काठमाडौं । हामी पूर्वका केही सुन्दै आएका र केही नसुनिएका पर्यटकीय गन्तव्यको यात्रा गर्दै छौँ । बारा, धरान, धनकुटा, भेडेटार र तीनजुरेसम्मको यात्रामा जाँदै छौँ ।
धरान, धनकुटा र भेडेटारका बारेमा त धेरै मानिसले सुनेकै हुन्छन् । तर, बारा जिल्लाको पर्यटन र तीनजुरेका बारेमा कमैले सुनेको पाइन्छ ।
काठमाडौं छोडेर हाम्रो यात्रा अघि बढ्छ । खाजा खाँदै विस्तारै उपत्यकाबाट ओरालो लागेपछि हामी केही बेरमा नौबिसे पुग्छौँ ।
हाम्रो पहिलो गन्तव्य बारा जिल्लाको मैनाली फार्म हाउस जानका लागि हामीले दामनको बाटो रोज्यौँ । कहिलेकाहीँ फरक बाटो भएर यात्रा गर्दा फरक कुराहरू हाम्रो आँखा अगाडि देखा पर्दछन् । यो बाटो यात्रा गर्दा हामीले पहिले कहिल्यै नदेखेको काउली र आलुको मूर्ति देख्न पायौँ ।
बाटो सानो भएता पनि निकै सजिलो थियो । हामी त्यो घुमौरो बाटो हुँदै हेटौँडातर्फ अघि बढ्यौँ । दामनको बाटो साँच्चै नै सुन्दर थियो । सहरमा बस्ने हाम्रा लागि हरिया रुखहरूले घेरेको बाटो त्यसै पनि सुन्दर नै हुने गर्छ । दामनको बाटो आफैँमा एउटा एउटा सुन्दर गन्तव्यजस्तो लाग्दै थियो हामीलाई । दामनको त्यो हरियालीमा केही बेर यात्रा गरेपछि हामी हेटौँडा सहरसम्म पुग्यौँ ।
हुस्सुले डम्म ढाकेको जमिन, त्यहाँमाथि भर्खर सूर्यले लाली रङ पोतेको सुन्दर आकाश । खेतैभरि फैलिएका तोरी, कैयौँ खाली समतल खेतहरू अनि खेतको बीचबाट बगेका साना खोलाहरू एकाबिहानै हामीलाई बारा चिनाउन तम्सिएका थिए । बाराको बिहानीले हामीलाई गरेको स्वागत हाम्रो मन छुन सफल भएको थियो ।
मैनाली फार्म हाउसमा एकाबिहानैदेखि चहलपहल सुरु भइसकेको थियो । आमाले दिनको सुरुवात पूजाआजाबाट सुरु गर्नु हुनेरहेछ । पूजा सकेर आमा बारीमा फलेका तरकारी टिप्न जानु हुनेरहेछ । एकाबिहानै त्यो दृश्य देख्दा हामीले बुझिसकेका थियौँ कि हाम्रा लागि यहाँ सबै थोक अर्ग्यानिक पाक्नेवाला छ ।
हाम्रै अगाडि बारीबाट ताजा आलु टिपियो । त्यसलाई पखालियो अनि हेर्दाहेर्दै त्यो पाकेर हाम्रा अगाडि आइ पनि पुग्यो । बारीदेखि पेटसम्मको तरकारीको अर्ग्यानिक यात्रा हाम्रा लागि अनौठो थियो । त्यसको हामीले भरपुर आनन्द उठायौँ ।
चिसो मौसममा न्यानो घाम ताप्दै बाराको जमिनमा बसेर अर्ग्यानिक ब्रेकफास्ट खानु हामी सबैका लागि नौलो अनुभव थियो ।
मैनाली फार्म हाउसमा ब्रेकफास्ट गरेर हामी नेपालकै सबैभन्दा ठूलो चारकोसे झाडी हेर्न र जमिनबाट उम्रिएको पाताल गंगा नामक नदीमा रिभर वाक गर्न भनेर निस्कियौँ ।
चारकोसे झाडी, नाम त सुन्दै आएका थियौँ । तर, त्यहाँभित्र हिँड्दा कस्तो अनुभव हुन्छ भन्ने कुरामा हामी बेखबर थियौँ । बारा आएर त्यो सम्भव भएको थियो । घुँडाघुँडासम्म आउने चिसो पानीमा रिभर वाक गर्दा हामीले पूरै शरीर ताजा भएको अनुभव गरिरहेका थियौँ ।
