
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म चार खर्ब ११ अर्ब २७ करोड बराबरको कृषि कर्जा प्रवाह भएको छ ।
आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७९/८० अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा प्रवाह गरेको कुल कर्जामध्ये सबैभन्दा बढी कृषि तथा कृषिजन्य सेवामा ३८ प्रतिशत कर्जा प्रवाह भएको हो ।
त्यस्तै, पशुपालन र पशुपालनसम्बन्धी सेवामा ३७.२ प्रतिशत, खेतीपातीसम्बन्धी सेवामा २१.९ प्रतिशत र अन्यमा २.१ प्रतिशत कर्जा प्रवाह भएको सर्वेक्षणमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाबाहेक साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबाट हुम्लाबाहेकका ७६ जिल्लामा साना एक हजार ३३७ कृषि सहकारी संस्थालाई कृषि कर्जा प्रवाह हुँदै आएको बताइएको छ ।
फागुन मसान्तसम्म साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट कृषि सहकारी संस्थामार्फत लगानीमा रहेको कृषि कर्जा ३२ अर्ब आठ करोड रहेको पनि उल्लेख छ ।