काठमाडौं । नेपाली कांग्रेसको वाग्मती प्रदेशका सांसदहरूले मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा समर्थन दिएसँगै काठमाडौंमै रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मुख्यमन्त्री लामालाई भेटेर राजीनामा बुझाएका छन् । अन्य तीन मन्त्रीले भने ह्वाटस् एपमा राजीनामा बुझाएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
“अविश्वास प्रस्तावमा समर्थन दिएपछि नैतिक रूपमा पदमा बसिरहन मिल्ने कुरा भएन । त्यसैले मुख्यमन्त्रीलाई भेटेरै राजीनामा बुझाएको छु,” लामिछानेले बाह्रखरीसँग भने, “उहाँलाई विगत एक वर्षमा मैले धेरै ठाउँमा जोगाउँदै आएको हुँ । बजेटमा गरेको त्रुटि सच्याउन नसक्दा उहाँ मुख्यमन्त्रीबाटै हट्ने अवस्था देखियो ।”
लामिछानेले बजेट अर्थमन्त्री कुन्दन काफ्ले र मुख्यमन्त्रीले मात्र चलाएको भन्दै अन्य मन्त्रालयका बजेट समेत तानेर अन्यत्रै विनियोजन गरेको आरोप लगाए ।
अविश्वास प्रस्ताव दर्ता गरेका अर्का एक सांसद भने आफूले संसदीय दलको नेतादेखि मुख्यमन्त्रीसम्म समर्थन जनाए पनि तामाङले सहयोगीहरूलाई नै पाखा लगाउने काम गरेको बताए । उनले सहयोग गर्ने सांसद मात्र नभएर पार्टीका केन्द्रीय सभापतिलाई समेत बेवास्ता गरेको बताए ।
“उहाँले हामी नेता बनाउन लाग्नेहरूलाई मात्र होइन केन्द्रीय सभापतिलाई समेत बेवास्ता गर्नुभयो,” ती सांसदले बाह्रखरीसँग भने, “हामीले पार्टी सभापतिसँग भेट्यौँ । महामन्त्रीसँग पनि भेट्यौँ । सभापति शेरबहादुर देउवाले ‘गो अहेड’ भनेपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।”
उनले महामन्त्री गगन थापाले भेटमा बताएको कुरा भने खुलाउन चाहेनन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ र मुख्यमन्त्री लामा दुवै कांग्रेस संस्थापन पक्षका हुन् ।
उनीहरूबीच नै प्रतिस्पर्धा हुँदा संस्थापनइतरका भोट तानेर लामा ०७९ पुस १३ मा संसदीय दलको नेता निर्वाचित भएका थिए । तीन भोटले पछि परेका सभापति बानियाँले सांसद र पार्टी सभापति लामासँग असन्तुष्ट भएको मौका छोपेर संसदीय दलका नेता हुँदै मुख्यमन्त्रीबाट हटाउने कदम चालेका हुन् । लामामाथि संस्थापनइतरका नेता डा. शेखर कोइरालासँग निकट भएको आरोप समेत लगाइएको छ ।