site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीपी कोइरालाले के आशीर्वाद दिन्थे, दसैँमा ?

काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले कसरी दसैँ मनाउँथे र के आशीर्वाद दिन्थे ? खर्चको व्यवस्थापन कसरी गर्ने गरेका थिए ? उनका कान्छा छोरा, नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद शशांक कोइरालाको स्मरण यहाँ प्रस्तुत छ ।

शशांकलाई दसैँ भन्ने बित्तिकै बाल्यकालको लुगा कपडा किन्ने कुरा याद आउँछ । तर, बीपीले कपडामा पैसा खर्चिनु हुँदैन भन्दा सानोमा दुःख लागेको स्मरण पनि उनमा ताजा छ ।

“बीपी त मुठ्ठी कसेको मान्छे, पैसा दिने कुरामा सहज हुनुहुन्थेन,” दसैँबारे शशांक सम्झन्छन्, “तर एउटा कुरा के थियो भने सबै साथीहरूलाई बोलाएर टिका लगाइदिनुहुन्थ्यो । त्यसैले पनि रमाइलो हुने हाम्रोमा ।”

प्रवास हुँदा होस् वा विराटनगर कोइराला निवासमा मान्छेहरू टन्न आउँथे । “तर, तामझाम हुँदैनथ्यो, एकदम सामान्य हुन्थ्यो,” उनले सम्झिए, “सारनाथ वा बनारसमा बस्दा जहाँ पनि धेरै जना टिका लगाउन आउनुहुन्थ्यो ।”

टिका लगाएपछि पनि विचार र राजनीतिकै कुराकानी हुने गरेको उनी सम्झन्छन् । “सञ्चो बिसञ्चो, के गर्दैछौँ, छोरा–छोरी कति छन्, कत्रा भए सबै सोध्नुहुन्थ्यो,” शशांक भन्छन्, “त्यसपछि आफ्नो ठाउँमा काम गर्न कत्तिको गाह्रो छ, कसरी गरिरहनुभएको छ । पञ्चहरूले कत्तिको दुःख दिइरहेका छन् । यस्ता विषय प्रायः सबैसँग सोध्नुहुन्थ्यो ।”

एकपटक दसैँमा बीपीसँगै शशांक बजार निस्किएका थिए । उनले भने, ‘‘मलाई पाइन्ट चाहियो ?’’

बीपीले सोधेँ, ‘‘घरमा कतिवटा पाइन्ट छ ?’’ जवाफमा उनले भने, ‘‘चार÷पाँच वटा छ ।’’

त्यसपछि बीपीले सोधेँ ‘‘एकपटकमा कतिवटा पाइन्ट लगाउँछस् ?’’ उनले सहजै जवाफ फर्काए, ‘‘एउटा लगाउँछु ।’’

शशांकको हात समातेर घरतिर डोहोर्‍याउँदै बीपीले झुण्ड्याएका सबै पाइन्ट देखाएर भने, ‘‘आखिर तैले लगाएकै त छस् ।’’

पिताजीलाई पैसा खर्च गर्न मुठ्ठी कसेको भन्ने शशांकको खर्चमा पिता बीपी दिलदार बनेका पनि अनुभव छन् । बीपीले किताब किन्न भने कहिल्यै पैसाको कन्जुस्याइँ गरेनन् ।

के पढिस् भनी बीपीले सोध्ने बानी बसालेपछि शशांकको पढाइको लत बस्यो । निदाउनुअघि केही न केही पढ्नैपर्ने लतले उनलाई थुप्रै विदेशी लेखकका पुस्तक पढायो ।

बीपीको छनोट बृहत् थियो । अमेरिकी, फ्रान्सेली र रुसी लेखकका किताब पढ्थे । “रसियन साहित्यमा उहाँको विशेष रुचि थियो, त्यसैले हामीलाई पनि पढ्न भन्नुहुन्थ्यो,” शशांक नोष्टाल्जिक हुँदै भन्छन् “मलाई कमिक्स भने किन्न दिनुहुन्नथ्यो ।”

बीपीले नेपोलियन बोनापार्टका सात सय बढी पृष्ठको किताब आफैँले दिएको र उनले पढिसकेको सम्झना ताजा छ । भन्छन्, ‘‘मैले आधा बुझेँ आधा नबुझी पढिसिध्याए ।’’

२००९ सालमा मातृका र बीपीको कांग्रेसमा फरक समूह बन्यो । जनकपुर महाधिवेशनबाट सभापति हुन नपाएपछि मातृकाप्रसाद कोइराला पक्षले महाधिवशेन बहिष्कार गर्‍यो । काठमाडौंमा भएको महासमिति बैठकले मातृकालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि त्यसले पारिवारिक विग्रहको रूप लियो ।

कोइराला परिवारमा मातृकाप्रसाद कोइराला सबैभन्दा जेठा थिए । पछि त मातृका पञ्चायतसँग निकट भए । कांग्रेसमा लाग्नेहरू पञ्चायतको तारो थिए । त्यसैले कोइराला परिवारका अधिकांश सदस्यहरू मातृकाप्रसाद कोइरालाकहाँ दसैँमा टिका लगाउन पनि जान छाडिदिए । शशांक भने मातृका कहाँ जाने गर्थे ।

