प्राकृतिक स्रोतलाई राज्यको सम्पन्नतासँग जोडेर हेरिन्छ । स्रोत पदार्थहरूको उपस्थितिसँग सम्बन्धित हुन्छ ।
पदार्थहरू नै प्राकृतिक स्रोतका मापक हुन् । पदार्थ समस्त वस्तु हुन् जसबाछ ब्रह्माण्ड बनेको छ । त्यही पदार्थ आज मानव जीवनको सहारा हुन पुगेका छन् । पदार्थलाई पहिचान गर्दा भूमिमा सतहमा देखिने र सतहभित्र यिनको कति उपस्थिति छ भन्ने जानकारी लिनु महत्त्वपूर्ण हुन्छ । सतहबाहिर रहेका पदार्थ नाङ्गो आँखाबाट पनि देखिने भए पनि सतहभित्र रहेका पदार्थको (खनिज सम्पदाको) रहस्य नेपालको लागि अझै अनुसन्धानकै विषय छ ।
खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये महत्त्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, फलाम, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरु, सिसा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनेर चिनिन्छ । संसार आज नयाँनयाँ प्रविधिको विकास गरी उपभोगको बाटोमा छ । प्राकृतिकरूपमा उत्खनन भएका पदार्थलाई मात्र उपभोग गर्दा नपुगेर कृत्रिम रूपमा पनि प्रयोगशालामा पदार्थ उत्पादन गरी मानव जीवन सहज बनाउन अनुसन्धानकर्ता लागिपरेका छन् ।
बीसौं शताब्दीलाई सिलिकन सेमिकन्डटर युगको रुपमा चिनिन्छ भने अब आउने शताब्दीलाई कार्बन शताब्दीको युगमा बनाउन विश्व वैज्ञानिक समुदाय अघि बढेको छ । तर ती अप्राकृतिक तरिकाबाट प्रयोगशालामा उत्पादित कार्बन वस्तुहरू (जस्तै, कार्बन न्यानो ट्युब, ग्राफिन, आदिको) उपयोगिताको नतिजा अझै आउन बाँकी छ । त्यसको नतिजा अझ सकारात्मक भए सिलिकन सेमिकन्डटरको ठाउँमा कार्बन प्रविधि भित्रिनेछ। यस्तो भए हामीले अहिले प्रयोग गरिराखेको इलेक्ट्रिक प्रविधिमा ठूलो परिवर्तन आउनेछ ।
आज विश्वका देशहरू कि स्रोतको परिचालनबाट धनी भएका छन् कि प्रविधिको विकास गरी त्यसलाई स्रोतमा रूपान्तरण गरेर । प्रशस्त स्रोत हूँदाहुँदै पनि सदुपयोग गर्न नसकी द्वन्द्वमा फसेका राष्ट्रको स्रोतलाई प्रविधियुक्त राष्ट्रहरूले कौडीको भाउमा उपभोग पनि गरिराखेका छन् । आज उपलब्ध स्रोत पहिचान गरी अधिकतम उपयोग गर्ने सोचबाट विश्व समुदाय अघि बढेको छ ।
खनिज र अन्य पदार्थका दृष्ट्रिबाट नेपाल धनी राष्ट्रमै पर्छ । नेपालको संविधान, २०७२ अनुसार अब यस्ता खनिज पदार्थ प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र आउने भएकाले स्थानीय सरकारहरूले पनि उचित नीति अवलम्बन गर्नुपर्छ । पछिल्लो समय सरकारले खनिजको उत्खनन र प्रशोधनका लागि नयाँ योजना अघि सारे पनि कार्यान्वयन भइसकेको छैन ।
नेपालमा खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउन विसं २०२४ मा भौगर्भिक विभागको स्थापना गरिएको थियो। त्यसले नेपालमा पाइने खनिजबारे संक्षिप्तमा जानकारी बाहिर ल्याएको छ । फलामलाई नेपालमा सबैभन्दा बढी मात्रामा पाइने खनिज पदार्थको रूपमा चित्रण गरिएको छ जुन कृषि, पूर्वाधार विकासका क्षेत्रमा बढी खपत हुन्छ । त्यसैगरी चुनढुङ्गा नेपालमा पाइने वस्तुहरूमध्ये तुलनात्मकरूपमा सर्वसुलभ छ । हाल सिमेन्ट उद्योगमा उपयोग भइआएको छ । पेट्रोलियम पदार्थ पनि नेपालमा