site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ता गठबन्धनले भन्यो– भिड जम्मा गरेर रास्वपाले छानबिन र अदालत प्रभावित पार्न खोज्यो

काठमाडौं । सत्तारूढ गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको गठनबन्धनको बैठकले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइएकाले प्रश्न उठाउनु उचित नहुने निष्कर्ष निकालेको हो । 

“छानबिनमाथि प्रश्न उठाउने कुरा नैतिकरूपमा उचित कुरा होइन् । छानबिनको न्याय निरुपणमा आफ्नो विधि र प्रक्रिया हुन्छ,” बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, “छानबिनको प्रक्रिया अघि बढिरहेका बेला सडकमा भिड जम्मा गरेर छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित होइन ।” 

Argakhachi Cement Island Ad

फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित नभएको उनको भनाइ छ । संसद्ले नै छानबिन गर्न निर्देशन दिएको विषयलाई सहजरूपमा लिनुपर्ने पोखरेलले बताए ।

“अहिले गरेका छानबिनमाथि प्रश्न उठाउने अधिकार अदालतमा नै गएर हो । भिड जम्मा गरेर न्यायिक निरुपणलाई प्रभाव पार्ने कुरा गलत हो,” पोखरेलले भने ।

बैठकले छानबिन प्रक्रियामा निष्पक्ष ढंगले अघि बढेको उनले बताए ।

सत्तापक्षको तर्फबाट सबै दलले न्याय निरुपणमा प्रभावित नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गर्ने सहमति भएको पोखरेलले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्