site stats
बाह्रखरी :: Baahrakhari
विदेश
थाइल्यान्ड र कम्बोडियाबीचको द्वन्द्वको कारण के हो ?

काठमाडौं । रूस–युक्रेन र इजरायइल–इराना युद्धपछि अब पूर्वी एशियामा पनि त्यसको छनक देखिन थालेको छ । बिहीबार थाइल्यान्ड र कम्बोडियाबीच वर्षौंदेखि चल्दै आएको तनाव अब सैन्य टकरावमा परिणत भएको छ । 

कम्बोडियाको आक्रमणमा थाइल्यान्डका कम्तीमा १२ जनाको मृत्यु भएको संचारमाध्यमहरूले जनाएका छन् । थाइ सेनाले पनि कम्बोडियाको सीमामा तैनाथ क्याम्बोडियाली सैनिकहरूलाई निशाना बनाएको विवरण प्राप्त भएका छन् ।
 
थाइल्यान्डले सीमामा एफ–१६ लडाकु विमानहरू तैनाथ गरेको बताएको छ । अवस्था बिग्रँदै गएपछि कम्बोडियाले तत्काल संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को बैठक बोलाएको छ । 

तर, यो अवस्था आइपुग्नुका पछाडि थाइल्यान्ड र कम्बोडियाबीच टकरावको मुद्दा के हो ? यो तनावबीच अचानक द्वन्द्व किन भड्कियो ? के यो द्वन्द्व युद्धमा परिणत हुनसक्छ भन्ने विषय थाहा पाउनु आवश्यक छ । 

थाइल्यान्ड र कम्बोडियाबीच तनावको सुरुआत
थाइल्यान्ड र कम्बोडियाबीचको विवाद एक शताब्दीभन्दा पुरानो छ । सन् १९०७ मा जब कम्बोडिया फ्रान्सको उपनिवेस थियो, तब सियाम र कम्बोडियाबीच सीमाहरू निर्धारण गरिएको थियो । पछि ८१७ किलोमिटर लामो यो सीमालाई लिएर विवाद सुरू भयो । विशेषगरी केही ऐतिहासिक मन्दिरहरूलाई लिएर दुवै देशहरूबीच यो विवाद निकै गहिरिएको छ ।

अन्तर्राष्ट्रिय नक्सामा थाइल्यान्ड र कम्बोडियाका सीमाहरूलाई दुवै देशले एकतर्फी रूपमा मान्यता दिन थाले । अन्ततः दुवै देशले सीमा विवाद र मन्दिरहरूको स्वामित्वको मुद्दालाई सन् १९६२ मा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)मा पुर्‍याए ।
 
आईसीजेले ११औँ शताब्दीको प्रीह विहार मन्दिर कम्बोडियाको हिस्सा भएको फैसला गर्‍यो । यो मन्दिर थाइल्यान्डको नियन्त्रणभन्दा बाहिर राखियो । थाइल्यान्डले फैसलापछि यो मन्दिरमाथिको अधिकार छोड्यो । यद्यपि, वरपरको क्षेत्रमा आफ्नो पहुँच र दाबी कायम राख्यो ।

तर, यो विवाद सन् २००८ मा फेरि भड्कियो जब कम्बोडियाले प्रिह विहार ऐतिहासिक मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयास गर्‍यो ।
 
थाइल्यान्डले यसको कडा विरोध गर्‍यो । र, दुवै देशहरूबीचको मौखिक युद्ध अचानक द्वन्द्वमा परिणत भयो । यसमा २० जनाको मृत्यु भयो । सीमावर्ती क्षेत्रमा बस्ने हजारौँ मानिस विस्थापित भए ।

केही समयपछि यो तनाव कायम रहँदा कम्बोडिया फेरि आईसीजेमा पुग्यो । अन्तर्राष्ट्रिय न्यायालयले फेरि कम्बोडियाको पक्षमा फैसला सुनायो । यद्यपि, यसपटक पनि अदालतले विवादित क्षेत्रहरूबारे कुनै निर्णय दिएन । 

अर्कोतर्फ, थाइल्यान्डले आईसीजेको क्षेत्राधिकारलाई नै मान्न अस्वीकार गर्‍यो । सन् २०१३ पछि दुवै देशहरूबीच तनाव केही हदसम्म कम भएको थियो । 

