
नेपालमा वर्सेनि कम्तिमा ५० हजार जना आगोले जलेर घाइते हुन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै आगोले पोलेका र त्यसपछि अन्य तापयुक्त वस्तुले पोलेर घाइते हुने गरेका छन् । यीमध्ये कति घाइतेको मृत्यु हुन्छ ? यकिन तथ्यांक छैन । कीर्तिपुर अस्पतालमा मात्रै दैनिक २३–४२ जना जलेका बिरामी आउने गरेको तथ्यांक छ । जसमा १९–४० वर्ष सम्मका व्यक्ति आगोले पोल्ने गरेको र ५–१० वर्षका अन्य तापयुक्त वस्तुले जलेर घाइते हुने गरेको अस्पतालको तथ्यांक छ । नेपालमा जलेर घाइते हुने बिरामीको उपचार र सावधानीका उपायबारे कीर्तिपुर अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईसँग बाह्रखरी सम्वाददाता अस्मिता रिजालले गरेको कुराकानी (भिडियोसहित) :
० ० ०
आगोले जलेका बिरामीको प्राथमिक उपचार के हो ?
आगो होस् अथवा कुनै पनि तापयुक्त पदार्थले पोलेको भागबाट मानिसको शरीरलाई चाहिने तरल पदार्थ नास हुँदै जान्छ । जसकारण छालाको बाहिरी तह हुँदै भित्रसम्मको भाग सुख्खा हुनपुग्छ र बिरामी जटिल अवस्थामा पुग्नसक्छ । त्यसैले पोलेपछि एक घण्टासम्म जलेको भागमा पानीले भिजाइरहनुपर्छ र प्राथमिक उपचार केन्द्रसम्म नपुर्याउन्जेल बढीभन्दा बढी जीवनजल पानी खुवाउनुपर्छ । यसरी जलेका बिरामीका लागि निःशुल्क टोल फ्रि नम्बर १६६००१५१००० को व्यवस्था गरिएको छ । यो नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका उपायहरु अपनाउन सकिन्छ ।
आगोले पोलेका बिरामीलाई बचाउन कतिको सहज छ ?
मानिसको शरीरको २० प्रतिशत भाग जल्नुलाई मेजर बर्न भनिन्छ । यो जलनले नै शरीरका अन्य अंगहरुलाई असर गर्न थाल्छ । रोग प्रतिरोधी क्षमता नास हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य भागबाट छाला लिएर पुर्न कठिन हुन्छ । छाला निकाल्न मिल्ने अंगहरु जलेमा घाइते निको हुने सम्भावना कम हुँदै जान्छ । शरीरको आधा भाग जलेमा घाइतेलाई बचाउनै कठिन हुन्छ । जलेका अधिकांस बिरामीको मृत्यु छालामा हुने संक्रमणका कारण हुन्छ । किनकी गहिरो पोलेका बिरामीको भित्रसम्मको छाला शल्यक्रिया गरेर दुई हप्ताभित्र नयाँ छाला राख्नुपर्ने हुन्छ । सामान्य डे«सिङ गरेका बिरामीको दुई हप्तासम्म नयाँ छाला राखिसक्नुपर्ने हुन्छ । अन्यथा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । ३० प्रतिशतभन्दा बढी शरीर जलेका अधिकांस बिरामी नयाँ छाला नपाएर नै संक्रमणका कारण मृत्यु हुने गरेको छ ।
नेपालमा जलेका बिरामीलाई उपचार गर्ने पद्धति के छ ?
नेपालमा छाला बैंक र छालादानको अवधारणा अघि सारिए पनि सात वर्षमा २८ जनाले मात्रै दान गरेका छन् । बाहिरी देशमा छालाको कल्चर, बनावटी छाला प्रत्यारोपण गर्ने अभ्यास छ । जुन नेपालजस्तो मुलुकका लागि आर्थिक रुपमा सम्भव छैन । सिल्भर ड्रेसिङ, जसले चारदिनसम्म जलेको भागलाई सुरक्षित राख्नसक्छ यो पनि महंगो उपचार पद्धति हो । त्यसैले अहिलेसम्म घाइते स्वयं र परिवारका सदसय या आफन्तबाट छाला प्रत्यारोपण गर्नु नै नेपालको प्रमुख उपचार पद्धति हो ।
मानिसको शरीरको कुन–कुन भागको छाला प्रत्यारोपण गर्न मिल्छ ?
वयस्क मानिसको तीघ्राको चार भागको तीनभाग छाला निकालेर बिरामीलाई दिन मिल्छ । नेपालमा जलेका बालबालिकामा यो विधी प्रभावकारी भएको पाइएको छ । बिरामी स्वयं तथा परिवार अथवा आफन्तले दान गरेको भागबाट पातलो छाला निकालेर जलेको ठाउँमा प्रत्यारोपण गर्न सकिन्छ । नयाँ निकालिएको छालामा प्वाल पारेर तन्काइन्छ र जलेको भागमा प्रत्यारोपण गरिन्छ । यसरी निकालिएको ठाउँमा दुई हप्तापछि नयाँ छाला बन्छ र त्यसलाई पनि फेरि घाउमा प्रत्यारोपण गर्न सकिन्छ । संक्रमण हुन नदिनका लागि दुई हप्तासम्म मृत व्यक्तिको छाला पनि प्रयोग गर्न सकिन्छ ।
परिवारका अन्य सदस्यको छाला पनि जलेका व्यक्तिलाई दिन मिल्छ ?
बिरामीका परिवारका अन्य सदस्य वा आफन्तको छाला जाँच गरेर बिरामीलाई दिन सकन्छि । छाला दाताको पनि शल्यक्रिया गरेर नै निकाल्नुपर्ने हुन्छ । यसरी शल्यक्रिया गर्दा अत्यधीक सक्तस्राव हुने घाउमा संक्रमण हुनसक्ने, रगतका नसाहरु बन्द हुनसक्ने जस्ता समस्या दातालाई देखिनसक्छ । यसका अलावा बिरामीको छालामा रोग प्रतिरोधी क्षमता बनिसकेपछि दोस्रो व्यक्तिको छालालाई बिरामीको शरीरले चिन्दछ र रिजेक्ट गर्न थाल्छ । त्यसैले पनि बिरामीकै अन्य भागबाट निकाल्नु सबैभन्दा उपयुक्त विधी हो ।
नेपालमा जलेका बिरामीको मृत्युदर कम गर्न के गर्नुपर्छ ?
जलेका अधिकांस बिरामीको मृत्यु प्राथमिक उपचार नपाएरै हुने गरेको लामो अनुभवले देखाएको छ । सुरुमा प्राथमिक उपचार पद्धती अपनाउनु जरुरी हुन्छ । जसमा बढीभन्दा बढी पानी दिनु नै मुख्य एवम् महत्त्वपूर्ण उपचार हो । बिरामीको पिसाब सफा नहुन्जेलसम्म प्रशस्त पानी खुवाउन या नसाबाट दिन सकेमा धेरै बिरामीलाई बचाउन सकिन्छ । त्यस्तै टाढाबाट बिरामी अस्पतालसम्म आइपुग्दासम्मको अवधिमा हुने संक्रमणले पनि धेरैको ज्यान गएको छ त्यसैले पनि कमसेकम एक पालिकामा एउटा बर्न सेन्टर स्थापना गरिनु जरुरी छ, जहाँ जलेका बिरामीको प्राथमिक उपचार होस् । यो पाटोमा सरकारले ध्यान दिने हो अहिले मृत्यु भइरहेका आधाभन्दा बढी बिरामीलाई बचाउन सकिन्छ ।