो छ सचिव पाण्डेको बयान
फाइल तस्बिर ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टेकनारायण पाण्डेले आफूमाथि लगाइएको अभियोगमा अदालतसमक्ष इन्कारी बयान दिएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा नेपाल सरकारका सचिव पाण्डेसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दिएको बयानमा उनले नेपालीलाई शरणार्थी बनाई विदेश पठाउने भन्दै कोही व्यक्तिबाट पैसा असुल नगरेको जिकिर गरेका छन् ।

Dabur Nepal
NIC Asia

भुटानी शरणार्थीसम्बन्धी समस्यालाई निरूपण गर्ने सरकारको कार्यलाई निरन्तरतासम्म दिइएको उनले बयानका क्रममा बताएका छन् ।

पाण्डेले उल्टै नक्कली भुटानी शरणार्थीपीडितलाई उजुरी दिएर आफ्नो रकम असुल्न सुझाव दिएको पनि बताएका छन् ।

अदालतमा बयानका क्रममा पाण्डेलाई यो प्रकरणमा पीडित भनिएका गजेन्द्र बुढाथोकीलगायत व्यक्तिसँग चिनजान भए/नभएको प्रश्न गरिएको थियो । उक्त प्रश्नमा पाण्डेले बुढाथोकी मन्त्रालयमा भुटानी शरणार्थीका विषयमा बुझ्न आएको र आफूसँग पैसा लिई ठगी गरेको भनेको बताएका छन् ।

त्यसपछि आफूले मन्त्रालयबाट त्यस्तो कुनै कार्य नभएको र यदि कसैले ठगी गरेको भए उजुरी गर्न सुझाव दिएको पाण्डेले बयानका क्रममा बताएका छन् ।

“तपाईंले अरूलाई दिएको पैसा फिर्ता लिन सक्नेसँग फिर्ता गर्नु र फिर्ता हुन सक्ने अवस्था छैन भने जाहेरी दिनु भनेर मैले भनेको हुँ,” पाण्डेले बयानका क्रममा भनेका छन् ।

पाण्डेलाई गरिएको सवाल– जाहेरवाला गजेन्द्र बुढाथोकी समेत विभिन्न जाहेरवालाहरूले तपाईं समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भन्ने जाहेरी दरखास्तहरू छन्, सो सम्बन्धमा तपार्इंलाई थाहा छ ? को–को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरेअनुसारको कसुर गर्नुभएको हो ? खुलाइदिनुहोस् ।

पाण्डेको जवाफ– गजेन्द्र बुढाथोकी मन्त्रालयमा शरणार्थी विषयमा बुझ्न आएका थिए । उनी आफू समेत भएर व्यक्तिहरूसँग पैसा उठाएका रहेछन् । भुटानी शरणार्थी तेस्रो देश स्थानान्तरण हुने काम मन्त्रालयबाट हुँदैन, तपाईं आफूले लिएको पैसा फिर्ता गर्न सक्ने भए फिर्ता गर्नु, तपाईंले अरूलाई दिएको पैसा फिर्ता लिन सक्नेसँग फिर्ता गर्नु र फिर्ता हुन सक्ने अवस्था छैन भने जाहेरी दिनु भनेर मैले भनेको हुँ । त्यसपछि जाहेरी दिएका हुन् । अरू जाहेरीकर्तासँग मेरो कुनै सम्पर्क छैन । भुटानी शरणार्थीका नाममा विदेश पठाएर ठगी गर्ने कार्यमा मेरो कुनै संलग्नता छैन । यस सम्बन्धमा मैले कुनै कसुर गरेको छैन । अरू को कसको के कस्तो संलग्नता छ, सो सम्बन्धमा समेत मलाई कुनै जानकारी छैन ।

पाण्डेले गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउनका लागि आफूले लगेको बताएका छन् । मन्त्रिपरिषद्बाट तत्काल स्वीकृत गराउन गृह मन्त्रालयबाट लगिएको प्रतिवेदनको जानकारी तल्लो तहका कर्मचारीलाई दिन आवश्यक नभएको उनले बयानमा उल्लेख गरेका छन् ।

यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीबाट प्राप्त ‘नोट’का विषयमा पाण्डेलाई प्रश्न गरिएको थियो । उक्त नोट आफूलाई पक्राउ गरिने भएपछि हतासमा आफ्नो डायरीमा लेखेको र त्यो ट्याक्सीमा छुटेको उनले बताएका छन् ।

ट्याक्सीमा छुटेको डायरी कसरी केसीसम्म पुग्यो भन्ने जानकारी नभएको उनले बताएका छन् । डायरीमा केसीको फोन नम्बर भएकाले उनीसम्म पुगेको हुन सक्ने उनले अनुमान गरेका छन् ।

पाण्डेलाई गरिएको सवाल– प्रतिवादी नरेन्द्र केसीको साथबाट बरामद भएको तपाईंको हस्तलिखित भनी मिसिलसाथ पेस भएको कागज देखाइन्छ, सो सम्बन्धमा तपाईंको भनाई के छ ? खुलाइदिनुहोस् ।

पाण्डेको जवाफ– प्रतिवादी नरेन्द्र केसीको साथबाट बरामद भएको र मिसिलसाथ पेस भएको भनिएको कागज देखाउँदा देखेँ । मिति २०८०।०१।१९ का दिन मलाई पक्राउ पुँर्जी जारी हुँदै छ भन्ने जानकारी अनौपचारिक रूपमा पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ । उक्त राति म बस्न घरबाहिर गएँ । बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएछ । सो नोटबुक नरेन्द्र केसीसमक्ष कसरी पुग्यो, मलाई थाहा भएन । सायद नोटबुकमा नरेन्द्र केसीको फोन नम्बर भएर ट्याक्सी ड्राइभरले छोडेको हो कि थाहा भएन । उक्त सन्देश पक्राउ पर्ने सूचना भएपछि मानसिक दबाबमा लेखेको हो, पठाउने प्रयोजनले लेखेको होइन । उक्त लेखाइबाट अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने मेरो कुनै मनसाय होइन ।

पाण्डेले हिरासतबाटै नरेन्द्र केसीमार्फत पूर्वगृहमन्त्री खाँणलाई लेखेको कागज फेलापरेको थियो । त्यो कागजमा बयान दिइसकेका अभियुक्तको बयान परिवर्तन गराउन मद्दत गर्न माग गरिएको उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गराएको अभियोगपत्रमा ‘प्रतिवादी नरेन्द्र केसी र बालकृष्ण खाँणबाट ‘नरेन्द्रजी, ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ’ भनी लेखिएको कागज बरामद भएको’ उल्लेख छ । उक्त कागजमा पाण्डेले आफैँले लेखेको भनी अदालतमा स्वीकार गरेका छन् ।

यस्तै, ‘दुलाल (केशवप्रसाद दुलाल)को पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउन पर्‍यो । नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ, अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुनै कुराकानी नै भएको छैन, एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनुपर्छ । पार्टीभित्र र विशेषतः आफ्नै गुटका नेताहरू मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरिरहेका छन्’ भन्ने समेतको व्यहोराको कागजमा रहेको अभियोगपत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro