वाग्मती सफाइ सामाजिक अभियान हो । यसको कुनै कार्यालय छैन । स्वयंसेवीहरूले यसलाई सञ्चालन गर्दैआएका छन् ।
मानिसहरु नदीलाई देशको नसा भन्छन् । वाग्मती काठमाडौंजस्तो ऐतिहासिक सहर भएको उपत्यकाको मध्यभागबाट बग्छ । त्यसैले सहरको सौन्दर्य र सफाइ कायम राख्न वाग्मती पनि सफा हुनु आवश्यक हुन्छ ।
विश्वका धेरै ठूला सहरको बीच भागबाट बग्ने नदीकै कारण धेरै सहर आकर्षक भएका छन् । नदी हेर्न र तिनमा सयर गर्नकै लागि लाखौंको संख्यामा पर्यटक पुग्ने गर्छन् । तर, यहाँ भने त्यसको उल्टो भएको छ । काठमाडौंजस्तो सांस्कृतिक रुपले धनी सहरको यो दुर्दशा देख्दा कस्को मन रमाउला र ?
त्यसैले भएर नै यो नदी सरसफाइ अभियान सुरु भएजस्तो लाग्छ । म आफैँ पनि यस अभियानको सुरुदेखि संलग्न थिएँ । मजस्तै यस अभियानमा अहिलेसम्म लाखौं मानिस संलग्न भइसकेका छन् । तीमध्ये कतिले बीचमा नै अभियान छाडे त कति अहिले पनि वाग्मती सफा बनाउने संकल्प लिएर अगाडि बढिरहेका छन् ।
काठमाडौंको मुख्य नसाको रुपमा रहेको वाग्मती सफा गर्न नसके यो इतिहास बोकेको रमणीय सहर पनि सफा हुँदैन । त्यसैले यस अभियानमा सबै जना सम्भव भएसम्म जोडिनु आवश्यक छ ।
यो हाम्रो मन मस्तिष्क, घरपरिवार, समाज र राष्ट्र नै सफा बनाउने महाभियान पनि हो । यसको लागि हामी हामी सातामा एक दिन त्यो पनि दुई घन्टा नदी किनारमा पुगेर त्यहाँ भएका फोहोर आफ्नै हातले सफा गर्नुपर्छ ।
सरसफाइ अभियान ७ वर्ष पूरा हुँदैगर्दा यसमा कति जना उपस्थित भए ? कति फोहोर निस्कियोे र कति क्षेत्रमा निरन्तर सफाइसहित जनचेतना अभिवृद्धि भयो भन्ने भने कुनै लेखाजोखा छैन । अभियान ४०० औं शंखलामा प्रवेश गर्दासम्म के कस्ता समस्या र परिस्थिति आए त्यो पनि वाग्मतीबाट निस्किएको फोहोरको थुप्रोभन्दा कम छैन ।
वाग्मती नदी सफा गर्नु आफ्नो मन सफा गर्नुजस्तै हो । त्यही भएर नै त बिना लोभ अभियन्ताहरु निरन्तर अगाडि बढेका छन् । अभियन्ताको एउटा ध्येय नदी सफा गर्ने र त्यसलाई नुहाउन लायक बनाउने हो ।
यस क्रममा सफाइ अभियानमा अनुहारै नदेखाएका व्यक्तिहरूले यही नाममा राज्यको लाखौं रुपियाँ दोहन गरे । यस्तो देखेर नमीठो पनि लाग्छ तर यस्ता नकारात्मक विषयमा ध्यान दिएर किन चित्त दुखाउनु ? सफाइका नाममा कसैले सरकारी सम्पत्ति दुरुपयोग गरेको छ अब सम्बन्धित निकायको पनि बुझ्ने बेला आएको छ । यद्यपि, यस्ता कुरा वाग्मती सफाइ महाअभियानका अगाडि गौण हुन् । सबैभन्दा मुख्य त बग्मती सफा हुनुपर्छ ।