
काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, जनगलमा बनाउन लागिएको अत्याधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपाः’को दोस्रो ‘फेज’ निर्माणको बोलपत्र आह्वान गरेको छ । आइतबार (साउन १८) एक सूचना प्रकाशन गरी बोर्डले इच्छुक निर्माण कम्पनीलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
परियोजनामा सहभागी हुन चाहने कम्पनीले ३६ लाखको बोलपत्र सुरक्षा रकम र १० हजार रुपैयाँको दस्ताबेज शुल्क बुझाउनुपर्नेछ ।
यसअघि, ०८१ माघ २७ गते बोर्डले पहिलो टेन्डर आह्वान गरेको थियो । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपाः’ नेपालको हालसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ । सरकारी स्वामित्वमा यस्तो स्टुडियो पहिलोपटक बनाउन लागिएको हो ।
४२ रोपनी क्षेत्रफलमा निर्माण गरिने उक्त स्टुडियोमा स्वदेशी चलचित्र निर्मातालाई प्रविधियुक्त, गुणस्तरीय र लागतमैत्री छायांकनस्थल उपलब्ध गराइनेछ । वर्षौंदेखि योजनास्तरमा रहेको यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरेको हो ।
०८२ वैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित विशेष कार्यक्रममा ‘सिनेपाः’ स्टुडियो निर्माण आरम्भको औपचारिक घोषणा गरेका थिए ।
‘सिनेपाः’को निर्माणले नेपाली फिल्म उद्योगमा आधुनिक सुटिङ पूर्वाधारको खाँचो पूर्ति गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।