क्याम्पिङका सबै सामान मिलाउँदामिलाउँदै साझ पर्ने छाँटकाँट देखियो । काम सकेर हामीले दूधको मिठो चिया पकाएर खायौँ । हाम्रो अगाडि डुब्दै गरेको सूर्य थियो । छेउमा बग्दै गरेको सानो खोला थियो अनि वारिपारि आँखाले भ्याउन्जेलसम्म देखिने समतल फाँट थियो । चिया खाएर गफ गर्दागर्दै कति बेला रात पर्यो, हामीले थाहै पाएनौँ । रात परेपछि चिसो छल्न आगोको छेउमा भेला भयौँ । केही बेर गीत गाउने, मादल बजाउने सिलसिला चल्यो ।
बिहानै मधुरो सूर्यको किरणमा छेउको खोलाबाट निस्किएका बाफ तँछाड–मछाड गर्दै आकाशतर्फ उड्दै थिए । बिहान हुने एउटा बेग्लै किसिमको शान्ति थियो त्यस खोला किनारमा । विस्तारै सूर्य उदाउँदै आयो र हिजो राति अन्धकारले निलेको धर्ती हाम्रो अघि फेरि देखापर्यो । सम्झनाहरूको किताबमा एउटा सुन्दर बिहान सम्झना बनेर कहिले नमेटिने गरी छापियो ।
दुइटा कायाक र केही थान टयुब लिएर हामी जामुनी खोलामा पौड्न थाल्यौँ । न्यानो घाम लागेको बेला चिसो पानीमा त्यसरी पौड्न पाउँदा हामी हर्षले भरिएका थियौँ । बारा घुम्न आउँदा गर्नुपर्ने कुराहरूमा कायाक एउटा छुटाउनै नहुने कुरा रहेछ ।
कायाकले हामीलाई बाराको पानी अनि खोला वरिपरिको धर्तीसँग चिनजान गराएको थियो । त्यसैले कायाकिङ बारा चिन्ने एउटा राम्रो माध्यम हुनसक्छ भन्ने हामीले अनुभव गरेका छौँ । हामीले एक छिन टायरमा सुतेर पौडी खेल्यौँ । साथीलाई ट्युबबाट लडाएर मज्जा लियौँ । कायाक चलाउने असफल प्रयास गर्यौँ र जामुनी खोलाको भरपुर फाइदा उठाएर तराईको समतल भूभागमा साइकल दौडाउन थाल्यौँ ।
साइकल दौडाएर विश्राम गर्ने बेलामा साँझ परिसकेको थियो । आकाशमा अस्ताउँदै गरेको सूर्य हिजोको झैँ सुन्दर देखिएको थियो । त्यही सुन्दरतालाई अझै सुन्दर बनाउन हामी खेतमा गुन्द्री ओछ्याएर गफिन थाल्यौँ ।
घर छोडेर कतै धेरै दिनका लागि निस्कनुपर्दा मनमा एक किसिमको नरमाइलो अनुभव हुने गर्छ । मौनाली फार्म हाउसबाट निस्कँदा त्यस दिन हामीलाई कता–कता नरमाइलो लागिरहेको थियो ।
बर्दिबासमा खाना खाएर हामी लाग्यौँ धरानसम्मको यात्रामा । धरानको आफ्नै एउटा बेग्लै सुन्दरता छ । हामी त्यही सुन्दरतालाई नजिकबाट नियाल्न धरानतर्फ अघि बढिरहेका थियौँ ।
हाम्रो टिम धरान पुग्दा साँझ परिसकेको थियो । होटेल पुगेर आफ्ना सामान राखेर हामी धरान बजार हेर्नका लागि निस्कियौँ । आदिकवि भानुभक्तको सालिक अनि घण्टाघर रातको अन्धकारमा पनि सहर जागा भएकाले प्रस्ट देखिएका थिए ।
अर्को दिन बिहानै हामी धरान यात्रामा निस्कियौँ । धरान सुनसरी जिल्लामा पर्दछ र यहाँ घुम्नका लागि प्रख्यात कैयौँ ठाँउ छन्, जसमा बूढासुब्बा मन्दिर, गोर्खा मेमोरियल पार्क, पिण्डेश्वरी मन्दिर, धरानको घण्टाघर आदि पर्दछन् ।
बूढासुब्बा मन्दिर टुप्पो नभएको बाँस पाइने एक प्रख्यात धार्मिकस्थल हो । बूढासुब्बा र उनकी बहिनी यस ठाउँमा खेल्न आउँदा बूढासुब्बाले सबै बाँसको टुप्पा गुलेलीले हानेर भाँचेका र त्यसपछि ती टुप्पा फेरि नउम्रेका भन्ने जनविश्वास रहेछ ।
बूढासुब्बा मन्दिरको दर्शन गरेपछि हामी नजिकैको दन्तकाली मन्दिरतर्फ लाग्यौँ । सतीदेवीको दाँत खसेको भनिने ठाउँमा स्थापना भएकाले यस मन्दिरको नाम दन्तकाली मन्दिर रहनगएको कुरा हामीले त्यहाँ पुगेर थाहा पायौँ । हिन्दु धर्मावलम्बीका लागि यो एक पुण्य भूमिका रूपमा परिचित छ । पिण्डेश्वर मन्दिर धरानको अर्को महत्त्वपूर्ण धार्मिकस्थल हो ।
धरानको प्रख्यात आलु निम्की खाएर हामीले केही बेर बीपी कोइराला इन्टिच्युट अफ हेल्थ साइन्समा बितायौँ र साँझ परेपछि हामी पुग्यौँ धरानको बगरकोटमा ।
भेडेटार पूर्वको धनकुटा जिल्लामा रहेको एउटा प्रख्यात पर्यटकीय गन्तव्य हो । एक छिनमै खुलेर खफा हुने र एकै छिनमा हुस्सेले ढाकिएर धुम्म हुने भेडेटारको मौसम अनि खुलेका बेला यहाँबाट देखिने केही सेताम्मे हिमाल हेर्ने लोभले यहाँ मानिस राम्रै संख्यामा आवतजावत गर्दा रहेछन् ।
बिहानै उठेर केही बेर भेडेटारमा बिताएपछि हामी निस्कियौँ तेह्रथुम जिल्लामा पर्ने तीनजुरेतर्फ । तीनजुरे यात्राको दौरान बाटोमा हामीले लेउती पुल पार गर्यौँ र यात्राकै क्रममा थुक्पा खानका लागि केही बेर रोकियौँ । विस्तारै यात्रा गर्दा पनि हिले पुग्न हामीलाई धेरै समय लागेन ।
खान खाइसकेर गुराँसको मूर्तिलाई पछि छोड्दै हामी फेरि तीनजुरेतर्फ अघि बढ्यौँ । केही बेर अघि बढेपछि कच्ची बाटो सुरु भयो । थोरै समयको यात्रापछि हामी तीनजुरे पुग्दै थियौँ । त्यसैले मनमा त्यो ठाउँ कस्तो होला भन्ने कौतूहल भइरहेको थियो ।
तीनजुरे, मिल्के र जलजले लालीगुराँस पदमार्गका नामले प्रख्यात छ । यो पदमार्गको सुरुवातस्थल तीनजुरे हो । यस पदमार्गमा यात्रा गर्दा करिब ३० प्रजातिका लालीगुराँस देख्न पाइन्छ । साथै, एकैपल्ट तीन जिल्ला तेह्रथुम, संखुवासभा र ताप्लेजुङको भ्रमण पनि गर्न पाइन्छ । यस पदमार्ग भएर यात्रा गर्दा मनमोहक सूर्योदय र सूर्यास्त देख्न पाउनुका साथै मकालु र सगरमाथाजस्ता हिमालको दृश्यावलोकन पनि गर्न पाइन्छ ।
तीनजुरे भ्यु प्वाइन्ट पुग्दा घाम मधुरो हुँदै थियो । तर, त्यहाँको सुन्दरता भने झन् चकिलो भएर हामीमाझ उभिएको थियो ।
पूर्वको सुन्दरताले हामीलाई जितेको थियो । बाराको मैनाली फार्म हाउस, धरान बजार, त्यहाँका मठमन्दिर, धनकुटा, भेडेटार र तीनजुरे सबै एउटा मिठो अनुभव बनेर आए हाम्रा अघि । साँच्चै भाग्यमानी छौँ हामी, जो यस्तो देशमा जन्मियौँ, जहाँ सुन्दरता पाइलैपिच्छे हामीलाई स्वागत गर्दछन् ।
(लेखक विजय लुइँटेलसहित हेमन्त भण्डारी, सोनाम छिरिङ पाख्रिन, अमिर श्रेष्ठ, प्रेम पौडेल र प्रशन्न कुँवरको टिमको यात्रा वर्णन ।)