यो सम्पूर्ण घटनाक्रमबीच कम्बोडियाले आफ्नो देशमा थाइल्यान्डका चलचित्र र टेलिभिजन शोहरूमाथि प्रतिबन्ध लगायो । छिमेकी देशबाट इन्धन, फलफूल र तरकारीको आयात बन्द गर्‍यो । कम्बोडियाले इन्टरनेट र ऊर्जा क्षेत्रमा पनि थाइल्यान्डको बहिष्कार गर्‍यो ।

थाइल्यान्ड–कम्बोडियाको टकराव कसरी हिंस्रक भयो ?
दक्षिण एसियाली छिमेकीहरूबीचको पछिल्लो तनाव मे महिनादेखि बढ्दै गएपछि सुरू भएको हो । त्यतीवेला सीमामा भएको सशस्त्र भिडन्तमा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।
  
फेब्रुअरीमा, थाइल्यान्डको सीमानजिक रहेको खमर मन्दिर प्रसात ता मोअन थोमलाई लिएर विवाद तीव्र भएको थियो । यसपटक द्वन्द्वको केन्द्र एक हजार वर्षभन्दा पुरानो खमेर मन्दिर ‘प्रसात ता मोअन थोम’ बन्यो ।
 
दुवै पक्षले एक–अर्कामाथि पहिले गोलीबारी गरेको आरोप लगाए । रिपोर्टहरूका अनुसार, पहिलो गोलीबारी बिहान करिब ८  ः २० बजे भएको थियो । यो गोलीबारी मन्दिरको पूर्वमा २०० मिटरको दूरीमा भएको थियो ।

ता मोअन थोम मन्दिर के हो, जो दुई देशको टकरावको केन्द्र बन्यो ?
थाइल्यान्ड र कम्बोडियाको सीमानजिक अवस्थित यो मन्दिर भगवान शिवमा समर्पित छ । यो मन्दिर दांग्रेक पहाडहरूमा छ । यसलाई बनाउने श्रेय खमर शासक राजा उदय आदित्य वर्मन–२ लाई दिइन्छ । यो मन्दिरमा प्राकृतिक चट्टानबाट बनेको शिवलिंग पनि छ । इतिहासकारहरूका अनुसार, यो मन्दिर १२औँ शताब्दीमा बनाइएको थियो । अर्थात्, यो मन्दिर आफ्नो समयको सबैभन्दा पुरानो हो । 

यो मन्दिरको स्थानका कारण दुवै देशहरूबीच द्वन्द्व सुुरू भएको छ । वास्तवमा, सीमानजिक जहाँ यो मन्दिर अवस्थित छ, त्यहाँ दुवै देशले दाबी गर्छन् । यसै वर्ष फेब्रुअरीमा जब कम्बोडियाका सैनिकहरूले यहाँ राष्ट्रिय गान गाए, तब थाइल्यान्डका सैनिकहरू उनीहरूको अगाडि आए । पछि दुवै पक्षबीच तीव्र मौखिक युद्ध देखियो ।

ता मोअन थोम मन्दिर मात्र होइन, थाइल्यान्ड र कम्बोडियाबीच प्रीह विहार, ता मुएन थोम र ता मोअन थोम मन्दिरहरूमा पनि विवाद छ । 
 
थाइल्यान्डको भनाइ के छ ?
थाइ सैनिकहरूले बताएअनुसार, उनीहरूले पहिले केही ड्रोनको आवाज सुने र त्यसपछि ६ जना सशस्त्र कम्बोडियाली सैनिक देखे । त्यसपछि विवादित सीमानजिक छ स्थानमा द्वन्द्वको खबर आयो ।

थाइ सेनाले बताएअनुसार, उसको पक्षमा ११ सर्वसाधारणको मृत्यु भएको छ, जबकी केही अन्य घाइते भएका छन् ।
 
कम्बोडियाली सेनाको तर्फबाट थाइल्यान्डको सुरिन प्रान्तमा बिहान ९ : ४० बजे दुई बीएम–२१ रकेट प्रहार गरेको दाबी गरिएको थियो । त्यसपछि ८६ प्रान्तबाट ४० हजार मानिसहरूलाई निकालिएको छ ।
  
कम्बोडिया के भन्छ ?
अर्कोतर्फ, कम्बोडियाले थाइल्यान्डबाट उसका दुई प्रान्तमा गोलीबारी भएको बताएको छ । एक प्रवक्ताले बिहान करिब ८ : ४६ बजे थाइ सेनाले उसको क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्‍यो र कम्बोडियाली सैनिकमाथि गोली चलाएको बताए । 

यो अवधिमा थाइल्यान्डले फाइटर जेटबाट वाट केओ सिक्खा किरिसवाराको एक सडकमा बम खसालेको कम्बोडियाको आरोप छ । यो क्षेत्रमा कम्बोडियाको सेनाको एक टोली सुरक्षाका लागि राखिएको छ ।

थाइल्यान्डले सीमामा एफ–१६ लडाकु विमानबाट कम्बोडियाका सैन्य केन्द्रहरूलाई निशाना बनाएको खबर आएको छ । रोयल थाइ एयरफोर्सले सबै विमानहरू सुरक्षित फर्किएको पुष्टि गरेको छ । 
 
थाइल्यान्ड–कम्बोडिया द्वन्द्व युद्धमा परिणत हुने सम्भावना कति छ ?
थाइल्यान्ड र कम्बोडियाबीचको जारी द्वन्द्व युद्धमा परिणत हुने सम्भावना निकै कम रहेको विश्लेषकहरूको भनाइ छ ।

स्थानीय विज्ञहरूका अनुसार, दुवै देशबीच गोलीबारीका घटनाहरू पहिले पनि भएका थिए । तर, त्यस्ता घटनाहरू चाँडै सेलाउँथे । यद्यपि, थाइल्यान्डमा पछिल्लो समय बढ्दो राष्ट्रवादका कारण राजनीतिकस्तरमा पनि सीमा विवादलाई लिएर कडाइ देखिएको छ । 

एउटा फोन कल, जसले थाइल्यान्डकी प्रधानमन्त्रीको कुर्सीलाई खतरामा पार्‍यो ?
यसै वर्ष जुनमा थाइल्यान्डकी प्रधानमन्त्री पेइतोंग्तर्न शिनावात्राले कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई गरेको फोन कलले निकै चर्चा पायो । वास्तवमा, यो फोन कललाई हुन सेनले आफैँले लिक गरेका थिए । यसमा शिनावात्राले हुन सेनलाई अंकल भनेर सम्बोधन गरेको र थाइ सेनाको आलोचना गरेको सुनिएको थियो ।
  
कम्बोडियाका प्रधानमन्त्री र थाइल्यान्डका प्रधानमन्त्रीका परिवारहरू लामो समयदेखि आफ्ना देशमा राजनीतिमा संलग्न छन् । यी दुई परिवार एक–अर्कासँग निकैनजिक मानिन्छन् । तर, एक फोन कल लिक भएपछि पेइतोंग्तर्न शिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाउनुपर्ने माग उठ्न थाल्यो । 

यसै महिना संवैधानिक अदालतले शिनावात्रालाई पदबाट निलम्बन गरेको थियो । स्थानीय विश्लेषकहरूका अनुसार, यसपछि थाइ सरकारमा जनताले उसको बारेमा नकारात्मक सोच राखिरहेका छन् भन्ने डर बसेको छ ।  यसैबीच, जब थाइल्यान्डका केही सैनिक कम्बोडियाली ल्यान्डमाइनका कारण घाइते भए, तब प्रधानमन्त्री शिनावात्रामाथि दबाब बढेको देखियो ।
 
सिंगापुरको थिंक ट्यांक आईएसईएएस–युसोफ इशाक इन्स्टिच्युटकी सहयोगी फेलो टीटा सांगलीका अनुसार, यो घटनापछि दुवै पक्षले आफूलाई रोक्ने विकल्प बाँकी रहेन र जनताको विश्वास जित्न जवाफी कारबाहीलाई विकल्प बनाइयो । 
 
यस्तो अवस्थामा तनाव चाँडै अन्त्य हुने सम्भावना निकै कम रहेको बताइएको छ ।
  
अर्का विश्लेषकका अनुसार कम्बोडियाका वर्तमान प्रधानमन्त्री हुआ मानेतका पिता हुन सेनले यो द्वन्द्वलाई आफ्नो छोरालाई राजनीतिक रूपमा बलियो बनाउने अवसरको रूपमा हेरेका छन् । 

हुआ मानेतले कम्बोडियामा आफ्ना पिताको छायाबाट बाहिर निस्कन सकेका छैनन् । यस्तो अवस्थामा हुन सेनले अब आफ्नो छोरालाई युद्धकालीन नेताको रूपमा प्रस्तुत गरेर अगाडि बढाउने प्रयास गरिरहेका छन् । अलजजिरा
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्