site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा 
फाइल तस्बिर ।

म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि बिहीबार (आज)देखि पुनः सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित गरिएको थियो ।

जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले बिहीबार पाँच उडान भरेको जानकारी दिए । “मौसममा सुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यती एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।”

Argakhachi Cement Island Ad

पाँच उडानमार्फत ९० जना मुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए ।

बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा पहिरोका कारण पटक–पटक यातायात सेवा प्रभावित भइरहेको छ । यस्तो अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ ।

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकोप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्