
काठमाडौं । आपराधिक पृष्ठभूमिका काभ्रेको तेमालका सत्यमान लामा पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका लामालाई प्रहरी वृत्त मालिगाउँको टोलीले सोमबार (आज) बिहान पक्राउ गरेको हो ।
लामालाई फैसला कार्यान्वयका निम्ति अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
०८० चैतमा काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा उनलाई दुई वर्ष कैद र ३० लाख रुपैयाँ जरिवाना गरेको थियो । अदालतको फैसलापछि उनी फरार थिए ।
गुन्डागर्दीबाट उदाएका लामाले पछिल्लो समय बुद्धचित्त मालाको कारोबार गर्दै आएका थिए । सिन्धुलीको फिक्कल गाउँपालिका–५ स्थित होमबहादुर सुनुवारको बुद्धचित्तको मालाको दाना लुटेको कसुरमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उक्त फैसलाअघि विभिन्न घटनामा उनी पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका थिए ।