
काठमाडौं । भारतले मे ६ र ७ को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही सुरु गर्यो । भारतले यो सैन्य कारबाहीलाई ‘अप्रेसन सिन्दुर’ नाम दिएको छ । भारतले यो आक्रमण ‘आतंकवादी लुक्ने ठाउँहरूमा’ गरिएको दाबी गरेको छ ।
भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि दुवै देशको सैन्य क्षमतामाथि छलफल सुरु भएको छ । भारत र पाकिस्तानसँग कुन–कुन मिसाइलहरू छन् र उनीहरूको वायु रक्षा प्रणालीको क्षमता के छ भन्नेमा धेरैको चासो छ ।
भारतको अग्नि–५ मिसाइलले जमिनबाट पाँच हजारदेखि आठ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ ।
अर्कोतर्फ, पाकिस्तानको शाहीन–३ मिसाइलको दायरा दुई हजार ७५० किलोमिटर छ ।
भारत हतियारको लागि रुसमा बढी निर्भर छ र पाकिस्तान चीनमा बढी निर्भर छ ।
पश्चिमी देशहरूले लामो समयदेखि भारतलाई क्षेप्यास्त्र प्रविधि दिन अस्वीकार गर्दै आएका छन्, तर फ्रान्स र भारतले क्षेप्यास्त्र प्रविधिमा मिलेर काम गरेका छन् ।
यसमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल अर्थात् आईसीबीएम पनि समावेश छ । विश्वमा केवल सात देशहरूसँग मात्र आईसीबीएम छ ।
“भारत एन्टी–ब्यालिस्टिक मिसाइल प्रणाली भएका केही देशहरूमध्ये एक हो,” रक्षा विश्लेषक ह्यारिसन कासले द नेसनल इन्ट्रेस्टमा लेखेका छन् ।
“भारतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा दुई प्रकारका क्षेप्यास्त्रहरू छन् । उच्च उचाइमा क्षेप्यास्त्र आक्रमणलाई रोक्ने पहिलो पृथ्वी एयर डिफेन्स (पीएडी) मिसाइल र दोस्रो हो, एडभान्स्ड एयर डिफेन्स (एएडी) जसले कम उचाइमा हुने क्षेप्यास्त्र आक्रमणलाई रोक्छ,” उनले भनेका छन्, “भारतको एन्टीब्यालिस्टिक मिसाइल प्रणालीले कम्तीमा पाँच हजार किलोमिटर टाढाबाट हुने मिसाइल आक्रमणलाई रोक्न सक्षम छ ।”
भारतले रुससँगको सहकार्यमा ब्रह्मोस र ब्रह्मोस–२ हाइपरसोनिक क्रुज मिसाइलहरू पनि विकास गरेको छ र यसलाई जमिन, हावा, समुद्र र उप–समुद्री प्लेटफर्मबाट प्रहार गर्न सकिन्छ ।
ह्यारिसन कास भन्छन्, “भारतसँग परम्परागत र आणविक हतियारधारी क्षेप्यास्त्रका धेरै विकल्पहरू छन् । यसमा क्षेप्यास्त्र आक्रमणलाई रोक्ने क्षमता पनि छ ।”
अर्कोतर्फ, पाकिस्तानसँग परम्परागत र आणविक हतियारयुक्त क्षेप्यास्त्रका धेरै विकल्पहरू पनि छन् । एकअर्काको खतरालाई ध्यानमा राख्दै दुवै देशले आफ्नो क्षेप्यास्त्र क्षमतालाई अगाडि बढाएको बताइएको छ ।
तर, पाकिस्तानसँग आईसीबीएमको विकल्प छैन । धेरै रक्षा विश्लेषक विश्वास गर्छन्, पाकिस्तानलाई यसको धेरै आवश्यकता छैन ।
चीन र भारतबीच पनि बेलाबेलामा युद्ध हुँदै आएको छ । भारतले पनि सोहीअनुसार आफ्नो रक्षा क्षमता विकास गरिरहेको छ । अर्कोतर्फ, पाकिस्तानले हाल भारतलाई मात्र आफ्नो शत्रु मान्दछ ।
ह्यारिसन कास भन्छन्, “पाकिस्तानलाई आईसीबीएमको धेरै आवश्यकता छैन । पाकिस्तानको क्षेप्यास्त्र क्षमता क्षेत्रीय लक्ष्यहरू प्राप्त गर्न सक्षम छ ।”
पाकिस्तानले चीनसँगको सहकार्यमा शाहीन शृंखलाका मिसाइलहरू विकास गरेको छ । पाकिस्तानको शाहीन मिसाइलहरूमा छोटो, मध्यम र लामो दूरीको प्रहार क्षमता छ । आक्रमणको प्रतिकार गर्न पाकिस्तानले एन्टीब्यालेस्टिक मिसाइल प्रणालीमा पनि काम गरिरहेको छ ।
ह्यारिसन भन्छन्– पाकिस्तानसँग एचक्यू–९बीई छ, तर यदि भारतले ब्रह्मोस प्रयोग गर्यो भने यसलाई रोक्न पाकिस्तानलाई सजिलो हुनेछैन । पाकिस्तानी संसदमा विपक्षी सांसदहरूले ब्रह्मोस सुपरसोनिक क्षेप्यास्त्रमाथि चिन्ता व्यक्त गर्दै आएका छन् । बीबीसी