site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारमा पनि सुनसान छन् गाउँघर

सोलुखुम्बु । “पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । पाँच–छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो,” सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, “तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।” 

उनलाई यस वर्ष तिहार लागेजस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्मथलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्मा बताउँछन् ।

“गाउँघरमा पाका पुस्ताहरू मात्र बाँकी छन्, युवा धेरै विदेशमा छन् । काठमाडौं गएकाहरू पनि फर्किएनन् । त्यसैले तिहारमा गाउँघर रमाइलो छैन,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

युवा गाउँमा रित्तिएसँगै बुढापाका, बालबच्चा र असक्त मात्रै बाँकी रहेको स्थानीय बताउँछन् । सोताङका शिक्षक रामबहादुर बस्नेतका अनुसार, गाउँघरदेखि जिल्लाका बजारमा देउसीभैलो खेल्ने खासै देखिएका छैनन् । केटाकेटीहरू छिटफुट देउसी खेल्न हिँडेको उनले बताए । विगतमा टोलैपिच्छे विभिन्न समूह तथा क्लबले दिउसी खेल्ने चलन भए पनि यस वर्ष देउसी खेल्ने मान्छे नभएपछि धेरै गाउँहरूमा सामूहिक देउसी खेल्ने क्रम बढेको छ । 

गाउँघरमा रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउन्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश बिकले बताए । यस वर्षको तिहारमा सदरमुकाम सल्लेरी बजारमा विगतमा झैँ चाडपर्वको रौनक देखिएन । सल्लेरी बजार सुनसान छ भने व्यवसायीमा व्यापार नभएको गुनासो छ ।

“अघिल्लो वर्षसम्म तिहार आसपासमा दैनिक ९० हजारसम्मको व्यापार हुने गरेकामा यस वर्ष मुस्किलले १० हजारको व्यापार भयो," सल्लेरीका व्यापारी निरकुमार नेपालीले बताए । 

“आर्थिक संकटले मुलुक ग्रस्त बनिसकेछ, पहिला जस्तो किनमेल गर्ने मानिस नै छैनन् । सल्लेरीमा मैले पसल गरेको पाँच/छ वर्ष भयो, तर यस वर्षको जस्तो तिहार कहिल्यै भएको थिएन,” उनले भने, “तिहारका लागि आवश्यक मसलादेखि फलफूलसमेत बिक्रीका लागि ल्याइयो । तर किन्ने मान्छे नै आएनन् ।”  

किराना होस् वा अन्य पसलमा ग्राहकहरूको उपस्थिति थोरै छ । व्यवसायीमा निराशा छाएको देखिन्छ ।

“कोरोना कहरको समयमा योभन्दा राम्रो व्यापार भएको थियो । तर अहिले त्योभन्दा खस्कियो, खै किन हो सर्वसाधारणमा चाडबाडको उमङ्ग देखिँदैन,” बासाका स्थानीय व्यापारी उजीर कार्कीले भने । 

विगतमा सुरक्षाका कारण राति ९ बजेपछि देउसीभैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाउने गरेको थियो । तर, पनि रातभर देउसीभैलो खेल्नेको कमी नहुने सल्लेरीका स्थानीय बाबुराम श्रेष्ठले स्मरण गरे ।  यस वर्ष २४सै घण्टा देउसीभैलो खेल्ने व्यवस्था प्रशासनले मिलाएको छ । तर, देउसीभैलो खेल्नेहरू भेटिँदैनन् । रातभर गुञ्जिने देउसे गीत साँझ ७ नबज्दै बन्द हुने गरेको स्थानीयको भनाइ छ । 

पहिलेपहिले रोजगार, अध्ययन तथा काम विशेषले जिल्ला बाहिर जानेहरू तिहारअघि गाउँ फर्किन्थे । यस वर्ष चाडपर्वमा गाउँ फर्कनेको सङ्ख्या खासै नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चाडपर्वमा यात्रु नठगिउन् भनेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेर समन्वय गरेको छ । तर, जिल्ला भित्रिनेको सङ्ख्या न्यून हुँदा कतिपय गाडीहरू खाली आउने गरेको दूधकुण्ड ज्वालामाइ यातयात समितिका सदस्य जीवन थापाले बताए । 

उनले भने, “अघिल्लो वर्ष काठमाडौंबाट सोलु आउने टिकट नपाएर हामीले रातारात राति नै गाडी काठमाडौं फर्काउनु परेको थियो । यसपालि त्यस्तो छैन् । जिल्ला आउने यात्रु नहुँदा गाडी काठमाडौं मै थन्किएर बसेका छन् ।” 

लोप हुँदै मौलिकता 

तिहार भन्नेबित्तिकै देउसीभैलोको याद आइहाल्छ । तर, पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसीभैलोमा मौलिकता लोप हुँदै गएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी मिना रसाइलीलाई आफू सानो छँदा खेलेको देउसीभैलोको याद खुब आउँछ । तर, पछिल्ला वर्षहरूमा देउसीभैलो खेल्दा त्यो मौलिकता नभेटिएको उनले बताए ।  

हरेक चाडपर्वको आफ्नै महत्त्व र विशेषता छ । तिहारको रमाइलो पक्ष झिलिमिली र देउसीभैलो हो । तर, पछिल्लो समय  देउसीभैलो खेल्ने शैली परिवर्तन भएको छ । 

आधुनिक प्रविधिले नेपाली मौलिक संस्कार ओझेलमा पारेको सिद्धिचरण नगरपालिका–७ ओखलढुङ्गाका राकेश श्रेष्ठ बताउँछन् । देउसीभैलो खेलिने प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ । ती कथनहरू तिहारको समयमा देउसीभैलोमा प्रकट गर्ने पुरानो संस्कार भएको बुढापाका बताउँछन् । तर, आधुनिकताको प्रभाव बढ्दा देउसीभैलोको मौलिकता लोप हुन थालेको नेचासल्यानकी हरिमाया कटेल बताउँछिछन् ।

“एक त गाउँघरमा युवा छैनन्, भएकाहरू पनि क्यासेट बजार नाच्छन् गाउँछन् । मुखले भट्टाएर, मादल बजाएर देउसी खेल्ने चलन हरायो,” कट्टेलले भनिन् ।

मौलिक देउसीभैलोको सट्टा रेकर्ड गरिएका गीतमा नृत्य प्रस्तुत गर्दा देउसीभैलोको मौलिकता ओझेलमा परेको छ । हिन्दी, अङ्ग्रेजी तथा भड्किलो शैलीका गीतमा प्रस्तुत गरिने नृत्यलाई देउसीभैलो मान्ने जमात बढ्दो छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro