
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफूलाई संसदीय दलको नेताबाट हटाइएको विधिमै प्रश्न उठाएका छन् । लामालाई मंगलबार (साउन १३) वाग्मती कांग्रेस संसदीय दलको बैठकबाट अविश्वास प्रस्ताव पारित गरी नेताबाट हटाइएको हो । गएको शुक्रबार (साउन ९) उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।
अविश्वास प्रस्तावमा प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ र लामाका पक्षमा १५ मत परेको थियो । लामाले आफ्नो पक्षमा बहुमत नभएसँगै नेता पद रिक्त भएको स्वीकार गरेका छन् ।
तर, हालको प्रक्रिया लोकतान्त्रिक भए/नभएको भन्ने प्रश्न रहेको उनले बताए । गोप्य मतदानमा त्यसको मूल्यांकन हुने उनको भनाइ छ ।
“नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक विधिमा विश्वास गर्ने पार्टी हो । त्यसले गर्दा अहिलेको प्रक्रियामा लोकतान्त्रिक विधिको प्रक्रिया पुग्यो/पुगेन हेर्न बाँकी नै छ,” लामाले भने, “दलको नेता रिक्त भएपछि चुनावी प्रक्रिया अघि बढ्छ । त्यहाँ गोप्य मतदान हुन्छ, त्यहाँ हेरौँला ।”
उनले आफूविरुद्धको अविश्वास प्रस्ताव लोकतान्त्रिक विधिअनुरूप थियो/थिएन भन्ने परीक्षण गोप्य मतदानमा हुने बताए । खुला रूपमा सांसदले तटस्थ मत व्यक्त गर्न नपाएको लामाले जिकिर गरे ।