
काठमाडौं । यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान २०७६ गायिका देवीका बन्दना तथा २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ ।
यसै अवसरमा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत हुने भएका छन् । आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्ती मार्फत उक्त कुरा जनाएका हुन् ।
११औं ईएनआई छायाँछवि डिसिने अवार्ड ०७६का अवसरमा ४ चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । कार्यक्रम भोली काठमाडौंमा आयोजना हुँदैछ ।
छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड –०७६का पुरस्कृत नीर शाहले दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । उनले अभिनयसँगै बसन्ती, राजमति, सेतोबाध जस्ता चलचित्र निर्देशन पनि गरेका छन् ।
गायिका देवीका बन्दनाले चलचित्रका सयौं गीत गाएकी छन् । पाश्र्व गायनमा उनका दर्जनौं गीत हिट छन् ।
यस्तै छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ (पुरुष)बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत निर्देशक हुन् । 'राजकुमार' चलचित्रबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले २९ चलचित्रको निर्देशन गरिसकेका छन् ।