
काठमाडौं । आज मे–१ अर्थात् विश्व मजदुर दिवस । मजदुरको न्याय, सम्मान र स्वतन्त्रतका लागि विश्वभरका मजदुर एक हौं भन्ने उद्देश्यले यो दिवस मनाइरहँदा कति श्रमिकलाई यसबारे पत्तै हुँदैन । तर उनीहरुकै नाममा कती सेमिनार र गोष्ठी भइरहेका हुन्छन् । जसबारे दिवस मनाइन्छ अधिकांश उनीहरुलाई नै थाहा हुँदैन र जसले जसका लागि सेमिनार र गोष्ठी गर्दै हिँड्छन् उनीहरु मजदुरसम्म पुग्दैनन् भन्ने आरोप लाग्दै आएको छ । भलै न मजदुर दिवस मनाउन छोडियो, न मजदुरको न्यायका क्षेत्रमा उलेख्य काम नै भए ।
यसै सेरोफेरोमा मजदुरको गीत मजदुर दिवसको अघिल्लो दिन हिजो (बुधबार) सार्वजनिक भयो । मजदुर दिवसको सन्दर्भ पारेर गायक हेमन्त शर्माले युट्युब च्यानलमार्फत् गीत ‘स्वतन्त्र’ सार्वजनिक गरे । गीतले स्वतन्त्रतामै खुसी रहेको सन्देश दिएको छ । आम नागरिकलाई छक्का पञ्जा, दाउपेच र राजनीतिभन्दा पनि पर बसेर स्वतन्त्रपूर्वक काम गर्ने मजदुर खुसी रहेको शर्माले गीतमा उल्लेख गरे–
गिट्टी कुट्छु मकै भुट्छु जे कमाउँछु रमाउँछु
खेती गर्छु, ड्राइभरी गर्छु, राति मस्त निदाउँछु
ठूलावडा पुज्दिनँ राजनीति बुझ्दिनँ,
देश अनि जनताभन्दा कोईलाई ठूलो मान्दिनँ,
आफ्नै मर्जिको मालिक मेरो मनले भन्छ...
म स्वतन्त्र हुँ स्वतन्त्र
गीतमा हेमन्तले अन्याय, अत्याचार र थिचोमिचो सह्य नहुने उल्लेख गर्दै सहयोगी भावनाका नेपाली आवश्यकता परेको अवस्थामा प्रतिकार गर्न तयार रहेको उल्लेख गरेका छन्–
बिराउँदिनँ डराउँदिनँ थिचोमिचो सहदिनँ
आफ्नो ठाउँमा सबै ठूलो कहीँकतै झुक्दिनँ
सके सबैलाई सघाउँछु कसैलाई बिगार्दिनँ
आइलाग्नेलाई जाइलाग्न कहिल्यै पछि हििट्दनँ
गोर्खाली रगतले सधैं यही भन्छ...
म स्वतन्त्र हुँ स्वतन्त्र
पौरखी र जुझारु नेपाली पनको कुरा गरेका हेमन्त देशका लागि नेपाली आपनो शीर चढाउन पनि तयार रहेको आफ्नो गीतमा उल्लेख गर्छन्–
बर्कतले भ्याए सम्म यो देशलाई सघाउँछु
खाँचो परे देशलाई मेरो शिरै पनि चढाउनेछु
हात कतै छोड्दिनँ हेपाइ पेल्साइ सहदिनँ
प्राण गए जाओस् बरु पारा आफ्नो छाड्दिनँ
पंक्षी झैं आकाशमा उड्दै यो मन भन्छ...
म स्वतन्त्र हुँ स्वतन्त्र
अक्सर माया प्रेमका गीत गाउने गायकको छबी बनाएका शर्माले यो पटक माया प्रेमबाट अलग भएर मजदुरको गीत लेखे, कम्पोज गरे र स्वर पनि भरे । हत्या हुन्छ मान्छे विरोध गर्नै छाडे, कुनै व्यक्ति ठूलो भ्रष्टाचारमा मुछिन्छ विरोधीले मात्रै विरोध गर्छ, बाँकी मौन बस्छन् । विद्यार्थी संगठन दलको भातृ संठन । आफ्नै आँखाले देखेको खराव कुरालाई पनि व्यक्ति किन विरोध गर्न सक्तैन ? यो प्रश्नले शर्मालाई लखेटिरह्यो । निर्मला पन्त हत्या काण्डमा विपक्षीले मात्रै विरोध गर्यो सत्तासीन दलका नेता तथा कार्यकर्ता किन विरोधमा उत्रिन सकेनन् ?
हेमन्तलाई लाग्यो, यहाँ चाहेर पनि कोही बोल्न सक्तैन । बोल्न स्वतन्त्र छैन । आँखामा पट्टी बाँधेर बस्नु पर्ने अवस्था छ । त्यसैले उनले करिब डेढ वर्ष अगाडिदेखि लेख्न थाले सामाजिक, आर्थिक, राजनीतिक बेथितीको गीत । केर्दै मेट्दै केर्दै मेट्दै थुप्रै पाना च्याते उनले । डेढ वर्ष पछि गीत तयार भयो । रेकर्ड गरे । सयभन्दा धेरै एफएम रेडियोलाई ईमेल गरे ।
ठूला वडा पुज्दिनँ राजनीति बुझ्दिनँ,
देश अनि जनताभन्दा कोईलाई ठूलो मान्दिनँ,
आफ्नै मर्जिको मालिक मेरो मनले भन्छ...
म स्वतन्त्र हुँ स्वतन्त्र
यो अन्तराको देश अनि जनताभन्दा कोईलाई ठूलो मान्दिनँमा जनताको ठाउँमा पार्टी शब्द थियो । जनवादी गायक जीवन शर्माले हेमन्तलाई भने, “भाइ मैले पार्टी, बुर्जुवन भनेर कति गीत लेखेँ, तिमी सक्छौ भने यो शब्द नराख ।”
हेमन्तलाई चित्त बुझ्यो । जनताभन्दा माथि को हुन सक्छ र ? उनले रिलिज गर्ने अघिल्लो दिन बीबी अनुरागीको स्टुडियोमा आएर पार्टीका ठाउँमा जनता बनाएर रि–कर्ड गराए ।
“डा. गोविन्द केसीले आम नागरिकका मुद्दाका लागि ज्यानको बाजी थापेर अनसन बस्दा किन सत्तारुढ दलका नेता र उनीहरुका विद्यार्थी संगठन केसीको पक्षमा बोलेनन् । यसको अर्थ हामी कसै न कसैको दास छौं भन्ने नै हो,” शर्मा भन्छन्, “त्यसैले मैले गिट्टी कुटेर, मकै पालेर जिविका चलाउने मान्छे जति स्वतन्त्र छ, खुसी छ त्यती राजनीतिज्ञ, ब्यापारी पनि खुसी छैनन् । कुनै न कुनै रुपमा दास छ । त्यसैले आफ्नो इमानमा बाच्न, खुसी भएर स्वतन्त्र भएर बाँच्नु पर्छ भनेर मजदुरको गीत गाएको हुँ ।”