site stats
बाह्रखरी :: Baahrakhari
देश
वीर अस्पताल पुगेर स्वास्थ्यमन्त्रीले भेटे दिक्तेलका मेयर

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अनशनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई भेटेका छन् । आज वीर अस्पतालमै पुगेर मन्त्री पौडेलले मेयर भट्टराईलाई भेटेका हुन् ।

मन्त्री पौडेलले इमर्जेन्सीमा उपचाररत भट्टराईलाई क्याबिनमा सार्न अस्पताल प्रशासनलाई निर्देशन दिएको मेयरको तर्फबाट वार्ता समितिका सदस्य एवं दिक्तेल रूपाकोट मझुवागढी–१२ का वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए ।

“मन्त्रीज्यू आएर भेट्नुभएको छ । मेयर साब'लाई क्याबिनमा सार्न निर्देशन दिनुभएको छ । उहाँले अलिअलि बोलिरहनुभएको छ । अब क्याबिनमा सार्ने तयारी छ,” उनले भने ।

राईका अनुसार, मन्त्रीले माग सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

भट्टराईको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि पनि पुगेका छन् ।

भट्टराईले गत बुधबारदेखि अनशन थालेका थिए । उनलाई  गए राति १० बजे प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो ।

आज बिहान मेयर भट्टराईले आफूलाई माइतीघरमै पुर्‍याइदिन भनेपछि उनी र चिकित्सकबीच केहीबेर विवादसमेत भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्