
काठमाडौं । रूसले युक्रेनमा गरिरहेको बमबारीको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चर्को आलोचना गरे । ट्रम्पले पुटिनलाई ‘पागल र सन्काहा’ भने ।
रुसले यसको प्रतिक्रिया दिएको छ । रूसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले अमेरिकी राष्ट्रपति ट्रम्प धेरै भावुक भएको प्रक्रिया दिएका छन् ।
“यो सबैका लागि धेरै भावनात्मक र तनावपूर्ण समय छ, त्यसैले केही प्रतिक्रियाहरू भावनात्मक रूपमा दिइएका हुन्छन्,” प्रवक्ता पेस्कोवले भने ।
प्रवक्ता पेस्कोवले रुसले हरेक प्रतिक्रियालाई नजिकबाट केलाइरहेको बताउँदै राष्ट्रपति पुटिनले रूसको सुरक्षाका लागि जे आवश्यक छ ती निर्णयहरू मात्र गर्ने बताए ।
उनले अगाडि भने, “वार्ताको प्रक्रिया सुरु हुनु ठूलो कुरा हो । यसका लागि अमेरिकाले धेरै प्रयास गरेको छ । हामी यो सहयोगका लागि अमेरिका र विशेष गरी राष्ट्रपति ट्रम्पप्रति आभारी छौँ, यो एक महत्वपूर्ण उपलब्धि हो ।”
रूसले सन् २०२२ फेब्रुअरीपछिको सबैभन्दा ठूलो हवाई आक्रमणमा शनिबार रातदेखि आइतबारसम्म ३६७ ड्रोन र मिसाइल प्रहार गरेपछि युक्रेनमा कम्तीमा १३ जना मारिएका छन् । दर्जनौँ नागरिक घाइते भएका छन् ।
उक्त आक्रमणपछि ट्रम्पले रुष्ट भएर पुटिनलाई ‘पागल सन्काहा’ भनेका थिए । आइतबार साँझदेखि सोमबार बिहानसम्म रूसले युक्रेनमाथि ३५५ ड्रोन प्रहार गरेको थियो । युक्रेनी वायुसेनाले यो अहिलेसम्मको सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको बताएको छ ।
युक्रेनमा ३६७ ड्रोन र मिसाइल प्रहार गरेर १३ जनाको ज्यान लिएपछि उनले सामाजिक संजालमा पोष्ट गर्दै लेखे, “पुटिनलाई केही भएको हो, उनी पूर्णरूपमा पागल भएका छन् । बिना कुनै कारण धेरै मानिसहरू मारिरहेका छन् ।”
पेस्कोवले हालका हवाई आक्रमणहरू रूसको सामाजिक संरचनामाथि युक्रेनले गरेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन् । बीबीसी