
विराटनगर । कोसी प्रदेशसभावरिपरिको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले विराटनगरका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेसँगै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
कोसी प्रदेशको बजेट अधिवेशन (भोलि) आइतबारदेखि सुरु हुँदै छ । अधिवेशन आह्वान गरिएसँगै कोसी प्रदेश नामकरण खारेजीको माग गर्दै आएका पहिचानवादीले संघर्षका कार्यक्रम घोषणा गरेका थिए । उनीहरूको कार्यक्रमलाई मध्यनजर गरी विराटनगरमा सुरक्षाकर्मीको निगरानी बढाइएको हो ।
कोसी प्रदेशसभाअगाडिको सडकमा शनिबार मध्याह्नदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । त्यहाँ अस्पताल चोकदेखि देवकोटा चोकसम्मको सडकमा आउजाउ बन्द गरिएको छ । सुरक्षाकर्मीले बेरियर खडा गरी सर्वसाधारण र सवारीसाधान आवतजावतमा रोक लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले कोसी प्रदेशसभा क्षेत्र, मुख्यमन्त्रीको कार्यालय रहेको रोडशेष चोक र मुख्यमन्त्रीको निवासपरिपरिको क्षेत्रलाई शनिबारदेखि अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले ती क्षेत्रमा प्रदर्शनलगायत कार्यक्रम गर्न रोक लगाएको छ ।