
काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले देखाएको असन्तुष्टिप्रति चासो देखाएका छन् ।
महिला टिमका प्रशिक्षक डी वाइल्डले एक अन्तर्वार्तामा अखिल नेपाल फुटबल संघ (एन्फा)को भूमिकाप्रति असन्तुष्टि जनाउँदै यसमा सुधार नआए आफू नेपाल नफर्किने बताएका थिए ।
एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिमले त्यहाँ प्याट्रिकको प्रशिक्षणमा तीन खेल खेलेको थियो । छनोटको अन्तिम खेलमा घरेलु टिमसँग पराजित भएपछि एसियन कपमा स्थान बनाउन असफल बनेको नेपाली टिम सोमबार स्वदेश फर्कियो । तर, टिमका मुख्य प्रशिक्षक उज्वेकिस्तानबाटै आफ्नो देश बेल्जियम फर्किए ।
मन्त्री सिंहले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रशिक्षकले देखाएको असन्तुष्टिमा ध्यान दिनुपर्ने बताएका हुन् ।
“महिला टिमले पछिल्लो समय राम्रै गरिरहेको छ । तर, त्यहाँ प्रशिक्षकले जुन असन्तुष्टि व्यक्त गरेका छन्, त्यसमा हामीले ध्यान दिनुपर्छ । प्रशिक्षणका निम्ति अन्तर्राष्ट्रियस्तरबाट आएकाहरूमा असन्तुष्टि भयो भने हामीलाई त्यसले झट्का लाग्न सक्छ । त्यसबारे हामीले ख्याल गर्नुपर्छ,” मन्त्री सिंहले भने ।