
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार विभिन्न देशका निम्ति नेपाली राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
राष्ट्रपति पौडेल डा. शैल रुपाखेतीलाई संघीय गणतन्त्र जर्मनीका निम्ति, जंगबहादुर चौहानलाई रुसी महासंघका लागि, चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्यका निम्ति र डा. नरेशविक्रम ढकाललाई साउदी अरेबिया अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
यस्तै, थाइल्यान्डका निम्ति नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई क्याम्बोडिया अधिराज्य र गणतन्त्र सिंगापुरका निम्ति गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।