पाइने विभिन्न अध्ययनले देखाएको छ । यसका लागि सरकारले आवश्यक अन्वेषणको प्रक्रिया अगाडि बढाइएको छ । यी बाहेक नेपालको तराईको भूभाग, मुस्ताङ क्षेत्र र काठमाडौं उपत्यकामा ग्याँस पाइने अनुमान पनि गरिएको छ । नेपालका विभिन्न क्षेत्रमा पाइने हल्ला गरिएको युरेनियम उत्खनन गरेर विक्री वा प्रशोधन गर्न सकिन्छ कि सकिँदैन त्यो भोलिका दिनमा अनुसन्धानले देखाउला । आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनियमलाई "रणनीतिक खनिज" भनिन्छ ।
खानी तथा भूगर्भ विभागबाट प्राप्त जानकारीअनुसार नेपालमा पाइने खनिज उत्खननका लागि स्वदेशीदेखि विदेशी कम्पनीसमेत आकर्षित भइरहेका छन् । हालसम्म तीन सयभन्दा बढी कम्पनीले खनिज उत्खननको अनुमति लिएको तथ्यांक छ । उत्खनन अनुमति लिएका कम्पनीले के कस्तो काम गरिरहेका छन्? त्यहाँबाट उत्पादित खनिजहरूको विक्रीवितरण वा व्यवस्थापन कसरी गरिरहिएको छ भन्ने अनुगमन हुनुपर्छ । नत्र यहाँका खनिज पदार्थको सदुपयोगभन्दा बढी दुरुपयोग हुन सक्छ।
यति हुँदाहुँदै पनि पदार्थगत दृष्टिकोणबाट रणनीतिक महत्त्व भएका र भविष्यमा हुनसक्ने पदार्थहरू जस्तै लिथियम, कोबाल्ट, निकल, इत्यादिको सम्बन्धित निकायबाट अध्ययन अनुसन्धान हुनु जरुरी छ । प्रविधिको विकासले गर्दा मोटर-गाडी पनि इलेट्रिक युगमा जाँदै छन् । त्यो बेलाम्मा ब्याट्रीको लागि यी पदार्थ आवश्यक पर्ने भएकोले आज यिनको माग उच्च छ । हिजो ससाना मोबाइलमा खपत हुने ब्याट्रीमा प्रयोग गर्दा त ती पदार्थको माग उच्च थियो भने गाडीको इलेक्ट्रिक युगमा रूपान्तरण भएका अवस्थामा माग कति होला ?
यी महत्त्वपूर्ण पदार्थबाहेक अरू मूल्यवान वस्तु पनि चन्द्रमाको सतहमा रहेको अनुमान गरी त्यहाँबाट पृथ्वीमा झार्न शक्तिराष्ट्रहरू स्पेस इलिभेटरको अवधारणालाई मूर्तरूप दिन खोज्दै छन् । रुस युक्रेन युद्ध सुरु भएपछि विश्वभर खनिज तेल र ग्यास विवादको विषय बनेको छ । भविष्यमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा निकलजन्य खनिजका लागि पनि हुनसक्ने देखिन्छ । रुस युक्रेन युद्ध सुरु भएपछि निकलजस्ता धातुको मूल्य आकासिँदै गएको छ ।
युक्रेनमाथिको आक्रमण रोक्न अमेरिका र उसका सहयोगी देशहरुले क्रेम्लिनमाथि कडा प्रतिबन्ध लगाए पनि युरोप रुससँग तेल र ग्यास किन्न बाध्य हुनुले खनिज सम्पदाको महत्त्व कति छ भन्ने बुझ्न सकिन्छ । नेपालमा पानी पनि रणनीतिक महत्त्वको प्राकृतिक स्रोत हो र भविष्यमा यसको महत्त्वअझ बढ्न सक्छ । हिजोको दिनमा पानी पिउन, सिँचाई गर्न, सरसफाइ र ऊर्जाको निम्ति मात्र प्रयोगमा थियो भने अब इन्धनको रूपमा प्रयोग हुने दिन त्यति टाढा छैन । प्रविधिले पानीमा रहेको हाइड्रोजन र अक्सिजनलाई टुक्य्राई हाइड्रोजनमा रूपान्तरण गरेर गाडी चल्ने दिन आउँदैछ । त्यतिबेला हाम्रो पानीको उपयोगिता अझ बढ्नेछ । किनभने समुन्द्रको पानीमा हेभी मेटल तथा अरु वस्तुहरुको मिश्रण हुने भएकोले उक्त प्रविधिलाई प्रयोग गर्दा व्यावहारिक समस्या आउन सक्छ।
पहाडका डाँडाकाँडा विकासका बाधकजस्तो लाग्थ्यो । तर यिनै डाँडाले नै भविष्यमा हामीलाई धनी बनाउन सक्ने आधार पनि छ । अबको विकास निर्माणमा नदीजन्य पदार्थले मात्र निर्माण सामग्रीको माग थेग्न सक्दैन। यसको लागि भर डाँडाको नै हो । वातावरणीय असन्तुलनले गर्दा हिमालको हिउँ पग्लने र समुद्रको सतह बढ्ने क्रम जारी छ । यसले केही दशकपछि विश्वका केही प्रमुख सहरको अस्तित्व नै संकटमा पर्नेवाला छ । त्यसैले समुद्री तटमा नयाँ विकास निर्माण गर्दा जमिनकोसतहभन्दा माथि उकासी निर्माण गर्न थालिएको छ । ठाउँ हुनेले नयाँ ठाउँमा सहर बसाल्न सक्लान् तर यो पनि खर्चिलो हुन्छ । ठाउँ नहुनेले त समुद्री तटबन्ध बनाउन वा कृत्रिम टापु बनाउनु पर्नेछ । यसको लागि ढुंगा, माटो जस्ता सामग्रीको अत्यधिक आवश्यकता हुन्छ ।
स्वदेश बाहिर रहँदा लामो समय विभिन्न मुलुकको उपनिवेश भएको एउटा राष्ट्रको सङ्ग्रहालय घुमेको थिएँ । यो पहाडमा थियो र सुन खानीसँग सम्बन्धित थियो। पहाडलाई सुरुङको स्वरुपमा छियाछिया बनाई त्यो राष्ट्रको दोहोन गरेको देख्दा हामी नेपाली धेरै नै भाग्यमानी हो कि जस्तो लाग्यो । जे भए पनि नेपाल कसैको उपनिवेश त भएन । हाम्रा ठूलाठूला पहाडमा के ढुंगा माटोमात्र होला र ?
पहाडमा सुहाउँदो फलफुल र अन्य बालीको विकास तथा उत्खनन भए यिनै डाँडा मूल्यवान हुनेछन् । हामीले सतहमा भएको स्रोतमात्र राम्रोसँग परिचालन गर्न सकेको भए आज नेपालको उपस्थिति नै अर्कै भइसक्थ्यो। कृत्रिम र सतहभित्रका स्रोतको उपयोग हुनसक्ने आधार पनि भविष्यमा बन्दै गर्ला । अहिले हामीले हाम्रो खनिज वस्तुको सही पहिचान गर्नु आवश्यक छ । तर, चन्द्रधरातलका वस्तुको उपयोग हाम्रो लागि हाललाई टाढाको विषय हो । जेभए पनि नेपालमा स्रोतको सम्भावना भएकोले र यो रणनीतिक महत्त्वको ठाउँमा भएकोले स्थिति बसाल्न र व्यवस्थापन गर्न सकेनौ भने हामी पनि लामो द्वन्द्वमा फस्न सक्छौँ । स्वार्थको टक्करले भविष्यमा शक्तिराष्ट्रको प्रतिस्पर्धा नेपालमा पनि हुनसक्छ । युक्रेनमा भएको लडाइँ देखिरहेका छौँ । ताइवानलाई लिएर अमेरिका र चीनको टकराव पनि देखिरहेका छौँ । ताइवानलाई यी दुवै शक्तिले किन महत्त्व दिन्छन त ? किनभने, आजको दिनसम्म आइपुग्दा विश्वलाई चाहिने सेमिकन्डटरजन्य सामग्री चिप्सहरूको आधाजस्तो हिस्सा ताइवानले बनाउँदै आएको छ । त्यसैले शक्तिराष्ट्रको प्रतिस्पर्धाको स्वार्थ यहाँ पनि लुकेको छ ।
आजभोली, कुनै एक क्षेत्रमा पाइने खनिजको राष्ट्रव्यापी र विश्वव्यापी महत्त्व र उपयोग हुनसक्ने भएकाले संघीय सरकारले राष्ट्रिय खनिज उपयोग नीति बनाएर सोहीअनुसार प्रादेशिक सरकारले व्यवस्थापनको नीति लिई वातावरणीय समस्या र नयाँ पदार्थको पहिचान गर्न सक्नुपर्छ । हैनभने भोलि गएर समस्या उत्पन्न हुन सक्छ । हामीकोमा खानी उत्खननमा विगतदेखि नै सरकारी निकायबीचमै समन्वयको अभाव छ । यो समस्या अब प्रादेशिक तथा स्थानीय तहसम्म विस्तार नहोस् । स्थानीय सरकारको आय विस्तारमा पनि उपलब्ध खनिजले काम गर्न सकोस् । अन्त्यमा, प्राकृतिक स्रोतको सही उपयोग र पहिचान नेपाललाई सम्पन्नतातिर अगाडि बढाउने आधार बन्न सकोस् ।
( न्यानो म्याटरियल्स हाइब्रिड प्रविधि विकाससम्बन्धी अनुसन्धानमा संग्लग्न ।)