site stats
बाह्रखरी :: Baahrakhari
देश
विभागले भन्यो– हिमताल विस्फोटबाटै रसुवामा बाढी, यस्तो छ अघिपछिको तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै रसुवामा भीषण बाढी आएको निष्कर्षमा पुगेको छ । यही असार २४ गते बिहान भोटेकोसी नदीमा एक्कासि बाढी आउँदो जनधनको ठूलो क्षति भएको छ ।

चीनको ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रस्थित हिमनदीको करिब बीचभूभागमा विकास भएको सुप्राग्लेसियल ताल (हिमताल) विस्फोट भएको विभागको निष्कर्ष छ । नेपाल–चीन सीमाको ल्हेन्दे खोला नै रसुवामा भोटेकोसी नामले चिनिने हो ।

‘सेन्टिनेल’ उपग्रहबाट निकालिएको तस्बिरमा दुई देशको सीमाबाट करिब ३६ किलोमिटरमाथि सुप्राग्लेसियल ताल विकास भएको देखिएको विभागले जनाएको छ । “चित्रमा देखाइएको स्थान रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांश: २८.४०४३, देशान्तर: ८५.६४६९, समुद्री सतहबाट करिब ५,१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ,” विभागले भनेको छ ।

विभागले बाढीअघि र पछिको उक्त तालको चित्र (तस्बिर) पनि सार्वजनिक गरेको छ । त्यसकै अध्ययनमा तालको पानी निकास भएको देखिएको विभागले जनाएको छ ।

“चित्र १ (क) अध्ययन गर्दा हिमनदीको करिब बीचभूभागमा विकास भएको सुप्राग्लेसियल (हिमताल) करिब ०.७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ,” विभागले भनेको छ, “दोस्रो चित्रमा भने उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्गकिलोमिटर मात्र देखिएको छ ।”

qwfg-1752132892.jpg
रसुवामा बाढीअघि र पछिको दुई चित्र (तस्बिर)को तुलनात्मक अध्ययनमा तालको क्षेत्रफलमा परिवर्तन देखिन्छ । “उपरोक्त विवरणहरूले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ,” विभागले भनेको छ ।

घटनाबारे चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने विभागको अपेक्षा छ । आउँदा दिनमा भूउपग्रहमार्फत प्राप्त हुन सक्ने अरू तस्बिरले समेत थप पुष्ट्याइँ दिन सकिने विभागले जनाएको छ ।

“विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ,” विभागले भनेको छ, “जसअनुसार उक्त हिमतालबाट पानी निकास भएको देखिन्छ ।”

b1-1752133066.jpg

b2-1752133066.jpg

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्