site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड र शशांकबीच जब भयो जम्काभेट...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाबीच मंगलबार चितवनको भरतपुरमा जम्काभेट भएको छ । प्रचण्ड उताबाट काठमाडौं फर्कने र शशांक यताबाट चितवन ओर्लने समय जुधेपछि उनीहरूबीच भरतपुर विमानस्थलमा जम्काभेट भएको हो ।

नेताहरूको आवतजावतमा विमानस्थलमै पुगेर समाचार बनाउने पत्रकार पनि त्यहीँ भेला भए । सत्ता र प्रतिपक्षका नेताहरूलाई एक ठाउँमा प्रश्न गर्न पाउनु पत्रकारका निम्ति अवसर थियो । दुवै नेतालाई एउटै प्रश्न सोधियो, वर्तमान सरकारको स्थिरताका विषयमा ।

वर्तमान सरकारको आयु लामो छैन भन्दै आएका प्रचण्डले प्रश्नबाट उत्साहित हुँदै जवाफ दिए, “मैले त भन्दै आएको छु– यो सरकारको आयु धेरै लामो छैन ।”

उनले वर्तमान सत्ता गठबन्धन प्राकृतिक नै नभएको तर्क गरे । “यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु– यो प्राकृतिक छैन । स्वाभाविक छैन । पारदर्शी छैन,” प्रचण्डले भने, “सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।”

शशांक प्रचण्डको बायाँतर्फ थिए । उनीसँगै गएका कांग्रेस नेता चन्द्र भण्डारी प्रचण्डको दायाँतर्फ बसेका थिए । प्रचण्डको जवाफ सुनेर भण्डारी मुस्कुराउँदै थिए ।

पत्रकारको उक्त प्रश्नको जवाफ शशांकतर्फ लक्षित थियो । त्यसपछि पत्रकारले प्रश्न गरे– तपाईं (शशांक) बारबार ०८४ सम्म सरकार जान्छ भन्नुहुन्छ, प्रतिपक्षी दलको नेता पनि यहीँ हुनुहुन्छ, अब के भन्नुहुन्छ ?

डा. शशांकले सरकार ‘स्टेबल’ नै भएको जवाफ दिए । तर, उनले ‘राजनीतिमा जुनसुकै बेला जे पनि हुन सक्ने’ भनेपछि प्रचण्ड मुस्कुराए ।

“हाम्रो त चाहना, दुई ठूलो दल मिलेर स्टेबल सरकार दिने भनेर बनाएको हो । एक हिसाबमा स्टेबल नै छ, तलमाथि हुने सम्भावना कम छ,” शशांकले भने, “तर, राजनीति हो, जे पनि हुनसक्छ, नहुने होइन ।”

डा. शशांकले स्थिर सरकार भए विकाससहितका जनताका चाहना पूरा गर्न सहज हुने बताए ।

उनले संविधान संशोधनका विषयमा सत्तासाझेदार दलहरू स्पष्ट हुनुपर्ने पनि बताए । कुन विषयमा कस्तो संशोधन गर्ने भन्ने स्पष्ट भएपछि मात्र त्यसबारे छलफल गर्न सकिने उनको भनाइ थियो ।

“कुरा आयो संविधान संशोधनको । त्यसमा के संशोधन गर्ने ? संघीयता, धर्मनिरपेक्षता के विषय संशोधन गर्ने हो ?,” प्रश्न गर्दै शशांकले भने, “पहिला त्यो बुँदामा स्पष्ट हुनुपर्‍यो ।” नत्र संविधान संशोधन मात्र भनेर गुमराहमा राख्नमा नहुनेमा उनले जोड दिए ।

विपक्षीसँग कतिको सहकार्य गरिरहनुभएको छ भन्ने पत्रकारको प्रश्नमा डा. शशांकले सबै दलहरूसँग कांग्रेसले सहकार्य गरिरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro