
काठमाडौं । अध्यागमन विभागले अब पर्यटन भिसा (भिजिट भिसा)मा विदेश जाने नेपाली कसैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागनमा नरोक्ने निर्णय गरेको छ ।
एजेन्टहरूले सेटिङमा ‘भिजिट भिसा’मा धेरै नेपालीलाई विदेश पठाउने गरेको बाहिरिएपछि अध्यागमन विभागले यस्तो निर्णय गरेको हो । विभागले आइतबार एक सूचना प्रकाशित गरी भिजिट भिसामा विदेश जानेलाई अब अध्यागमनमा नरोक्ने निर्णय भएको जानकारी दिएको हो ।
अनुमान, शंका र भौतिक हैसियतको तजबिजी मूल्यांकनको आधारमा आफ्नै नागरिकहरूलाई विभेदपूर्ण व्यवहार गर्नुहुँदैन भन्ने कुरामा प्रष्ट रहेको अध्यागमन विभागले जनाएको छ ।
“सोही अनुरुप अध्यागमन प्रशासनले अब उप्रान्त पर्यटकीय प्रकृतिका भिसामा जाने कुनै पनि नेपाली नागरिकलाई कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने विषय र तथ्यगत रूपमा थप छानबिन गर्नुपर्ने सूचना वा जानकारीबिना निजको हैसियत जाँच गरी प्रस्थानमा रोक नलगाउने निर्णय गरेको छ,” अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ ।
केही महिनाअघि अध्यागमनका कर्मचारीसँगको मिलेमतोमा एजेन्टहरूले नेपालीहरूलाई सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउने गरेको कुरा बाहिरिएको थियो । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनको राजीनामा र उच्चस्तरीय तथा संसदीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा विरोध गर्दै आएका छन् ।
सरकारले यस सम्बन्धमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति पनि गठन गरेको छ, जसले हाल छानबिन गरिरहेका छ ।
यसैबीच गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले आइतबार एक सूचना प्रकाशित गरी अब भिजिट भिसामा विदेश जानेलाई नरोक्ने निर्णय भएको जनाएको हो ।
आइतबार जारी सूचनामा विभागले कानुनले तोकेका वैध राहदानी र भिसा, दुईतर्फी हवाई टिकट, होटेल बुकिङ वा आफन्तसँग बस्ने भएमा सोको प्रमाण, तोकिएबमोजिमको डलर सटही र आवश्यकताअनुसार स्वःघोषणा लगायतका वैध कागजात लिएर सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।
“अध्यागमन प्रक्रियामा सुरक्षा, अपराध अनुसन्धान र मानव बेचविखन लगायतका विषयमा विस्तृत अनुसन्धान हुने भएकाले विभिन्न उद्देश्यले वैदेशिक यात्रामा प्रस्थान अनुमति लिन अध्यागमन अधिकृतसमक्ष प्रस्तुत हुँदा कुनै नक्कली वा फर्जी कागजात प्रयोग नगर्नुहुन सम्बन्धित सबै नागरिक तथा यात्रुहरूलाई हार्दिक अनुरोध गरिन्छ,” विभागले भनेको छ ।
यस्ता कार्यमा संलग्न भएका व्यक्तिहरूलाई प्रस्थान अनुमति नदिने मात्र नभई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीलाई बुझाइने विभागले जनाएको छ ।