site stats
बाह्रखरी :: Baahrakhari
देश
किराना पसल सञ्चालन गरेर अवैध धन्दा, एक अर्ब ५० करोडको क्रिप्टो कारोबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका दुई भारतीय नागरिकले किराना पसल सञ्चालनका नाममा विभिन्न अपराध गर्ने गरेको खुलासा भएको छ ।

मंगलबार (असार २४) सीआईबीले ललितपुरको महानगरपालिका–२, सानेपास्थित कालोपुलबाट हुन्डी कारोबारको सूचनाका आधारमा भारतको बिहारका ४३ वर्षीय रुपेशकुमार गुप्ता र २२ वर्षीय विपीन कुमारलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट सीआईबीले आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारु र संरक्षित वन्यजन्तु कस्तुरीको बिना समेत बरामद गरेको छ ।

गुप्ताले सञ्चालन गर्दै आएको राजतीर्थ ट्रेडर्स नामक किराना पसलको आवरणमा उनीहरूले गैरकानुनी कार्य गर्ने गरेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार, उनीहरूले एक अर्ब ५० करोड रुपैयाँबराबरको क्रिप्टो कारोबार गरेको खुलासा भएको छ । उनीहरूले अवैध सट्टेबाजी समेत खेलाउने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

सीआईबीले उनीहरूले लामो समयदेखि अरू अवैध कारोबार गरेको आशंकामा थप अनुसन्धान अघि बढाएको छ । उनीहरू दुवैजनामाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुन्डीसम्बन्धी कारोबार गर्न नहुने र वन्यजन्तुसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको सीआईबीका एसपी युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्