मातृकाका कान्छा छोरा संजय र शशांकबीच दोस्ती थियो । उनीहरू दुईजना एक–अर्काकहाँ आउने जाने गर्दथे । संजय र विजय पछि पनि कांग्रेस नै भए ।

शशांक सानो छँदा स्वादका पारखी थिए । घरमा बनाउने खाना भन्दा मातृकाको घरमा पाक्ने खाना मिठो लाग्थ्यो । त्यसले पनि उनलाई लोभ्याउँथ्यो । “म उतै गएर खाएर आउँथे,” शशांक सम्झन्छन्, “अनि नोना आमा गिज्याउनुहुन्थ्यो, मीठो–मीठो खाएर आइस् ?”

कोइराला परिवारमा बीपीबाट टिका लगाउनेकै संख्या ५०÷६० हुन्थ्यो । शशांकको भने अन्तिममा पालो आउँथ्यो । झन्डै दिनभर टिका लगाउनेमै बित्ने गरेको थियो ।

सानो छँदा पैसाको खुब महत्त्व लाग्थ्यो । तर, शशांकलाई बीपीले टीकामा कहिल्यै पैसा दिएको स्मरण छैन । हाम्रो समाजमा छोरालाई दक्षिणा दिने चलन छैन । तर, आमा सुशीलाले भने शशांकलाई टिका लगाएर पैसा पनि दिनुहुन्थ्यो । त्यसले खुब खुसी बनाउँथ्यो, उनलाई ।

विराटनगरमा सानोमा टिका लगाउँदा पैसा दिँदा खुसी हुने शशांकले निर्वासनमा बनारस बस्दा भने पारिवारिक परिस्थिति बुझिसकेका थिए । त्यहाँ संघर्षपूर्ण जीवन भएको बुझेपछि भने उनलाई टिका लगाएर पैसा नदिँदा कुनै दुःख लाग्दैनथ्यो ।

बनारसबाट एकदिन शशांकले काठमाडौं आउने इच्छा बीपीसँग सुनाए । बीपीले तत्काल अनुमति दिए, ६० रुपैपाँसहित । “मैले उहाँतर्फ नै हुर्‍याइदिए,” शशांकले सम्झिदै भने, “उहाँले केशव कोइरालालाई बोलाउनुभयो र सोध्नुभयो काठमाडौं जान कति पैसा लाग्छ । केशवले ५५ रुपैयाँ ६० पैसा भनिदिए ।”

‘त्यतिले कसरी पुग्छ ?’ शशांकले जिद्दी कसे । तर बीपीले कलम कापी ल्याउन भने र लेखेर हिसाब लगाए । घरबाट रिक्सा भाडा, त्यहाँबाट गोरखपुरसम्मको रेल भाडा, त्यहाँबाट बस चढेर बास बस्ने ठाउँसम्मको भाडा र होटेल र खाना खर्च त्यसपछि काठमाडौंसम्मको बस भाडा । सबै खर्च जोड्दा ५५ रुपैयाँ ६० पैसा निस्कियो ।

केशव कोइरालालाई देखाउँदै वीपीले भने, ‘‘यो मान्छे मेरा लागि मर्न तयार छ, त तयार हुन्छस्, तँ त भाग्छस् । तँ छोरो भएका कारण तलाई ६० रुपैयाँ दिएको छु ।” तिनै केशव कोइराला ओखलढुंगा काण्डमा मारिनुभयो ।

त्यति भनेपछि शशांक पैसा समाउन बाध्य भए । त्यसपछि शशांक हार खाएर पैसा समाउन बाध्य भए । उनी काठमाडौं आउँदा आमा सुशीलाबाट थप खर्च भने खुसुक्क खल्तीमा हालेका थिए । जुन खर्चका लागि चिन्ता लिनुपर्ने तहको थिएन ।

बीपीले चाडवाडको महत्त्व राख्नुपर्छ, तर तामझाम गर्नु हुँदैन भन्ने गरेको सम्झन्छन् ।

“मेरो विवाह पनि ४०० रुपैयाँमा भएको थियो । त्यो पनि उहाँका साथीले खर्च गरेका थिए,” शशांकले बीपीको मितव्ययिता सम्झदै भने, “एउटा समोसा र चिया थियो, मेरो बिहेको पार्टी !” त्यसबेला उनले पत्नी सुपात्रालाई जयवागेश्वरीको घरमा भित्र्याएका थिए ।

बीपीले टिका लगाउँदा दिने आशीर्वाद के थियो ?
“उहाँ भन्नुहुन्थ्यो, सधैँ प्रयास गरिरहनु, परिणामको चिन्ता नगर्नु । प्रयासले नै तिम्रो परिणाम राम्रो बनाउँछ,” शशांकले बीपीले टिकापछि दिने गरेको आशीर्वाद सम्झिए ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro