काठमाडौं । नूर–गंगा प्रतिभा पुरस्कार गुठीले नूर–गंगा राष्ट्रिय बाल साहित्य पुरस्कार बाल साहित्यकार विनयकुमार कसजूलाई प्रदान गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका प्रमुख अतिथि शताब्दी वाङमय पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकार कसजूलाई रु. १ लाख रुपैयाँ राशीसहितको उक्त पुरस्कार प्रदान गरे ।
सोही अवसरमा नूर–गंगा प्रतिभा पुरस्कार गुठीले एक सय वर्ष प्रवेशकोे अवसरमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ ।
उक्त अवसरमा लुम्बिनी अंचलस्तरीयरुपमा स्थापित लोकगायन पुरस्कार तेजबहादुर केसी (नवलपरासी), राष्ट्रिय लोकगायन नवप्रतिभा पुरस्कार निरु श्रीष (बाग्लुङ) तथा लुम्बिनी अंचलस्तरीय साहित्य नवप्रतिभा पुरस्कार अस्मित रेग्मी (रुपन्देही) लाई प्रदान गरियो । उक्त पुरस्कारहरूको राशी क्रमशः रु. ३० हजार, २५ हजार र २० हजार रहेको नूर गंगा प्रतिभा पुरस्कार गुठीद्वारा प्रेशित विज्ञप्तीमा जनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले गुठीका संस्थापक स्व.गंगा राणा र स्व. नूरप्रताप जबराको योगदानको स्मरण गरे । गुठीका अध्यक्ष प्राडा चुडामणि बन्धुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा. राजेन्द्र सुवेदी, प्राडा भवेश्वर पंगेनी, गुठीका संरक्षक अमिरप्रताप जबरा तथा यादव भट्टराईले बोलेका थिए ।
वि.सं.२०४९ सालमा लोकगायिका गंगा राणा र साहित्य, संस्कृति, संगीत र कलाका मर्मज्ञ नूरप्रताप जबराद्वारा विभिन्न विधाका प्रतिभाहरूलाई सम्मानित र पुरस्कृत गर्ने तथा विविध विधाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यका साथ नूर गंगा प्रतिभा पुरस्कार गुठीको स्थापना भएको गुठीद्वारा प्रेशित विज्ञप्तीमा उल्लेख छ ।